किन मनाईन्छ योमरी पुन्ही ?

 ६ पुष २०७५, शुक्रबार १५:२२   | सुबिन्द्र श्रेष्ठ

योमरी पुन्ही हेमन्त ऋतुको पहिलो पूर्णिमा अर्थात धान्य पूर्णिमाको दिनमा नेवार जातिले मनाउने पर्व हो । यो पर्व विशेषत ज्यापु समुदायले मनाउने गर्दछन । यो दिन विशेष प्रकारको परिकार (योमरी)बनाएर खाने गर्दछन् ।

नेवार समुदायमा नयाँ बालीका रुपमा धान भित्र्याएपछि विभिन्न देवी देवतालाई योमरी बनाएर पूजा गरी यो पर्व मनाउने गरिन्छ । नयाँ धान कुटी पिसेको पिठोबाट रोटी बनाई चाकु, खुवा, मास ,अदुवा, तिल लगायतका विभिन्न मसला राखी त्रिकोण आकारको वा लाम्चो आकारको बनाई बाफले पकाएर योमरी तयार गरिन्छ ।

योमरीले जाडोमा शरीरमा आवश्यक ताप र उर्जा दिने र चिसोबाट लाग्ने रोग निको हुने भएकाले स्वास्थ्यका लागि निकै फाईदाजनक मानिन्छ ।यसरी पूजा गरे कृषि उत्पादनमा वृद्वि हुने र अन्नको अभाव नहुने विश्वास छ ।

तिहारमा देउसी/भैलो खेल जस्तै टोलभर गाउँदै योमरी माग्ने चलन नेवारी समुदायमा छ । सोही परम्पराअनुसार नेवारी गीत गाउँदै बच्चादेखि बूढापाकासम्म सहभागी भई यमोरी पुर्णिमाकाे दिनभर योमरी मागिन्छ । इष्टमित्र, साथिभाई, पाहुनालाई बाँडीचुडी खाने र खुवाउने परम्परा रहेको यो पर्वलाई माया, प्रेम, दया र करुणा आदान प्रदानको रुपमा पनि लिने गरिएको छ । योमरी माग्ने प्रचलन यो दिनको एक महत्वपूर्ण सांस्कृतिक पक्ष हो । तर हिजोआज यो महत्वपूर्ण सांस्कृतिक पक्ष लोपोन्मुख अवस्थामा छ ।

नेपाल भाषामा ‘यो’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी/मिठाइ हो । सबैलाई मनपर्ने भएकाले नै यसको नाम योमरी राखिएको संस्कृतिविदहरुको भनाई छ ।

यसरी बनाइएको योमरीलाई धानका भकारीलगायतमा चढाउने गरीनछ । यसरी चढाएको योमरी चारदिनपछिमात्र प्रसादका रुपमा बाँडेर खाने चलन रहेको छ ।

नेवार समुदायममा आफैंले उत्पादन गरेको अन्न ढुकुटी पुजा गरेर मात्र खाने चलनअनुसार यो पुन्ही मनाइन्छ । नेवारी समुदायको पहिलो मिठाई वा रोटी योमरी हो । आजका दिन दान गर्नाले धर्म हुने विश्वासका साथ नेपारी गीत गाउँदै नाच्दै योमरी माग्न आउने युवायुवतीलाई योमरी दिएर खुसी पार्ने परम्परा रहेको छ ।

कसरी पकाउने योमरी ?

योमरी बनाउन चामललाई पिठोमा परिणत गरिन्छ । चामललाई नेवार भाषा/नेपाल भाषामा पो/प्व भनिन्छ । चामलको पिठो पोचुं। चुं भन्नु चूर्ण अनुकण । चामल लस्सादार हुनुपर्छ । पहिले तौली चामल (लस्सादार चामल) चाहिन्थ्यो भने अचेल त्यसको ठाउँ ताइचिन चामलले लिएको छ। अत्यन्त मिहिन पिठो शुद्ध घिउमा थोरै हरक दिइन्छ । ११० डिग्री तापक्रममा उमालिएको पानीले मुछिन्छ पोचुं । मस्केर मुछिनुपर्छ, मुछिन्छ उस्तै। हावालै प्रत्यक्ष सुस्क पार्नबाट बचाउन सफा मलमल कपडाले छोपिनुपर्छ ।

मुछिएको आलो पिठोलाई आकार दिनुपर्छ। पिठोलाई आकार दिँदा योमरीको रूप बन्छ। योमरी बनाउने काम सिपालु काम हो । सीपविना योमरी बन्दैन। जुन आकारको योमरी तयार गर्नुछ, उत्रै डल्लो पिठो हात पार्नुपर्छ। पिठोको डल्लोलाई चोर औंलाले छेड्नुपर्छ। औंला शुद्ध खानेतेलले रसाइ पिठो छेड्नुपर्छ। औँला घुमाउँदै जाँदा पिठोको डल्लो पातलिँदै जान्छ। पातलो डल्लो झन्डै शंखाकारमा परिणत हुन्छ। बीचमा झन्दै वाइन ग्लासको जस्तै खोक्रो ठाउँ बन्न पुग्छ। त्यसै रित्तो ठाउँमा तिलका पिठो र लेदो चाकुको मिश्रण हालिन्छ। त्यस्तो आकारको योमरीलाई “बायो” भनिन्छ। ‘बायो’ आकार विम्बात्मक छ। ‘बायो’ तान्त्रिकमात्र नभएर शारीरिक अङ्गबोधक पनि ठहर्छ। प्रशङ्गवश बायो बाबुको गुप्ताङ्गको विम्बबोधक बन्छ।

 योमरीको अर्को आकार त्रिकोणात्मक हुन्छ। त्यसलाई “मायो” भनिन्छ। बनाउने तरिका र प्रविधि एकै हो। त्रिकोण पनि विम्बबोधक बन्छ। मायोभित्र तिलचाकु मिश्रण हालिन्न। त्यसमा पिँधेको मासका बाक्लो लेदो डल्लो भरिन्छ। मासको सट्टा मुगी पनि प्रयुक्त हुन्छ/गरिन्छ। मुगीफल सबैका लागि उपयुक्त हुनसके हुन्छ। कुनै पनि शारीरिक अवस्थालाई सुपाच्य रहन्छ। अन्न/भात खान नहुने अवस्थामा पनि हामी सिङ्गो मुगी बेस्कन पकाएर मुगीसुप/रस पिउँछौँ। मायोको तीनकुने आकार तन्त्रमा पुगेर योनि विम्बबन्छ।

योमरी पुन्हीसँग सम्बन्धित एउटा ऐतिहासिक कथा

कुनैबेला मंसिर शुक्ल पूर्णिमाको दिन पांचल देशका सुचन्द्र महाजन दम्पत्ति कतिको भक्तालु रहेछन् भनि बुझ्न कुवेर दरिद्र रुप धारण गरी उक्त महाजनको घरमा केहि माग्न गएछन् ।  घरमा दरिद्रि व्यक्ति ढोकामा आएपछि सुचन्द्रकी पत्नीले उनको स्वागत सत्कार गरी मीठामीठा खानेकुरा दिनुका साथै श्रद्धा गरिछन् । सुचन्द्रकी पत्नीको सत्कारबाट प्रशन्न भई कुवेरले आफ्नो सक्कली रुप देखाइ विशेष ज्ञान र एउटा बिमिरो ति महिलालार्इ दिइ त्यहाँबाट अन्तर्ध्यान भए । कुवेरको वचन अनुसार उनले तिलको धुलो र चाकुको झोल मिश्रित पदार्थ राखी चामलको पिठोको (योमरी) रोटी बनाएर त्यही रोटीको कुवेर बनाई अन्न राख्ने भकारीभित्र राखिन् । अनि कुवेरले दिएको बिमिरोलाई पनि त्यहि विधिपूर्वक स्थापना गरी चार दिनसम्म छोपेर राखी पूजा गरिन्छ । अनि उनले अन्न, धन र योमरी दान पनि अन्य कमजोर आर्थिक अवस्था भएका गरिब गुरूवा तथा आफ्ना छिमेकीलाई बाँढिछन् । त्यसको प्रभावले सुचन्द्रको घरमा अन्नको अभाव हट्न थाल्यो, धन सम्पत्तिको बृद्धि हुन थाल्यो र आम्दानी पनि बढ्न थालेछ । त्यसैले त्यही बेलादेखि यो दिनमा योमरी बनाएर पर्व मनाउने चलन चलेको मानिन्छ ।

Facebook Comments

अन्तिम अपडेट: ६ पुष २०७५, शुक्रबार १५:२२

तपाईको प्रतिक्रिया