सालिकलाई सकस (पठनीय लेख)

 १० माघ २०७०, शुक्रबार ०७:०२   | न्यूज अफ टोखा

मिलन बगाले

२०४६ सालको जनआन्दोलनमा दरबारमार्गमा ठडिएको राजा महेन्द्रको सालिकको राजदण्ड उखेलेर त्यै राजदण्डले सालिकको शीरमा हिर्काएको तस्वीर धेरैले देखेको हुनुपर्छ । त्यो तस्वीर २०४६ सालको जनआन्दोलन सम्झाउने बिम्ब बन्यो । कतिले त्यो फोटोलाई इज्जतपूर्वक आफ्नो घरमा सजाएर राखेको मैले देखेको छु । 

२०४६ साल चैत्र २४ गते सो सालिक फोर्ने क्रममा गोली लागेर घाइते भएका रुकुम खलंगाका तारा खड्काले दाहिने खुट्टा गुमाएनन् मात्रै, प्रहरीले दिएको यातनाले जिब्रोसमेत गुमाए । कृत्रिम जिब्रो र खुट्टासहित बाचेका उनी यतिबेला मागेर गुजारा गरिरहेछन् । इतिहासमा लेखिएअनुसार सो शालिक फोर्ने क्रममा ८ ब्यक्तिले ज्यान गुमाएका थिए । भाग्यले बाँचेका तारालाई शालिक फोरेपछिको जिन्दगी अभिशापजस्तै भएको छ । रोल्पाको रेडियो जलजलाका अनुसार उनी सिराहामा साथीको घरमा शरण लिएर बसेका छन् । जिउँदो शहिदको उपमाले जिन्दगी नचल्दो रहेछ ।  

 
 
तानाशाही ब्यवस्था लाद्ने महेन्द्रको सालिक फुट्दा त्यतिबेलाको नेपाली समाज बेस्सरी रोमाञ्चित भयो । तर, त्यो घट्नाको सुसुप्त प्रेरणाले स्यानोतिनो आन्दोलन हुनासाथ सडकमा उभिएका जोसुकैको सालिक फोरिदिने उन्मादको रचना गरेझै लाग्छ । पछिल्ला विभिन्न आन्दोलनमा भानुभक्त आचार्यदेखि लक्ष्मीप्रसाद देबकोटा, बीपी कोईराला, पृथ्वीनारायण शाह, राजा बीरेन्द्र र शहिद सेतु बिकसम्मको सालिक फोरिएको छ । र, मूर्तिकलाको ईतिहास राजनीतिक अहंकारको शिकार भएको छ ।
 
गणतन्त्र आएलगत्तै सिंहदरबार अगाडीको पृथ्वीनारायण शाहको सालिक एउटा उन्मादी हुलले फोर्न खोजेको थियो । पोखराको पृथ्वीचोकमा रहेको उनको भव्य सालिक फोरेर त्यही लखन थापाको सालिक राखिएको छ । पृथ्वीनारायणको सालिक नफोरी आडैमा लखनलाई पृथ्वीनारायणभन्दा अझ अग्लो बनाएर उभ्याएको भए भैहाल्थ्यो। मधेश आन्दोलनको तापले जनआन्दोलन—२ की शहिद सेतु बिकको नेपालगञ्जमा रहेको सालिक  फोरिदियो । यस्ता उदाहरण अनगिन्ती छन् । राजनीतिक अहंकारको प्रतिफलस्वरुप कलाकारका उन्नत कृति माटोमा मिलेको देख्दा सालिक बनाउन असाध्यै सिपालु मूर्तिकार रबीन्द्र ज्यापुहरुको मन पक्कै बेस्सरी रोएको हुनुपर्छ ।  म सडकको बिचबिचमा सालिक उभ्याएर फोर्न सजिलो बनाइदिनेहरुलाई फोर्नेभन्दा बढी दोषी देखिरहेछु ।
 
बाटोबाटोमा शालिक
 
भूपतिन्द्र मल्ल लगायतका शासकका सालिक उनीहरुकै दरबार परिसर वरिपरि राखिएको अहिलेपनि देख्न पाईन्छ । काठमाडौंका राजा प्रताप मल्ल, उनका छोरा र रानी हात्तीमाथी चढेको सालिक रानीपोखरी परिसरभित्र सुरक्षित छ । राणा शासकका भव्य सालिकहरु टुडिखेल वरिपरि लस्करै छदैछन् । इतिहासकार डा. बाबुराम आचार्यले ‘नेपालको सांस्कृतिक परम्परा’ नामक पुस्तकमा लेखेअनुसार जंगबहादुर बाहेक अरु सबै राणा शासकले आफ्ना सालिक युरोपबाटै बनाएर ल्याएका हुन् । मूर्ति बाटाबाटामा राख्ने हैन, बगैचाभित्र सजाएर राख्नुपर्छ भन्ने चेत त्यतिखेरै आएको ती सालिक परेड खेल्न प्रयोग हुने टुडिखेलभित्र राखिएबाट बुझिन्छ । 
 
१९९० सालको भुँइचालोमा नयाँसडक जिर्णोद्धार गरी फराक पारेका जुद्धशम्शेरको सालिक बाटोको बिचमै देखेपछि लोकतन्त्र र गणतन्त्रका मालिकहरुलाई बाटाबाटामा सालिक उभ्याउने योजना फुरेको हुनुपर्छ । र, त बन्यो इन्जिनियर शंकरनाथ रिमालको डिजाइनमा बिच बाटोमा शहिदगेट ।  शहिदगेटको बास्तुकला कमजोर छैन, हेर्नलायक छ ।  तर, शहिदगेटबाहेक अन्ततिरका सालिक एउटा खाबोमाथी बेस्सरी धुलाम्य भएर बिचबाटोमा उभिएका छन् । सत्पात्रलाई उनीहरुको जन्मजयन्तीको दिन  सम्झने र सजिलोसंग फूलमाला चढाउन मिल्नेगरी सालिक एकाध ठाउँमा मात्रै बनाईएको छ । ट्राफिक प्रहरीलाई उभिन सजिलो बनाउन र सडक डिभाइडरको काम गर्नमात्र बनाइएकाझै लाग्ने ती सालिकले राजनीतिक दुब्र्यबहारचाहि बारम्बार बेहोरेकै छन् । 
 
जर्बजस्ती उभ्याईदै 
 
सालिक पुरातात्विक महत्वको चीज हो । हिजोका सालिक आज अमूल्य सम्पदा भएका छन् । अनि आज ठड्याईएका सालिक भोलीको सम्पदा बनोस् भन्ने रहर गर्नुपर्दैन ? आफ्नो र आफ्ना आफन्तको कीर्ति राख्ने नाममा सार्वजनिक सडक हडप्दा जनताको मनको सम्मान पाईदैन भन्नेकुरा त्यसो गर्नेले बुझ्नुपर्ने हो । अहिलेका अख्तियार प्रमुख लोकमानसिङ कार्कीका पिता भूपालमानसिङ कार्कीको सालिक दुहबी बजारमा बिचबाटोमै उभ्याईएको थियो । परिणाम सालिक फुट्नुप¥यो । सडकको स्वामित्व लिने अड्डा सडक विभाग र नगरपालिकाले सालिकमार्फत चोक हडप्ने काम रोक्न पहल गरेको छैन । ऐतिहासिक सालिक फुटिरह्दा र त्यसलाई कसैको लहडले बिस्थापित गरिरहदा पनि पुरातत्व विभाग अनन्त मौन छ । पछिल्ला केही बर्षभित्रै थुप्रै ऐतिहासिक सालिक थुप्रै चोरिए— फोरिएपनि उसले कहिल्यै मुख खोलेको छैन । 
 
 
बगैचामा शालिक
 
हामी देबीदेबताका मूर्ति बाटाबाटामा धूलो खुबाएर राख्दैनौ । भव्य मन्दिर, बगैचा, अन्य पूर्वाधार र खुल्ला ठाउँसहितको परिसरमा निकै सम्मानपूर्बक राख्छौ । अनि आफ्ना सत्पात्रको मूर्ति ? कोही निरंकुश शासकले अहंकारपूर्वक आफ्नो मूर्ति बिचबाटोमा राख्यो भनेपनि त्यसलाई फोर्नु कलाको अपमान हो । ब्यवस्था फेरिएपछिका बिबादास्पद मूर्तिलाई संग्रहालयमा सुरक्षित किसिमले राख्न सकिन्छ । तर, जनस्तरबाट स्थापित कवि, लेखक, कलाकार, खेलाडी र राजनेताका सालिक बाटाबाटामा किन उमार्ने ? उनीहरुप्रति सम्मान छ भने उनीहरुको सालिक बगैचाभित्र बनाऔं । कोटेश्वर चोकमा राखिएको पूर्व प्रधानमन्त्री टंकप्रसाद आचार्यको सालिक कोटेश्वर—सूर्यबिनायक बाटो बिस्तारको क्रममा उखेल्नुपरेको थियो । उखेलिएको सालिक निकै दिनसम्म सडक विभाग परिसरमा लम्पसार थियो ।  अलि समयपछि त्यो सालिकलाई कोटेश्वर चोकभन्दा पूर्बपट्टि लगेर उभ्याइयो । यस्सो छेलिएर सडकछेउमा पिसाब फेर्नेलाई टंकप्रसादको सालिकले निकै राहत दिएको छ । बाटोछेउको शालिकले सम्मान कम, हैरानी बढी खेप्छ । यो टिठलाग्दो उदाहरण हो । 
 
समाजले सम्झन लायक पात्रलाई सम्मान गर्ने रहरले उनीहरको सालिक बनाईएको हो भने दोबाटोमा प्रर्दशन गर्नु जरुरी छैन ।  खुल्ला ठाउँमा बगैचा, पुस्तकालय र  सम्झनाकक्ष सहितको सालिक बनाए बल्ल नयाँ पुस्ताले उनीहरुको कथाबाट केही प्रेरणा पाउँछ । उनीहरुको बारेमा जान्ने मौका पाउँछ । सुन्दरीजलको बीपी संग्रहालयले बीपी र उनका सहकर्मीको सालिक संग्रहालय परिसरभित्र सजाएको छ । गणेशमान सिङको शालिक रत्नपार्कमा शान्ति बाटिका बनाएर राखिएको छ । कलाचेत भत्केर होला, शुरुको शालिकमा बृद्ध टाउँको र बालखाको जत्रो खुट्टा हालेर सर्वोच्च नेताको चरम अपमान गरिएको थियो । जनस्तरबाट बिरोध बढेपछि सम्भवतः नेपालकै सबैभन्दा कुरुप त्यो शालिक हटाएर राम्रो सालिक राखिएको छ ।  त्रिमूर्ति निकेतनले लक्ष्मीप्रसाद देबकोटा, लेखनाथ पौडेल र बालकृष्ण समले लेखेका सबै किताब एकैथलोमा भेटिने गरी पुस्तकालयसहितको सालिक सञ्चारग्राम नजिक २०६१ साल भदौमा स्थापना गरेको छ । कीर्तिपुरको चम्पादेवीमा पुष्पलाल स्मृति प्रतिष्ठान स्थापना गरि उनको पूर्णकदको सालिक राखिएको छ । यो हो सत्पात्र सम्झने र सम्मान गर्ने राम्रो तरिका ।
 
शासकीय दम्भ देखाउने रहरले कुनै तानाशाहले आफ्नो मूर्तिलाई दायाँ पारेर घुम्न दुनियालाई बाध्य पारे भन्दैमा दोबाटो—चौबाटो हड्पेर कवि, कलाकार, गायक, राजनेता र अन्य कीर्तिमानीको अपमान किन गरिरहने ? नारायण गोपालजस्ता आधुनिक संगीतका ‘लिजेण्ड’लाई नारायण गोपाल चोकमा गाडीको चौबिसघण्टे कर्कशसहित रातोदिन धूलो खुवाउदा उनको सम्मान भएको छ ? कतै शान्त र सुन्दर बगैचामा उनले बनाएको मिठो धुन बजिरहने गरी सुन्दर सालिक उभ्याइदिए पथ्थर पनि रसाउथ्यो होला । जहाँ पायो त्यही सालिक उभ्याएर फोर्ने उन्मादीलाई सजिलो बनाईदिनुभन्दा ब्यवस्थित स्थल बनाएर त्यहाँभित्र सत्पात्रको सालिक उभ्याउनेको जय होस् ।
Facebook Comments

अन्तिम अपडेट: १० माघ २०७०, शुक्रबार ०७:०२

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया