टोखाका सबै सडकमा छ महिनाभित्रै बत्ती

 १८ कार्तिक २०७६, सोमबार ०६:०६   | सुबिन्द्र श्रेष्ठ

न्युज अफ टोखा । काठमाडौंको टोखा नगरपालिकाले मेयर उज्यालो कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाभित्र भएका सबै मूल सडकको दुवैतर्फ आगामी छ महिनाभित्र सडकबत्ती जडान गरी मेयर उज्यालो कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

यस कार्यक्रमले सिङ्गो नगरपालिकालाई उज्यालो र झिलिमिली बनाउने भएकाले सबैको चासो बढेको नगपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनको समयमा आफूहरूले जनतासँग गरिएका बाचा पूरा गर्नका लागि ‘मेयर उज्यालो कार्यक्रम’ सुरु गर्न लागेका हौँ । ” 

यस कार्यक्रमअन्तर्गत नगरपालिका क्षेत्रका प्रमुख चोक र सडकमा सडकबत्ती जडान गरी राति पनि सहज रूपमा आवतजावत गर्न सकिने बनाइने छ । आगामी माघदेखि मेयर उज्यालो कार्यक्रम सञ्चालन भइ सक्ने गरी अहिले काम भइरहेको उहाँले बताउनुभयो ।

सडकबत्ती राख्न अहिले विस्तृत परियोजना प्रस्ताव (डीडीआर) तयार हुँदै छ । उहाँले भन्नुभयो, “मेयर उज्यालो कार्यक्रमप्रति सर्वसाधारणदेखि उच्च तहका व्यक्तिको समेत चासो बढेकाले अहिले सबै वडामा स्थानीयसँग परामर्श गर्ने काम भइरहेको छ । ”

त्यस्तै नगरपालिकाले जनताको सुरक्षाका लागि सडक मुख्य चोकमा सीसीटीभी जडान गर्ने योजना नगरपालिकाले बनाएको छ । सीसीटिभी जडान गर्ने योजना पनि आगामी माघदेखि नै सुरु गर्ने गरी नगरपालिकाले योजना बनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले युवा उद्यमशीला, विधिको शासन र पारदर्शी प्रशासन सञ्चालन गर्ने अभियान अहिले नगरपालिकाले गरिरहेको बताउनुभयो । उहाँका अनुसार जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धलाई सुदृढ गरी कर्मचारीको क्षमता अभिवृद्धि गर्ने नगरपालिकाले नीति बनाएको छ । नगरपालिका क्षेत्रमा भएका प्रमुख पर्यटकीय क्षेत्र चण्डेश्वरीदेखि बौडेश्वरसम्म पदमार्ग निर्माण गर्ने, टोखा तलेजु मन्दिर परिसरमा चाकु स्तम्भसहितको पार्क निर्माण गर्ने योजना नगरपालिकाले छ ।

टोखामा पर्यटकीय प्रवद्र्धन गर्नका लागि नेपाल भ्रमण वर्षलाई लक्षित गरी टोखा महोत्सव सञ्चालन गर्ने र यस वर्षभित्रै एकीकृत सहरी विकास योजना सच्चालन गर्ने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार 

गोरखापत्र, कार्तिक १४ गतेको अंकबाट साभार

Facebook Comments

अन्तिम अपडेट: १८ कार्तिक २०७६, सोमबार ०६:०६

तपाईको प्रतिक्रिया