परनिर्भर राजनीतिले जकडिएको नेपाली समाज

 १० माघ २०७०, शुक्रबार ०७:०५   | न्यूज अफ टोखा

विजय पौडेल – सहज सञ्चार र विज्ञानका कारण मानिसको जीवनशैली यति धेरै सरलीकरण भएको छ, त्यसको आभासका लागि न्यूयोर्क शहरमा नै बसोबास गरिरहनुपर्दैन ।

नेपालकै कुनै विकट गाउँको कुनामा पनि त्यसको झल्को देख्न सकिन्छ । फरक यति हो, न्यूयोर्क शहरमा बसेर पूर्णरुपमा उपभोग गर्न सकिन्छ तर नेपालको विकट गाउँमा भने विकसित संसार र विज्ञानले दिएका अनुपम उपहारका केही अंश मात्र उपभोग गर्दै लाभान्वित हुने अवस्था छ ।
प्रसंग नेपालको दोस्रो संविधानसभा निर्वाचनको संघार र यसबीचका घटनाक्रम र संविधानसभा निर्वाचनप्रतिको अड्कलबाजीको पूर्ण जानकारीका लागि काठमाडौंको मुटु रत्नपार्कमै बसिरहनुपर्दैन । न्यूयोर्ककै ज्याक्सन हाइटमा बसे पनि सञ्चारका कारण दूरीलाई असामान्य ढंगले साँघुरो बनाइदिएको छ ।
तर पनि अधकल्चो राजनीतिको धङ्धङी बोकेर प्रवास बसाइँ सरेका केही स्वघोषित राजनीतिक पण्डितहरुका हरेक दिन ज्याक्सन हाइटवरपर सुनिने अपूरा विश्लेषण अनि आफ्नो स्वार्थअनुसारका राजनीतिक दलहरुका समर्थन बोकेका थोत्रा कुराहरुले टटाएका मेरा कान निर्वाचनको संघारमा काठमाडौं पुगेर आफैंले भोगेर अलि शान्त महसुस भएपछि यस्तै यथार्थ दृश्यहरु बाँड्ने जमर्को गर्दैछु ।

दृश्य १

संविधानसभा निर्वाचनको प्रसंग सुरु गर्नुभन्दा पहिले आफू पनि गैरआवासीय नेपाली भएका कारण काठमाडौंमै आयोजित विश्व सम्मेलन छुटाउने कुरै भएन । त्यसकारण नेपाल पुग्नेबित्तिकै आफ्नो एउटै मात्र प्रतिनिधिमूलक संस्थाको विश्व सम्मेलनमा मज्जैसँग पाँच दिनसम्म सहभागी हुने मौका जुर्‍यो ।
गैरआवासीय नेपालीहरुको विश्व सम्मेलनको प्रसंगमाथि प्रारम्भमा चर्चा गर्दैछु । विदेशमा बस्ने नेपालीहरुको संगठन नै भए पनि एनआरएनहरुलाई समेत नेपाली राजनीतिले पूर्णरुपमा गाँजेको देखियो ।
चुनाव प्रचारप्रसारका दौरान अध्यक्षका प्रत्यासी एक उम्मेदवार तेञ्जी शेर्पाले नेकपा एमालेका नेता भीम रावललाई सम्मेलनस्थल होटेल सोल्टीमा ल्याएपछि एक प्रकारको तरंग उत्पन्न भयो । ‘आखिर किन ल्याए तेञ्जीले भीम रावल ?’ एमाले नेता रावल गैरआवासीय नेपालीहरुको सम्मेलनमा कुनै पनि पवित्र मनसायले सहभागी भएको भए पनि संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले आफ्नो वक्तव्यमा भनिदिए, ‘कृपया तपाईंहरु एनआरएनलाई नेपाली राजनीतिको रंगले पोत्नुहुन्छ भने एनआरएनमा नलाग्नुस् ।
आजै एनआरएनबाट बाहिरिनुस् ।’ यति मात्र होइन सम्मेलनको अन्तिम दिन भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लवमा देशका प्रमुख राजनीतिक दलका नेताहरुलाई निम्तालु बनाउँदै देशको आर्थिक विकासमा एनआरएनको भूमिका र सरकारको दायित्व विषयमा अन्तरक्रिया आयोजना गरियो ।
अन्तरक्रियाको दौरान माओवादीविरोधी विचारहरु एकाएक प्रचण्डतिर यसरी खनिए कि न त्यहाँ आर्थिक विकासका प्रश्न आए न त एनआरएनकै विषयमा चासो व्यक्त गरियो ।
तत्कालै ती माओवादीविरुद्धका आवाजहरुलाई बिर्को लगाउँदै माओवादी पक्षधर एनआरएनहरुले सभाहलभित्रै धावा बोले, ‘प्रचण्डमाथि मात्र एकतर्फीरुपमा राजनीतिक प्रश्न गर्ने तिमीहरु को हौ ?’ मातृभूमिको मुहार फेर्ने उद्देश्य लिएर संसारभरिका काठमाडौंमा भेला भएका गैरआवासीय नेपालीहरुसमेत सर्लक्क दुई कित्तामा बाँडिएर एकअर्कामाथि जाई लागिरहँदा मञ्चमा आसिन शीर्ष नेताहरु भने चुपचाप तमासा हेरिरहेका थिए ।
स्थिति यति अराजक बनिदियो कि एक पक्षले अर्को पक्षमाथि भौतिक आक्रमण नै होला कि जस्तो भयो । तर डा. उपेन्द्र महतोले त्यहाँ पनि भनिदिए, ‘यदि राजनीति गर्ने हो भने कृपया एनआरएनएमा नआउनुस् । अहिले नै बाहिर जानुस् ।’ तर प्रतिउत्तरमा एमाओवादीका नेता प्रचण्डले भने, ‘एनआरएनहरु पनि नेपाली राजनीतिबाट विमुख हुन मिल्दैन । वास्तवमै राजनीति नेपाली समाजको पर्यायवाची बनिसकेको अवस्था छ । राजनीतिको प्रभाव नभएको कुनै क्षेत्र नै छैन भने एनआरएनएभित्र पनि कसरी नेपाली राजनीतिको प्रभाव नहोस् ।’
प्रजातन्त्र र लोकतन्त्रका नाममा नेपाली समाजभित्र राजनीति यतिसम्म अराजक बनेर फैलिएको छ कि त्यो सबैसामु छर्लंग भइसकेको विषय हो । सुन व्यापारीको सुन तौलने तराजु सरकारका प्रतिनिधिले जाँच्न थाले भने संगठनका नाममा विरोध गर्दै अनिश्चितकालीनरुपमा सुन पसल बन्द हुन्छन् । ट्याक्सी ड्राइभरले मिटर चलाउँदैनन् तर हाकाहाकी भन्छन्, ‘जाने भए यतिमा जाऊ नत्र नजाऊ !’ अलि दबाब दिएर कुरा गर्‍यो भने कि त समूह बनेर भौतिक आक्रमणमा उत्रन्छन् कि संगठनको नाममा आन्दोलन चर्काउँछन् ।
अयोग्य डाक्टरका जथाभावी उपचारले बिरामीको ज्यान जाँदा डाक्टरलाई कारबाही गर्ने उचित पद्धति नभएको हुँदा पीडित पक्षले पीडामा विरोध गर्दा डाक्टरको संगठन उल्टै आकस्मिक सेवा बन्द गरेर विरोधमा उत्रन्छ ।
पेट्रोल पम्पमा तेल हाल्न गएका एकजना मित्र भन्दै थिए, ‘१८ लिटर पेट्रोल जाने मेरो मोटरसाइकलको ट्याङ्कीमा पूरा तेल भर्न भनेको त २२ लिटर पो गयो । जब कि उनको ट्याङ्कीमा १ लिटर पेट्रोल पहिल्यै थियो रे ।’ एकजना ग्राहकसँग ५ लिटर पेट्रोल ठगी गर्दासमेत विरोध गर्‍यो भने उल्टै त्यहाँ पनि संगठनका नाममा मुलुकै ठप्प पारिन्छ । यी प्रतिनिधि उदाहरण मात्र हुन्, राजनीति नहुने कुनै क्षेत्र छैन ।
तरकारी बजारदेखि सेयर बजार अनि कण्डक्टरदेखि डाक्टरसम्मका संगठन छन् र राजनीति छ भने त्यही नेपालबाट विदेश गएर दुईचार पैसा कमाएका नेपालीहरुको संगठन एनआरएनएले कसरी राजनीतिबाट अछुतो रहन सक्छ । बरु आगामी वर्षदेखि फलानो दल पक्षधरका तिलानो एनआरएनएको अध्यक्षमा निर्वाचित भए भनेर सुन्न नपरोस् । यही कामना गरांै । यस पटकको विश्व सम्मेलनमा यस कुराको पुष्टि नै भएको छ । भलै संस्थापक अध्यक्ष उपेन्द्र महतोले चाहेर मात्र के गर्ने ?

दृश्य २

एनआरएनएको राजनीतिक चर्चापछि संविधानसभाको चुनाव आउन केही दिन बाँकी हुँदा काठमाडौंको वातावरण यस्तो भएको छ, लाग्छ नेपालमा कोही पनि बेरोजगार छैन । गत हप्ता शनिबार एक हुल केटाहरु काठमाडौं क्षेत्र ३ लाई लक्षित गर्दै मोटरसाइकलमा हुइँकिए ।
उनीहरु भन्दै थिए, ‘यो क्षेत्रका उम्मेदवारको मोटरसाइकल र्‍यालीका लागि जोरपाटीको दुई वटा पेट्रोल पम्पबाट निःशुल्क रुपमा ५/५ लिटर पेट्रोल र्‍यालीमा सहभागीलाई बाँडेको हुँदा त्यता जान लागेको बताउँदै थिए ।’ उनीहरु सम्बन्धित दलका हुन्–होइनन्, यकिन भएन तर मोटरसाइकल ¥यालीवाला पार्टीका झण्डा फहराउँदै पेट्रोल हाल्न हुइँकिए ।
सोही दिन काठमाडौंको काँठस्थित भ्यालीभ्यू रेष्टुरेन्टमा ४ जना केटाहरु भर्खरै एउटा राजनीतिक दलको घरदैलो कार्यक्रम समाप्तिपछि उक्त राजनीतिक दलले दिएको १० हजार रुपैयाँ लिएर खाजा खान आएको बताउँदै थिए ।
उक्त राजनीतिक दलले ५ जनाबराबर १० हजार रुपैयाँ दिएको रहेछ । ती ‘टिनएज’ मात्र काटेका केटाहरु उम्मेदवारमार्फत पाएको १० हजारले म्यारिज खेल्दै राम्रैसँग खाजा खाएर मनोरञ्जन गर्दै थिए ।
काठमाडौंमा जो नियमित रोजगारमा छ, ऊ त व्यस्त हुने नै भयो । जसको कुनै रोजगारी छैन ऊ पनि आजकल चुनाव प्रचारप्रसारमा अति व्यस्त देखिन्छ । निर्वाचन आयोगले आचारसंहिताका नाममा जति नै कडाई गरेको बताए पनि पोस्टर टाँस्नेले टाँसेकै छन्, पैसा बाँड्नेले बाँडेकै छन् । लाजिम्पाट नील सरस्वती मन्दिरछेउमा चिनजानका एक हुल मान्छे भेटिए ।
उनीहरु हतारहतार एउटा दलको झण्डा खल्तीमा कोच्दै थिए । मैले कौतुलहतास्वरुप प्रश्न गरें– किन झण्डा खल्तीमा ?’ उनीहरुको सहज उत्तर थियो, ‘नेताहरु निर्वाचनपछि साँढे बन्छन् अनि नियमितरुपमा सधैंभरि कमाइ गरिरहन्छन् ।
अहिले कमाउने यही बेला हो दाइ । भर्खरै फलानो पार्टीको घरदैलो सकियो । अब यही लट्ठीमा तिलानो दलको झण्डा कोचेर घरदैलोमा जाने हो ।’ कुरा बुझ्दै गएको त एक दिनमा पाँच वटा दलको कार्यक्रमसमेत भ्याउँदा रहेछन् उनीहरु । तर, अफसोच त्यो क्षेत्रको मतदातासमेत होइनन् उनीहरु । अहिले पार्टीप्रवेश, घरदैलो, मोटरसाइकल र्‍याली आदिका नाममा भीड आफूतिर आकर्षित गर्ने होडबाजी नै चलेको छ । सम्बन्धित क्षेत्रको मतदाता नै नभए पनि टीका लगाएर प्रवेश गराउने अनि पैसा र तेल दिएर र्‍यालीमा बोलाउने परिपाटी सामान्य भइसकेछ ।

दृश्य ३

नेपालमा राजनीति पेशाका रुपमा विकास हुँदै गएको अवस्था छ । अर्कोतर्फ विकृत पेशाबाट धनआर्जन गरेपछि सामाजिक इज्जत बढाउने भरपर्दो अस्त्रका रुपमा राजनीति अगाडि आउँदैछ ।
नेपाली राजनीति, आगामी निर्वाचन र उम्मेदवारलाई इंगित गर्दै दुई दिनअगाडि मात्र एक जना सर्वसाधारण एउटा चिया पसलमा गफिंदै थिए– नेपालमा सरकारले चालक पेशाका लागि प्रवेशिका परीक्षा (एसएलसी) अनिवार्यरुपमा उत्तीर्ण गर्नुपर्ने नियम ल्याउन लागेको हल्ला सुनेका रहेछन् उनले । अनि भन्दै थिए, ‘कस्तो होला हाम्रो देश, जहाँ ड्राइभर हुन एसएलसी पास हुनुपर्ने नियम आउन लागेको चर्चा छ । तर यही देशमा सभासद् र मन्त्री हुन औंठा छाप भए पुग्छ ।’
विचरा ती सर्वसाधारणको क्षेत्रमा अहिले आसन्न निर्वाचनमा विभिन्न राजनीतिक दलका १३ जना उम्मेदवार त ८ कक्षा पनि नपढेका रहेछन्, नभनुन् पनि कसरी उनले । ती सर्वसाधारणलाई के थाहा उनीमाथि वर्षौंदेखि राज गर्ने धेरै नेताहरु औपचारिक शिक्षाविहीन समेत छन् ।
हस्ताक्षर गर्न जान्ने मात्र त धेरै जना मन्त्री भएका छन् र अझै पनि हुने होडबाजीमा लागेका छन् । वास्तवमै नेपालमा राजनीति र राजनीतिकर्मी दुवै हाँसोका पात्र भएको अवस्था छ ।
धेरैभन्दा धेरै राजनीतिक दलहरु राजनीतिक दलको अस्तित्वको रुपमा आएका कारण समाजले नेताका रुपमा स्वीकारै गर्न नसक्ने व्यक्तिहरु त्यही समाजमा विभिन्न दलका सभासद्का उम्मेदवारका रुपमा आएका कारण पनि राजनीतिक दल र नेताहरुप्रति झनै आस्था र विश्वास घटेको अवस्था छ ।
केही महिनाअगाडिसम्म मात्र पनि त्यही समाजमा गुण्डागर्दी, तस्करी, ठगी, वेश्यावृत्ति गर्नेजस्ता आचरणका व्यक्ति विभिन्न राजनीतिक दलका उम्मेदवारको रुपमा माला र खादा ओढ्दै सभासद्मा भोट माग्न आउन थालेपछि दिनानुदिन नेता तथा दलदेखि समाज टाढिन खोजेको अवस्था छ ।
तर, जे भए पनि विनारिटायर्डमेन्टको राजनीतिको जागिर स्थायी गराउनका लागि उम्मेदवारहरु भने खेतमा हुन्छ कि घरमा हुन्छ कि, अस्पतालैमा हुन्छ मतदातालाई जोर हात जोड्न पुगेकै छन् ।
एउटा असामान्य परिस्थितिमा विश्वमा नै दुर्लभ हुने दोस्रो संविधानसभाको निर्वाचन जहाँ कम्युनिष्टहरुको ठूलो हिस्सा बाहिरै छ । त्यही निर्वाचन नेपालमा हुँदैछ । मुलुकले न सरकार चाहेको हो, न त जनप्रतिनिधि । मुलुकले सिर्फ दिगो कानून र शान्ति चाहेको अवस्था हो ।
तर, विडम्बना मुलुक अहिले जबर्जस्ती सरकार शून्यता पूर्तिको उद्देश्य बोकेर संविधानसभाको निर्वाचनमा गएको छ । कुनै पनि शर्तमा सरकार र पदमा पुग्नै पर्ने आशयअनुरुप निर्वाचनमा व्यापक आर्थिक चलखेल भएको आभास हुन्छ । निर्वाचनको मिति नजिकिंदै गर्दा पनि जनता भने पूर्णरुपमा विश्वस्त हुन सकेको अवस्था छैन । देशैभर शिशा बम, पेट्रोल बम, सुतली बम र प्रेसर कुकर बमको जालो बिछ्याइएको छ ।
आमजनतामा सन्त्रास फैलिएको छ । राजनीतिक दलहरुका गाडीमा आगजनी, उम्मेदवार बसेका घरमा बमका वर्षा अनि मुख्य दलका नेता हिँड्ने बाटो ढलेका रुख र मोबिलको खोलो बगेका छन् भने निर्वाचनका दिन मतदाता कसरी मतदान केन्द्र पुग्लान् । निर्वाचन प्रचारमा नेताले त हेलिकोप्टर प्रयोग गर्लान् तर मतदातालाई हेलिकोप्टरमा मतदान केन्द्रमा पुर्‍याउने हो कि वा उचित सुरक्षा उपलब्ध गराउने ? जस्ता गम्भीर प्रश्नहरु चुनौतीका रुपमा अगाडि आएका छन् ।
सरकारले सुरक्षाको पूर्ण प्रत्याभूतिको कुरा गरे पनि मतपत्र जलेकै छन् । ठाउँठाउँमा बम भेटिएकै छन् । दलका शीर्ष नेतासम्म पनि स्थलमार्ग हुँदै ढुक्कसँग चुनावी कार्यक्रममा हिँड्न सकेका छैनन् । अवस्था जेजस्तो भए पनि नेपालको राजनीति पूर्णरुपमा भारतपरस्त भएको कुरामा भने अहिले सामान्य वर्गसम्मै जानकार छ ।
निर्वाचनमाथिको आशंकाकै चर्चा गर्दा पनि कपन गाविसभित्रकै एक जना किसान पंक्तिकारको जिज्ञासामा भन्दै थिए, ‘भारतबाट एक जना नेता आउँदैछन् रे, आजभोलिमा उनले केही न केही गर्छन् होला । नत्र के निर्वाचन होला र खै !’ ती किसानको कुरा सुनेपछि एउटा स्वतन्त्र मुलुकको पत्रकारको आत्मसम्मानमा चोट त पुग्यो तर सिंगो राष्ट्रका जनता यति सजिलै भनिदिन थालेका छन् कि नेपाल यहाँका नेताबाट सञ्चालित छैन, भारतका नेताहरुले जे चाहन्छन् त्यही हुन्छन् रे ।
आलेख तयार गर्दागर्दै वरिष्ठ राजनीतिज्ञ निलाम्बर आचार्यको फेसबुक स्टाटस पढ्न पाइयो ‘जहाँ अनिर्णयको आन्तरिक स्थिति, त्यहाँ बाह्य चलखेलको उपस्थिति’ । भारतपरस्त नेपाली राजनीतिप्रति नेपाली जनताको बुझाइ र राजनीतिज्ञ निलाम्बर आचार्यको यो भनाइ साँच्चिकै मेल खान पुगेको छ ।
( पौडेल अमेरिकामा कार्यरत पत्रकार हुनुहुन्छ )
Facebook Comments

अन्तिम अपडेट: १० माघ २०७०, शुक्रबार ०७:०५

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया