निर्वाचन प्रचारप्रसारको काम आज रातिबाट सकिँदै, मौन अवधि सुरु

 १ मंसिर २०७०, शनिबार १४:३३   | न्यूज अफ टोखा

  काठमाडौँ, मंसिर १ – निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन डेढ महिनादेखि अहोरात्र चुनावी प्रचारमा जुटेका राजनीतिक दल तथा उम्मेदवारहरुको प्रचारप्रसारको सीमा आज रातिबाट सकिँदैछ।

यसपछि निर्वाचनको दिन मङ्सिर ४ गतेसम्म निर्वाचनको मौन अवधि जारी रहनेछ। मौन अवधिमा चुनावी प्रचारप्रसार गर्न आचारसंहिताले रोक लगाएको छ।

“आज राति १२ बजेबाट दल र उम्मेदवारले प्रचार गर्ने अवधि सकिएर निर्वाचनको मौन अवधि सुरु हुन्छ, प्रचारप्रसार आजबाट सकिँदैछ”— प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आज यहाँ आयोजित कार्यक्रममा भने, …मौन अवधि’ भन्नाले मतदान हुने दिनको अघिल्लो अठ्चालीस घन्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलको समय सम्झनुपर्छ।

चाडपर्वको चटारोबीच घरदैलो, कोणसभा, खेतबारीमा समेत मतदाता भेटेर मात्र हैन ठूला खालका सभा र मेची–महाकाली अभियानजस्ता चुनावी प्रचारमा खटेर थकित भएका राजनीतिक दल र उम्मेदवारले यो अवधिमा विश्राम लिनेछन्।

औपचारिक रुपमा यो अवधिलाई मौन अवधि भनिए पनि चुनावी चलखेलको अत्यन्तै संवेदनशील, रस्साकस्सी र रणनीति तय गर्ने अवसरको रुपमा यो समयलाई उम्मेदवारले उपयोग गर्ने गरेको पाइन्छ। 

निर्वाचनमा भाग लिएका अधिकांश राजनीतिक दलका शीर्ष नेताले मुलुकका विभिन्न भागमा आयोजना गरिएका अन्तिम ठूला आमसभालाई आज सम्बोधन गरिसक्नुभएको छ। यस्ता आमसभालाई सम्बोधन सँगसँगै निर्वाचन प्रचारको मैजारोसमेत भएको छ।

राजनीतिक दलका नेताहरु नै मौन अवधिलाई आफ्नो पक्षमा मतदातालाई ल्याउन अनेकौँ तिकडम अपनाउने र आचारसंहिता विपरीतका क्रियाकलापसमेत हुने गरेको बताउँछन्। …मनी र मसल’को प्रयोगको रुपमा समेत यो अवधि चर्चित हुने गर्दछ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सिद्वान्त, नैतिकता र राजनीतिक संस्कार विपरीत गएर कतिपय दलले यो अवधिमा  …मनी र मसल’समेत देखाएर मतदातालाई प्रलोभनमा पार्ने गरेको बताउछन्।
“यो दौडमा लोकतन्त्रवादी मात्र नभई आफूलाई पहिले क्रान्तिकारी र वामपन्थी भन्नेहरु पनि अहिले दामपन्थी हुँदै खामपन्थीतर्फ उन्मुख भएको पाएको छु”–अध्यक्ष केसीले भने।

“चुनाव प्रचारप्रसारका दौरानमा कतिपय राजनीतिक दलले यसपटक पनि आचारसंहिता विपरीत मोबाइल फोन, कपडा, पैसाका अतिरिक्त खसी/राँगा काटेर भोजभतेरसमेत गरेको घटनाहरु भएको सुनिएको छ”– उनले भने।

यही मङ्सिर ४ गते हुने संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ १३० दलका छ हजार १२८ र समानुपातिकतर्फ ३३५ स्थान रहेको समानुपातिक निर्वाचनका लागि अब १२२ दलका १० हजार ७०९ उम्मेदवार कायम भएका छन्।

मुलुकभर कायम भएका १० हजार १३ मतदानस्थलका १८ हजार ४३८ मतदान केन्द्रमा एक करोड २१ लाख ४७ हजार ८६५ मतदाता मतदानको प्रतीक्षामा छन्। कार्य क्षेत्रमा १८ हजार ४३८ मतदान अधिकृत ६८ प्रकारका निर्वाचन सामग्री लिएर मतदानको क्षण कुरिरहेका छन्।

केही सयमयता निर्वाचन बहिष्कार नाममा विरोध र केही हिंसाका घटना भएता पनि उम्मेदवारहरुको घरदैलो, सभा र प्रचार अभियान पनि झनै तीव्रगतिमा भइराखेको छ। निर्वाचनको सुरक्षा व्यवस्था बलियो भएकाले कसैले पनि बिथोल्ने सपना नदेख्न चुनौती दिँदै सरकारले बिथोल्न खोज्नेलाई नछाड्ने चेतावनीसमेत दिएको छ।

गत साउन ७ बाट लागू भएको निर्वाचन आचारसंहिता, २०७० मा मौन अवधिमा प्रचारप्रसार गर्न नहुने उल्लेख छ। त्यस्तैः आम सञ्चारमाध्यमले मौन अवधिमा कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचनको प्रचारप्रसार हुने गरी सूचना वा समाचार सम्प्रेषण, प्रकाशन र प्रसारण गर्नु हुँदैन।

असोज १७ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता गरेर दलहरु प्रचारमा उत्रिएपछि आजबाट प्रचारप्रसारको काम सकिएको हो। तर आयोगले प्रवाह गरेको सूचना तथा समाचार सम्प्रेषण, प्रकाशन वा प्रसारण गर्न यस दफाले बाधा पुर्‍याएको नमानिने आचारसंहितामा उल्लेख छ।

पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ यो अवधिमा राजनीतिक दल र उम्मेदवारले जुलुस धर्नालगायत मतदातालाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न नहुने बताउछन्।

मौन अवधिबाहेकका दिनहरुमा समेत जुलस, र्‍याली, आमसभा वा भेला जस्ता प्रचार–प्रसारका कार्यक्रम बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्नुपर्ने आचारसंहितामा उल्लेख भएको जनाउँदै निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले भने, “मौन अवधिमा निर्वाचन प्रचारका काम पूर्णरुपमा रोकिन्छन्।”

Facebook Comments

अन्तिम अपडेट: १ मंसिर २०७०, शनिबार १४:३३

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया