सपनतिर्थ मेला र बिस्का जात्राः एक चर्चा

 २९ चैत्र २०७५, शुक्रबार १९:४३   | सुबिन्द्र श्रेष्ठ

बिक्रम संवत्को नयाँ वर्ष आगमनसंगै पौरानिक, धार्मिक, साँस्कृतिक, ऐतिहासिक एवं प्राचीन नगरी टोखामा बिस्का नखः(बिस्का जात्रा) सुरु हुन्छ । टोखाको धार्मिक तीर्थस्थल सपनतिर्थ मेलासंगै ४ दिनसम्म हर्षोल्हासका साथ बिस्का जात्रा टोखाबासीले मनाइदै आइरहेको छ । टोखाको विशेष पर्व उत्सवका रुपमा यो जात्रालाई लिने गरिन्छ । मौलिक बाजागाजाको मौलिक धुनमा भातृत्व र सदभाव र शीष्टताका साथ उल्हास तथा साँगीतिकमय वातावरणमा धुम्धामसँग यो पर्व माइने गर्दछ । टोखाबासीहरूको एकताको प्रतीकको रुपमा समेत यस जात्रालाई लिने गरिन्छ । टोखाको यस बिस्काः जात्रालाई काठमाडांैको बिस्का जात्राका रुपमा लिइन्छ । तथापी प्रचार प्रसारको अभावका कारण ओझेलमा परेको टोखाको बिस्का जात्रा बारेमा जनमानसमा त्यती भिज्न सकिरहेको छैन । आफ्नै छुट्टै मौलिकता बोकेको यस टोखाको बिस्का जात्रा तथा टोखालाई नै सबै समुदायमाझ चिनाउँने प्रयासका कार्यहरू केहि वर्ष यता विस्तारै भएको देखिन्छ । त्यसो त विगतका केही वर्षहरूदेखि बिस्का जात्रामा प्रत्यक्ष सहभागि भई अवलोकन गर्न आउँनेहरूको संख्यामा वृद्धि भैरहेको देखिन्छ । जे होस काठमाडौँको आँखे दुरीमा अवस्थित नेवाः समुदायको बाहुल्यता रहेको प्राचीन तथा ऐतिहासिक नगरी टोखाको मौलिक पर्व बिस्का जात्रा को प्रचार प्रसार त्यती हुन नसके तापनि आजको यो बसाईमा तपाईहरू समक्ष टोखाको विस्का नखः को बारेमा यहाँ चर्चा गर्नेछौँ ।


सपनतिर्थ मेलाको शुरुवाट र किम्वदन्ती


Photo Subindra Shrestha

किम्वदन्ती अनुसार–सत्य युगमा एक राज परिवारमा राजा सत्यवन्तका सात वटी छोरीहरु थियो । ६ जना छोरीहरुलाई सम्भ्रान्त राजपरिवार राजकुमारहरु सँग विवाह गरी दिए र एक जना कान्छी छोरी सत्यकेशरीलाई गरीब असहाय अपाङ्ग कुष्ट रोगीसँग विवाह गरी दिएछ । ६ जनाको हकमा दाइजो पनि अनगिन्ती र सत्य केशरीको हकमा केही पनि नदिएको र दया माया साथ सहयोग केही नपाएको स्वच्छ हृदय र दृढ विश्वास आमाबुबा प्रति अपार निष्ठा भएको कारणले बुबाआमाको वचनलाई स्वीकर्य गरी आफ्नो कर्ममा लेखि आए अनुसार सिरोधरी गरी रोगी पतिको घरमा गई घरजम गर्न लागे । शारिरीक तंदुरुस्तको लागि खानेकुरा(अन्न) त चाहिन्छ नै अन्न पानी विना बाच्न सक्ने अवस्था हुँदैन त्यसैको खोजी नितीको लागि आफ्ना घर छाडी भिख माग्दै जाने क्रममा एक दिन श्री सपनतिर्थ मन्दिर परिसर सिद्धिपोखरी नजिकैको पाटीमा पुगेछ । आफ्ना अपाङ्गता भएको पतिलाई त्यसै पाटीमा छोडी आफु शहरमा गई भिख माग्न जान्छीन् ।


Photo Subindra Shrestha

त्यही समयमा नजिकैको सिद्धिपोखरीमा गाईवस्तु चराउन आएका गोठालाहरुले किरा फ्ट्याग्राहरु खोेजेर ल्याई खुट्टा पखेटा छुट्याँउदै त्यस पोखरीमा फल्ने र एक छिनमै ती किरा– फट्याग्रा जस्ताको तस्तै संवल भै भुरुरुर उडेर जाने एवं तरिकाले ती प्रकृया चलिरह¥यो । निकै सयमसम्म हेरिरहे र केही समय पछि आफ्नो शरीर पनि अपाङ्ग र कुष्टरोग लागिरहेकाले म पनि त्यस पोखरीमा गई डुब्न पाएँ मेरो पनि शरीर स्वस्थ र सवलाङ्ग पो हुने हो कि भनेर निकै सोच विचार गरें । धेरै सोच विचारपछि त्यही रमाइ रहेका गोठालाहरुलाई बोलाई आदरताकासाथ मलाई पनि त्यस पोखरीमा लगि डुबाइदिनोस् म पनि किराहरु जस्तै स्वस्थ र सपाङ्ग पो हुने हो कि भनी अन्नुनय र विनय गरे तर कसैले पनि त्यस कार्य गर्न मानेन र आँट पनि गरेन । फलस्वरुप आफैले आफु बसेको पाटीबाट गुल्टिदै गुल्टिदै त्यस पोखरी नजीक पुगी आफुले लगाएको वस्त्र फुकाली त्यस सिद्धिपोखरीमा हाम फाल्यो । केहि वेर पछि आफ्ना अपाङ्ग भएको शरीर सवलाङ्गको रुपमा परिणत भयो र अच्चमित र आश्चर्य मानी खुसीले पहिलेकै ठाउँमा वस्त्रलगाइ त्यही पाटीमा वसे । त्यो दृश्य देखेर त्यहाँ खेलिरहेका गोठालाहरुले हल्ली खल्ली मच्चायो सबै तिरबाट मानिसहरु जम्मा भएर हेर्न आउनेको ताँती लाग्यो । त्यसै समयमा माग्न गएका सत्य केशरी पनि आइपुगे मान्छेको घुइचो बीचमा यताउता आफ्ना पतिलाई खोज्छीन् भेटाउन सक्दैन र देख्न सक्दैन त्यही ठाउँमा सवलाङ्ग निरोगी मान्छे बसेका छन् । केही छिन पछि म त्यही अपाङ्ग कुष्टरोग लागेका मान्छे हु म तिम्रै पति हु भनेर भने पनि पत्याउदैन, पत्याउनु पनि कसरी राजकुमारी साथ केशरीले मलाई छलछाम गर्न लागेको मेरो ईज्जत र अस्तित्व लुट्न लाग्यो मेरो पति तिमी कुनै हालतमा हैन भने पछि ती सत्यकेशरीको पतिले आफुले मागेको कुरा र देख्ने मानिसहरुको मुखबाट सबै सव–विस्तार सुनाए पछि वल्ल विश्वास गरे । सत्यकेशरी र अपाङ्ग कुष्ट रोगी दुवै जना खुसी भए । रमाए र एक आपसमा भेला भएका मानिसहरुसँग पनि खुसी साटासाट गरे त्यस सिद्धिपोखरीका वारेमा व्यापक छलफल गरे । समय छिपिदै जाँदा भेला भएका अपार जनसमुदाय सबै आ–आफ्ना घर तिर जाँदै त्यस पोखरीको प्रचार प्रसार गर्दै गयो र त्यस सपनतिर्थ मन्दिरको सिद्धपोखरीको महत्व बढ्दै गयो । आफ्ना शरीरमा देखा परेका कुनै पनि रोग व्यथाहरु त्यस पोखरीमा स्नान गर्नाले निको हुने जन– विश्वासका साथ यस सपनतिर्थमा मेला लाग्ने गर्छ । त्यो जन विश्वासले अहिले सम्म त्यतिकै महत्वका साथ मेला लाग्ने गर्छ ।


बिस्काः जात्रा
बैशाख १ गतेदेखि विधिवत रुपमा टोखाको बिस्काः जात्राको शुरुवाट हुन्छ । बैशाख १ गतेदेखि ४ गतेसम्म मौलिक परम्परा अनुरुप टोखामा साँगीतिकमय वातावरणमा हर्षोल्हासका साथ मनाईने गर्दै आइरहेको छ । बैशाख १ गते ऐतिहासिक धार्मिक तिर्थस्थल सपनतिर्थमा रहेको सपनविनायक मन्दिर तथा सिद्ध पोखरीमा ठुलो मेला लाग्ने गर्दछ । बैशाख १ गतेको लाग्ने मेलाको कुरा गर्नु पुर्व त्यसका लागि तयारी चरणका बारेमा चर्चा गर्नु सान्दर्भिक देखिन्छ ।


Photo: Subindra Shrestha


बैशाख १ गतेका लागि सपनतीर्थमा रहेको सिद्ध पोखरीमा पानी थुन्ने काम गरिन्छ । पोखरीको दायाँ बायाँबाट बग्ने बमुखि यो कार्य मेला हुने चारदिन अगाडी गरिन्छ । पुरै माटोको ड्याङ्ग बनाएर खोलाको पानीलाई थुनि पोखरीमा पानी जम्मा गरिन्छ । यसरी पानी थुन्ने कार्यलाई स्थानीय भाषामा बहः पनेगु भनिन्छ । पोखरी थुन्ने कार्यमा सहभागी सबैलाई द्यः खलकले छुसेमुसे, वाम्चा, लइसु खाजको रुपमा ख्वाइन्छ । यसरी पोखरी बनाइसके पछि उक्त पोखरीमा कसैले पनि छुनुहुन्न यहाँसम्म कि चराचुरुङ्गीहरुलाई समेत त्यस पोखरीको पानी छुन्न दिदैन । रातदिन मन्दिर खलकहरु पैरादिएर बस्ने गर्दछ ।


चैत महिनाको अन्तिम दिन बेलुका सपनविनायक गणेश तथा चण्डेश्वरी भगवतीको खटलाई विशेष बाजागाजा र मुस्याप्वाँ(दियो)का साथ संयुक्त नगर परिक्रमा गराई सपनाविनायक गणेशलाई सपनातिर्थमा र चण्डेश्वरी भवतीलाई चण्डेश्वरी परिसरमा लगेर विसाइन्छ र रातभर जागराम बसी देव देवीको आराधाना गरिन्छ । त्यस्तै राती मसानकाली देवीघरबाट नवदुर्गाका मुर्तिहरु सहितको जाली खटमा राखेर टोखाको महत्वपुर्ण चोकमा घुमाउँदै विसाउँदै नगर परिक्रमा पश्चात मन्दिरको पूर्वपट्टी ज्यापूको मसानघाटमा खट विसाएर मुर्तिहरु मन्दिर भित्र सजाउने कार्य गरिन्छ । गणेश, कोथु गणेश, महादेव, सरस्वतीको मुर्तिहरु पनि आ–आफ्नो मन्दिर परिसरमा लगेर रातभर सजाउने कार्य गरिन्छ ।

यस्तै साँझ तपलाछी स्थित लिङ्गेश्वर महादेवको प्रतीकका रुपमा रहेको यंसी (लिंगो) मा हलपटाय् (विश्व ध्वज) फहराउने गरिन्छ । यसरी हलपटाय् यँसीमा फहराई सकेपछि जात्रा शुरु भएको संकेटका रुपमा लिइन्छ । बैशाख १ गते नयाँ वर्षको आगमनसंगै सपनतिर्थ मेला सुरु हुन्छ । सपनतिर्थमा रहेको सिद्धपोखरीमा मेला भर्न देशका विभिन्न ठाउँबाट भक्तजनहरुको उपस्थिति हुन्छ । यस दिन अर्थात बैशाख १ गतेका दिन सपनतिर्थमा रहेको सिद्धिपोखरीमा स्नान गर्नाले रोगहरु निको हुने जनविश्वास रहंदै आई रहेको छ ।


Photo: Subindra Shrestha

यसै दिन दिउँसो भुतखेल स्थित मसानकाली मन्दिर परिसरमा हृदयविदारक महायज्ञ गरिन्छ । आचाजु मार्फत देवीलाई जमिनमा उम्रिएका १ सय ८ प्रकारका अन्न, एक जोडी जिउँडो भंगेरा, एक जोडी सर्प र एउटा निख्खर कालो बोको जीवित्तै दनदनी बलिरहेको आगोमा होम गर्ने र पुजा गर्ने गरिन्छ यो बेलुका ४ बजे तिर प्रारम्भ गरिन्छ ।


सपनतिर्थ परिसरबाट सपनविनायक गणेशको खटलाई साँझ नगरमा फर्काउने काम गरिन्छ । नासल पाचामा अवस्थित पाटीमा एक घन्टा जति विसाएर फल्चा गुठीद्वारा सम्याय् बजि दिने चलन छ र पुजा आजा गरे पछि सम्याय् बजि दिइन्छ, त्यस लगतै खटलाई नगर परिक्रमाका लागि चण्डेश्वरी भगवतीको खटलाई प्रतिक्षाका साथ दुबै खटको तालमेल मिलाइन्छ । चण्डेश्वरी परिसरमा चण्डेश्वरी देवीलाई मरजा (विशेष प्रकारको भात) खुवाएपछि खटलाई विशेष नाय् बाजागाजा साथ नगर परिरक्रमा गराइन्छ । त्यस संगसंगै सपनाविनायक गणेशको पनि उपस्थिती रहन्छ र नगर परिक्रमा पश्चात् साँझ ७ः०० बजे तिर चण्डेश्वरी देवीको खटलाई थलाग टोल र सपनविनायकलाई यलाग टोलमा विसाइन्छ र रातभर भजनकृतन गरिन्छ ।


बैशाख २ गते विहानी जात्रा ७ः०० बजे मुल खलकका ५ जना मध्ये तीन घर धुरीबाट जाड संकलन गरी भैल द्यः भन्ने तामाको ठुलो घ्याम्पोमा हालि टोखा परिक्रमा पछि मासानकाली मन्दिर परिसरमा मरजा खुवाइन्छ । बिस्केट जात्राको पहिलो प्रमुख सुरुवाट विशेष देवी मध्येको एक नवदुर्गा मसानकालीको खट अगाडी बढाउन मन्दिर परिसरमा भक्तजनहरुको भेला हुुने गर्छ । सिन्दुर जात्राका लागि हातमा लावा, सुकुन्दा पुजाका सामग्रीका साथ सिन्दुर जात्रामा सहभागी हुन्छ । बाजागाजाका साथ विहान ८ः०० बजे तिर खटलाई नगर परिक्रमा गराइन्छ । खटले कुनै घरमा धक्का दिएमा वा छोएमा मात्र पनि अनिष्ट हुने जनविश्वासका कारण विशेष सावधानि पुर्वक खटलाई अगाडी बढाइन्छ ।


भैल द्यः….. Photo: Subindra Shrestha

सपनविनायक तथा चण्डेश्वरी भगवतीको खटलाई पनि विशेष बाजागाजा तथा सिन्दुर जात्राका साथ नगर परिक्रमा गराइन्छ । विहानै पहिला चण्डेश्वरी तथा सपनतिर्थको खट अगाडी बढाइ सकेपछि मात्र मसानकालि नवदुर्गाको खट अगाडी बढाइन्छ । यी तीन वटा खटको विशेष जात्राले विहानको जात्रालाई निकै रोमाञ्चक बनाई दिन्छ । मासनकालीको खट नगर परिक्रमा पछि भुतखेलको पाटीमा बिसाइन्छ । कोथु गणेशको पुजा गरी मसानकाली नवदुर्गा देवीको पुजा गर्न पुजारी त्यहाँ सामेल हुने गर्छन र पाटीका गुठियारहरुको तर्फबाट विशेष पुजा गरी थुम्बा (भ्याँचा) बलि दिई सम्याय् बजि दिइन्छ र संगसंगै कोथु गणेश र मसानकालीको खटले पुनः टोखा परिक्रमा गर्छ, हासल टोलमा अर्को विशेष पुजा गरिन्छ । यो संगै मसानकाली र कोथु गणेशको खट थलाग टोलमा विसाइन्छ । गणेशको खट पनि मरजा खुवाएर नगर परिक्रमा पश्चात् थलाग टोलमा विसाइन्छ र यसरी नै महादेव र सरस्वतीको खटलाई पनि नगर परिक्रमा बिनानै थलाग टोलमा बिसाइन्छ र दिउसो १ः०० बजे तिर सम्ममा सबै खटलाई थलाग टोलमा बिसाइन्छ ।


Sindur Jartra…. Photo: Subindra Shrestha

दिउँसो सिन्दुर जात्रामा सबै खलः पुचः गुठी तथा संघ संस्थाको आ–आफ्नो विशेषतागत बाजागाजाका साथ दिउँसो ३ः०० बजे तिर पुजाआजा सहित जात्राका लागि सयौँ संख्यामा सिन्दुर जात्रामा सामेल हुन्छन् । ३ः०० बजे सरकारी पुजा संगै खटलाई नगर परिक्रमा गराइन्छ । सरकारी पुजामा टोखाको जिवित देवी गणेश कुमारीले सबै खटहरुलाई परिक्रमा गरिसके पछि खट उठाइन्छ । खट उठाए लगत्तै सिन्दुरले भव्य रुपमा जात्रा गरिन्छ । खटहरुलाई नगर परिक्रमा गराई साँझ ६ बजे तिरसम्ममा सात वटै खटहरु थनेलाछीमा विसाइन्छ । खट बिसाउने ठाउँमा पहिला नै रातो माटोले लिटपोट गरिएका हुन्छन् । २, ३ र ४ गते टोखामा भए भरका मौलिक बाजागाजाहरु सुन्दुर जात्रामा सहभागिभएर जात्रालाई धुम्धामसँग मनाइन्छ ।

साझको जात्रा तथा याँ प्याखँ
साँझ ९ बजे तिर दाफा खलक तथा भजन खलकहरु सातै वटा खट अगाडी सात भजनमण्डलीहरु आफ्नो भजन आरधनाका लागि उपस्थित हुन्छन् । मन्दिरको खट अगाडि मत्च्या जात्राका लागि मत्च्या गुठीका सबै गुठी पुचः तथा दियो बाल्न ईच्छुक ब्यक्ति, परिवार, समुहहरु धमाधम उपस्थित हुने गर्दछन ।


यस दिन साँझ इन्द्रायणी दाफा खलः याँ प्याखँ (मौलिक लोक नृत्य) प्रदर्शनका लागि यलाग टोल स्थित नाथेश्वरी मन्दिरमा पुजाआजा गरी थने लाछी दबलीमा राति ९ बजे तिर बैधिक याँ प्याखँ प्रदर्शन गर्दछन् । यस याँ प्याखँ बिशुद्ध टोखाको मौलिक गीति नाचको रुपमा लिइन्छ । जहाँ याँ प्याखँ, माक प्याखँ, मयुर प्याखँ, नाग प्याखँ लगाएत विविध बैधिक नृत्यहरु देखाउने गर्दछन् । यो नृत्यमा गीति नाटकमा आधारित भएकाले बाजाको ताल र गीत लयमा नृत्य प्रस्तुत गर्नु पर्छ । हेर्नेहरुका लागि यो याँ प्याखँ शिक्षा, सन्देशमुलकका साथै रोमाञ्चक तथा आनन्दमय भए तापनि यो नृत्य गर्न त्यतिनै कठिन र मुस्किल पनि ।


Yaa: Pyakhan….. Photo: Subindra Shretha


बैशाख ३ गते


यस दिनको जात्रा बिस्काः नखः को बिशेष जात्राका रुपमा लिइन्छ । यस दिन नारायण पोखरीमा खट स्नान गर्ने मेला हुनेभएकाले विहान ७ बजे तिर थनेलाछीमा खट उठाएर चाँडैनै खटलाई हाँसल टोलमा बिसाइन्छ । यता यंसि(लिंगो) खलकहरु जम्मा भएर लिंगोमा हालिएको हलपटा(विश्वध्वोज विशेष आभुषण) निकाल्ने काम गर्दछन् र नायख्यी बाजाका साथ चण्डेश्वरीको विशेष जात्रा सकिएको उद्घोष गर्दछन् । अपरान्ह १२ बजे सम्ममा सबै खटहरु बिसाई सकेका हुन्छन र दिउँसो ३ बजे पुनः सिन्दुर जात्रासंगै रथ नारायण पोखरीमा लगेर स्नान मेलामा ५ वटै खटलाई जात्रा गरी मसानकाली मन्दिर परिसर परिक्रमा गरेर पुनः पोखरी मार्ग भएर नगर परिक्रमा गर्न लाग्दा मसानकाली तथा कोथु गणेशको मिल्यमत्तोमा जात्रालाई केही समय लम्ब्याउन बाटो छेक्ने कार्य गरिन्छ । जसमा गणेशले पनि साथ दिइन्छ भने चण्डेश्वरी र सपानाविनायक एक समुह बन्ने गर्दछ भने मसानकाली, कोथु गणेश र गणेश दोस्रो समुह बन्छ । केही समय पछि कोने लाछीमा पनि यस्तै बाटो छेक्ने काम हुन्छ । यसरी पोखरीमा स्नान गराउनेलाई गहना खोजेको प्रतीकका रुपमा समेत लिइन्छ ।


यो साँझ खटहरु कोनेलाछीमा बिसाउने भएकाले चण्डेश्वरी र सपनविनायकलाई अतिथ्य स्वीकार्न मसानकाली र कोथु गणेशले आग्रह गर्छ, तर भक्तजनले पाँचै जनाको दर्शन गर्न लालायित भएकाले भक्तजनहरुलाई दर्शन दिन जाऔँ भन्दै सपनविनायकले अगुवाइ गर्छन र सबै खटहरु आपासि मैत्रिका साथ अगाडी नगर परिक्रमामा अघि बद्छन् । यो कार्यले आपसी मित्रता तथा माया सद्भावलाई बढवा दिएको छ । नबुझनेहरुले गलत अर्थ निकालेकाले थने र कोने अर्थात सरस्वती र चण्डेश्वरी बीचको खाडल खन्ने गर्दछन् तर जे होस जात्रालाई सहज र रमाईलो पार्न यो कार्यले निकै प्रसंशनिय भुमिका खेलेको छ जसबाट हामीले धेरै कुरा सिक्न सक्छौँ । रात्रीकालिन समयमा अघिल्लो २ गतेको राति जस्तै मत्या जात्रामा याँ प्याखँको आयोजना हुने गर्दछ ।


बैशाख ४ गते अन्तिम दिन – विहानै खटहरु उठाई नगर परिक्रमा पश्चात् गःछेँ टोलमा विसाइन्छ, मसानकाली भने आफ्ना खल पुचःका घरघरमा गई बाली उठाउँने कार्य गर्दछन् । दिउँसो २ बजे सम्ममा मसानकाली माईको खट बिसाइ सक्छन् । अन्तिम जात्राको तयारीमा प्रत्येक टोलका टोलबासीले आफ्ना वरपरका क्षेत्रमा सफा गरी रातो माटोले लितपोतगरी स्वागत योग्य कार्य गर्दछन् । ४ः३० बजे तिर अन्तिम जात्राको तयारी सरकारी पुजाबाट गरिन्छ र खट अगाडी बढाइन्छ । खटलाई व्यवस्थित तथा अनुशासित ढंगबाट अगाडी बढाउन बंसः(विशेष प्रकारको सेतो कपडा) ल्यागु अर्थात कपडा बिछ्याई खट अगाडी बढाउने कार्य गरिन्छ । कोनेलाछीमा गएर जात्राको बिधिवत अन्त्य भए पनि पाँचवटै खटहरु पुनः थनेलाछीमा आएर यंसीलाई आफ्नो नियम अनुसारले परिक्रमा गरे पछि प्रत्यकका आ–आफ्ना प्रतिनिधि बाजाले लिन आउने गर्दछन । निगालो र सुकुन्दाले बत्ती देखाएर देवताको खटलाई देवता घरमा देवी देवतालाई बिधिवत पुजा आजाका साथ यथास्थानमा एक वर्षका लागि सुरक्षित राख्छन् । यसै समयमा “उखे वंसा सिमाया हृवांगले थुखे वंसा सिमाया हृवांगले…” हृदयविदारक मौलिक गीत गाउने चल्न पनि छ ।


बैशाख ५ गते लिसपुजा ः यस दिन विहान थनेलाछिमा अवस्थित यँसी गालेमा रहेको यँसी ढालिन्छ । जात्रा समापन भएको संकेट गर्दै पाहाँ चह्रेमा थहराएको उक्त यँसिलाई यस दिन ढालिन्छ । त्यस्तै बिधिवत रुपमा जात्राको सम्पन्न भएको जानकारी दिन गुभाय द्यः (बज्रयोगिनी)मा गएर पुजाआजा गरी भोजभट्टेरको आयोजनागरी टोखा नगर परिक्रमा गर्दछन् । यो दिन सिन्दुर जात्रामा सामेल सबै खलः, पुच, गुठी तथा संघसंस्थाहरु बज्रयोगिनीमा गएर पुजागरी भोज खाई नगर परिक्रमा गर्नै पर्ने प्रवधान रहेको छ । यसरी आफ्नै मौलिम परम्पारा र छुट्टै महत्व बोकेको टोखाको विस्का नखः सञ्चार माध्यममा स्थान नपाउँदा गुमनाम भैरहेको तीतो यर्थाथता छँदैछ । जे हो आफ्नो पुर्खाले सुम्पेर गएको जात्रालाई हालसम्म पनि निरन्तर रुपमा टोखाबासीहरुले हर्षोल्हासका साथ मनाइदै यसलाई जीवनत दिँदै आईरहेको छ । – प्रस्तोताः सुविन्द्र श्रेष्ठ

Facebook Comments

अन्तिम अपडेट: २९ चैत्र २०७५, शुक्रबार १९:४३

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया