चखुंचिया छेँ (चराको घर)

 २० पुष २०७६, आईतवार १७:४०   | सुबिन्द्र श्रेष्ठ

चखुंचिया छेँ (चराको घर)

रामगोपाल आशुतोष

अहिले म निकै संवेदनशील अवस्थामा छु ।

ठूलो आपत आइलागेको छ हामीमाथि

मेरी जहान दुइजिउकी छ हजुर

उसको पेटमा हुर्किएको हाम्रो प्रेमको चिन्हो

पूर्णमासको चन्द्रजस्तै हुर्किसकेको छ ।

हामीमाथि दैव लागेको छ

र, हामी बस्ने शहरको घर

भर्खरै भत्किएको छ ।

खै कुन देशमा बनेको हो कुन्नि

त्यो के भन्छ – डोजर हो कि के जातिको हो

ब्रेक फेल भएर

सदियौँ पुरानो हाम्रो घरमा ठोकिन आएको छ !

खै कुन्नि के जाति प्राधिकरणका टोली

अहिले

निरीक्षण भ्रमणमा छन् !

ब्रेकफेल भएको डोजर ठोकिँदा

भत्किएको घरका परिवार

हामीजस्तै बिचल्लीमा छन्

हतास

उदास

आक्रोशित

आन्दोलित छन् ।

हामी बस्ने शहरका हामीजस्तै पीडितहरूलाई

पानीको फोहराले पर्साइरहेको छ

प्राधिकरणका संरक्षक र सुरक्षाकर्मी

अश्रुग्यास र लाठीचार्जको पञ्चायती सुरक्षाव्यवस्थाले

प्रत्याभूत गरिरहेको

आफ्नो घोषणापत्रमा उल्लेखित

शान्तिसुरक्षा, समतामूलक साझा घरको रङ्गीन सपना

मेरी जहानलाई व्यथा लागेको छ हजुर ।

म अहिले उडेर घरी मन्दिरमा जान्छु

जहाँ मलाई धपाउँछन् – नयाँ पुरोहित र मठाधीशहरू ।

पुरानो बस्ती खोज्दै जान्छु

कतै भेटिएला कि पुरानो बस्ती र पाइएला बास

र, सुरक्षित जन्मिएला हाम्रो प्रेमको चिन्हो ।

प्रशवपीडाले छटपट मेरी प्रियालाई

छोडेर हामी बासबस्ने घरसित ठोकिन आएको डोजर छेवैमा

म उडेर प्राचीन नगरी भक्तपुर पुगेको छु अहिले

र, देख्छु भूकम्पले भत्काएको बस्ती र ठडिएका महल

भर्खरै मूल्यवृद्धि भएको खेत बेचेर बनेको घरका भित्तामा

ठूलो लोगो – खै कुन्नि कुन हो सिमेन्टको लोगो र नारा

हामी बनाउँछौ – नेपाललाई !

भेटिएला कि कहिँ

खट्प्वाल वा नभाँचिएको रूखको छहारी

ललितपुर, कीर्तिपूर र धर्मपूरका साँस्कृतिक नगरी

पुराना बस्तीमा उडेर पुगेँ

अहँ कहिँ भेटिएन हामी बस्न लायक सुरकक्षित घर

म –

साँखु पुगेँ

बनेपा पुगेँ

पनौती पुगेँ

धुलिखेल पुगेँ

चाँगु पुगेँ

खोकनामा पुगेँ

अहो –

डोजर र प्राधिकरण नपुगेको कहिँ रहेनछ

कहिँ रहेनछ सिमेन्टको लोगो र नारा नपुगेको !

म अहिले टोखामा छु ।

जहाँको इतिहास र सभ्यताको कथा सुनेर मैले

बिर्सेको छु – गर्भवती मेरी जहानको प्रसवपीडा ।

म भुर्र उडेर फर्कन्छु ब्रेकफेल डोजर मातेको शहरमा

लिएर आउँछु मेरी जहानलाई देखाउँदै

चाकू बन्ने ठाउँ

देवी नचाउने दबू

कुमारी बस्ने आसन

गणेश पुजिने मन्दिर

पुराना इनार

चोक गल्ली जन्मकथा सुनाउँदै

बताउँदै सपनतीर्थको प्राचीनता र सभ्यताको कथा

पुर्याउँछु

ऐतिहासिक चण्डेश्वरी मन्दिरको धार्मिक आङ्गनमा

यहाँ दक्षप्रजापति गर्दैछन् अश्वमेघ यज्ञ

जहाँ निषेध छ आदिवासी महादेवहरू

दक्ष-छोरी सतीदेवी गर्दैछिन् आलाप

गर्दैछिन् विद्रोह – आफ्नै पिताविरुद्ध

हामफालेपछि सतीदेवी यज्ञकुण्डमा

मच्चिएको छ हाहाकार

विस्का:जात्रा मनाइरहेका जात्रुहरू

हातहातमा खड्ग बोकेर जाइलागेका छन् दक्षसेनामाथि

त्राही – त्राही मच्चिएको छ

मन्दिर परिसर रगतपच्छे भएको छ

छरपष्ट छन् शिर काटिएका दक्ष-सेना !

भत्किएका छन् प्राचीन घरआवास !

म सपनाबाट भर्खरै बिउँझिएको छु – झल्याँस्स !

Facebook Comments

अन्तिम अपडेट: २० पुष २०७६, आईतवार १७:४०

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया