आज यःमरी पुन्ही र उधौली पर्व मनाउँदै

 २६ मंसिर २०७६, बिहीबार ०३:३४   | सुबिन्द्र श्रेष्ठ

आज काठमाण्डाै उपत्यका लगायत देशैभरी छरिएर रहेका विविध प्राचिन संस्कृति र परम्पराका धनी नेवार समुदायले यः मरि पुन्हि मनाउँदैछन् । कृषि कार्यसंग आजको धान्य पूर्णिमाले विशेष महत्व बोकेको छ । यः मरि पुन्हि अर्थात् पूर्णिमाबाट औपचारीक रुपमा धान काट्ने कार्य सम्पन्न गरिन्छ । त्यसैले आजको दिनलाई धान्य पुर्णिमा समेत भनिएको हो। नयाँ धानको चामलको पिठोलाई माछाको जस्तो स्वरुप बनाएर त्यस भित्र चाकू, तिल, दूधको खुवा आदि राखेर पानीको बाफबाट यः मरि तयार पारिन्छ । यः मरि अत्यन्तै स्वादिष्ट हुन्छ, मैदाको पिठो भित्र तरकारी र मासुका किमा हालेर मःमः बनाए झै यः मरिलाई पनि पानीको बाफमा पकाइन्छ । तेल या अन्य चिल्लोपना नभएको यो परीकार स्वास्थ्यका हिसाबले हीतकारी छ । यः मरि कै जस्तो तर भित्र केही पनि नहालीकन चामलको पिठोलाई पानीको बाफमा राखेर पूर्वी नेपालमा हिउँदका बखत भक्का खाने चलन छ । नयाँ धानको चामलको यस्ता भक्काहरुलाई पिरो अचारमा तात्तातो चोपेर खाने गरिन्छ । यस वर्षको भक्का खाने औपचारीक दिन पनि आजबाटै प्रारम्भ हुने जनउक्ति छ ।

यः मरिको त्रिकोणात्मक आकारले षटकोणको अर्धभागको रुपमा सरस्वती अथवा ज्ञानको प्रतिबिम्बको रुपमा लिइन्छ । पानीको देवताकारुपमा काठमाण्डौवासीले मछिन्द्रनाथलाई मानेजस्तै अन्न अथवा उब्जनीकी माता अन्नपूर्णालाई नयाँ उब्जनी अनि त्यसबाट बनेको खानेकुरा यः मरि चढाउने परम्परा शदिओंदेखि चलि आएको हो ।

नेपाली पारम्परीक चाडबाड तथा संस्कृतिका विशेष क्षणहरूमा विविध साङ्गीतिक अभ्यासहरूले पनि अाफ्नो बेग्लै स्थान बनाएको छ । शायदै त्यस्ता कुनै चाडबाड होलान जसमा विशेष खाले गीत सङ्गीतले ठाउँ नपाएको होस् । यःमरि पुन्हिका दिन पनि यससंग सम्बन्धित विशेष नेपाल भाषामा गाइने एउटा विशेष गीत छः

य:मरि च्वामु, उकिइ दुने हामु,
बिउम्ह ल्यासे, मबिउम्ह बुरिकुति
त्य: छिं त्य:, बकछिं त्य:
लातापाता कुलिचां जुसें त्य:….

यसदिन केटाकेटीहरु रमाईलो गर्दै छरछिमेकको दैलोमा गएर यःमरी माग्ने चलन पनि छ, काठमाण्डौको हरिसिद्धी र ठेंचोमा आज एउटा विशेष मुखौटो लगाएर नाच देखाईने चलन पनि परापूर्वकालदेखि हुँदैआएको पाइन्छ । यःमरि कसरी बन्यो भन्ने कुराहरूमा भने अहिलेको पनौती रहेको ठाउँमा एउटा परिवारले नयाँ धानको चामलबाट बनाएको नयाँखाले परिकारका रुपमा यःमरि देखा परेको र सम्पूर्ण गाउँलेहरुलाई उक्त परिकार चाख्न दिएकोमा सबैलाई मनपरेर योमरि नाम दिएको जनउक्ति छ, नेपाल भाषामा यःमरि भन्नाले मिठो रोटी भन्ने बुझाउँदछ ।

यःमरिको प्रसङ्ग देवगणसंग पनि जोडिएर आउँछ, नेवार समूदायमा प्रचलित कथाहरूका अनुसारः यःमरि देखा परेकै दिन धनका राजा कुबेर भेष बदलेर बाटोमा हिंडि रहेका हुन्छन् यसरी भेष बदलेर हिंडिरहेका बटुवा कुवेरबारे थाहै नभएपनि उनलाई सत्कारपूर्वक सप्रेम योमरि खान दिएको कथा छ । कुबेर यो सत्कारबाट प्रसन्न भई धनधान्यले अपार वरदान दिएको मानिन्छ ।

साथै आजैको दिन ज्यापु दिवस पनि मनाइने गरिन्छ । ज्यापू सस्कृतीको रक्षार्थ बिसं २०६१ सालवाट यस दिवस मनाउन थालिएको हो ।

किराँतहरुको उधौली पर्व

किराँतहरुको महान चाड साकेलाको दुईवटा पर्विय पक्षहरु छन्, उगौली र उधौंली । उँगो भन्नाले ठेट नेपाली शब्दमा माथी भन्ने बुझाउँदछ र उँधो भन्नाले तल भन्ने बुझाउँदछ । ठेट नेपाली गीत अनि शव्दावलीहरुमा उँगो र उँधो शव्दको पर्याप्त प्रयोग भएको पाइन्छ । तल माथि या प्रगती अनि दुर्गती लगायत शुरु या अन्त्य जनाँउन उँगो र उँधो शव्दको प्रयोग भएको पाइन्छ । हरेक वर्षको मसिंर पूर्णिमाका दिन उधौंली पर्व पर्दछ, किराँती मान्यता अनुसार आजको दिनदेखि हिउँद शुरु भयो, हिँउदको शुरु भएलगत्तै लेकवाट बस्तुभाउ अनि चराचुरुंगी लेकबाट बेसीतिर बसाई सर्ने समय भएको संकेतका रुपमा लिइन्छ । साथै अन्नबाली भित्र्याइएको खुशीयालीमा यो पर्व मनाइन्छ । किराँतहरुको धार्मिक पुस्तक ‘मन्धुम’मा एउटा समग्र वर्षलाई चराहरुको बसाइसराइलाई आधार मानेर दुई भागमा विभाजन गरिएको छ, उगौली र उधौंली ।

पर्वत श्रृंखलाहरुको लेकतिर बसोवास गर्ने किराँतहरु जाडोको याममा बेशी अथवा तलतीर झर्ने र क्रमशः न्यानो बढेसंगै लेकतिर लाग्ने क्रम पनि यो चाडको सूचक हो । परम्परागत भेषभुषा लगाएर आज किराँत दाजुभाई तथा दिदि-बहिनीहरु सार्वजनिक स्थलमा भेला भएर पारम्परीक ‘साकेला’ नृत्य प्रस्तुत गर्ने चलन छ ।

“सोई साई ला एएएए~~~~~”
‘हुर्रे हा हा , सोई ढोले सोई एएए अर्को ढोले खै?’ भन्दै यस दिन पारम्परीक सामूहिक नृत्य तथा गीत प्रस्तुत गरिन्छ । साथमा परम्परागत बाजागाजाहरु एवं विशेषतः किराँत संस्कृतिको अमूल्य साङ्गीतिक बाजाहरू ढोल, झ्याम्टा आदि बजाईन्छ । बहुतै संयमित अनि सुस्तरी नाचिने यी नृत्यहरु देख्दा जस्तै नाच्न नजान्ने र विरसिलो मान्छे भएपनि कम्मरको तालमा साङ्गीतिक मर्काई अवश्य आ उँछ आउँछ । महिलाहरुले यस नृत्यमा लगाउने एउटा विशेष किसिमको तासको कपडाबाट बनेको परम्परागत पहिरनलाई छिट्को गुन्यू भनिन्छ । त्यसमाथी विशेष किसिमबाट बनाइएको तोङबा या जाँडको मन्द मातले जीवनको रस अनि माधूर्यतालाई एउटा नयाँ उत्साह प्रदान गर्ने गर्दछ ।

किराँत समुदायमा अन्नबाली लगाउने बेला बैशाख पूर्णिमामा उभौली मनाउने चलन छ । उधौली पर्वलाई लिम्बुहरुले चासोक तङनाम, किराँत राईहरुले साकेला, साकेन्वा, किराँत याख्खाहरुले चासुवा र किराँत सुनुवारहरुले फोलस्याँदर भन्दछन् । यस पर्व एकदिनका लागि तोकिएपनि यसलाई १५ दिनसम्म मनाउने चलन छ । आजको दिन काठमाडौको टुडिखेल, ईलाम, पाँचथर, तेह्रथुम लगायत देशका बिभिन्न किराँतहरुको बाहुल्यता भएको ठाँउमा सार्वजनिक भेला अनि नाँचगान हुनेगर्दछ । परम्परागत पहिरनमा सजिएका किराँती सुमदयका साथीहरुले एकअर्काको हातेमालो गर्दै बडो चित्ताकर्षक ढगंमा प्रस्तुत गर्ने नृत्य हेर्नका लागि मात्रै भएपनि धेरै जना भेला हुनेगर्दछन् ।

किराँतहरु भूमीका सन्तानहरु हुन्, यस समूदायमा भूमीको विशेष महत्व अनि आमा पृथ्वीको अद्भूत प्रेम पाइन्छ । आजको दिन पवित्र भुमी पूजाका रुपमा पनि लिईन्छ । भुमी अर्थात माटोको श्रद्धाकासाथ पूजा अर्चना गर्दै यस वर्षको अन्नकालागि भगवानलाई धन्यवाद दिंदै आउँदो वर्षको राम्रो उब्जनीको प्रार्थना समेत गर्दछन् ।

यो पनि पढ्नुहोस् यःमरि पूर्णिमाको सांस्कृतिक महत्व

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार


Facebook Comments

अन्तिम अपडेट: २६ मंसिर २०७६, बिहीबार ०३:३४

तपाईको प्रतिक्रिया