बाहिरी चक्रपथको लागत १ खर्ब ८३ अर्ब १ करोड, जग्गाधनीले मुआब्जा नपाउने

 २४ माघ २०७६, शुक्रबार १७:५३   | सुबिन्द्र श्रेष्ठ

काठमाडौं । बाहिरी चक्रपथको निर्माण लागत १ खर्ब ८३ अर्ब १ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । बाहिरी चक्रपथ निर्माणको काम ‘चाइना कम्यूिनकेशन कन्सट्रक्सन कम्पनी लिमिटेड’ नाम गरेको चिनीयाँ कम्पनीले इच्छुक भएर लगानी बोर्डमा निवेदन दिए पनि लगानी बोर्डले भने कम्पनीको क्षमताको मुल्याङकन गरेर मात्र दिने भएको बताएको छ । 

लगानी बोर्डले चिनीयाँ ठेकेदार कम्पनीलाई सो निर्माण कार्यको ठेक्का दिनका लागि प्रारम्भिक तयारी गरेको हो । गत वर्ष गरिएको लगानी सम्मेलन मार्फत सो कम्पनी ‘सर्ट लिस्ट’मा परेको हो । लगानी प्रस्ताव आएकामध्ये सो कम्पनी सरकारको आर्थिक संक्षिप्त स्वीकृती सूचीमा परेको छ । सो कम्पनी मात्र उक्त सूचीमा परेकाले यो निर्माण ठेक्का उसैले पाउने लगभग निश्चित जस्तै भएको हो । 

 हाल बोर्डले उक्त कम्पनीलाई प्रस्ताव पेशका लागि माग गर्ने तयारी गरेको छ । बोर्डका प्रवक्ता बलराम रिजालका अनुसार ‘रिपोर्ट फर प्रोजेक्ट’ (आरएफपी) तयार पारेर चिनीयाँ कम्पनीलाई दिने तयारी भइरहेको उनले जानकारी दिएका छन ।  रिजालले भने ‘आरएफपी तयार पारेर दिने प्रक्रिया भइरहेको छ, उसले त्यो आरएफपी अनुसार आफ्नो प्रस्ताव पेश गर्नुपर्नेछ, उनले भने । 

अब चिनियाँ कम्पनीको प्रस्तावमा बाहिरी चक्रपथ कसरी निर्माण गर्ने, कतिमा निर्माण पुरा गर्न सकिन्छ, कहाँ के परिवर्तन गर्नु पर्छ र कति समयमा काम सकिन्छ लगायतका जानकारीहरु उल्लेख गर्नुपर्नेछ ।

चिनीयाँ कम्पनीले आकर्षक लगानी प्रस्ताव गरे उसैले यो निर्माण ठेक्का पाउने ठूलो सम्भावना रहेको प्रवक्ता बलराम रिजालकले बताए । उक्त प्रस्ताव आएपछि भौतिक पूर्वाधार र टेक्निकल कमिटिबाट सो प्रस्तावको अध्ययन हुने उनले जानकारी दिए । त्यसपछि उक्त प्रस्ताव उपत्यका विकास प्राधिकरण मार्फत मूल्यांकनका लागि मन्त्रालयमा पठाइने समेत उनले बताए । सो प्रतिवेदन अनुसार चिनियाँ कम्पनीलाई ठेक्का दिने कि नदिने टुंगो लाग्ने छ ।

यी ठाउँ छुदै बन्नेछ बाहिरी चक्रपथ

सरकारको योजनामा काठमाडौं, भक्तपुर र ललितपुर क्षेत्रलाई छुने गरी चक्रपथ बनाउनेछ । चक्रपथ निर्माण खासगरी नैकाप भञ्ज्याङ, थापागाउँ आसपास, स्युचाटार, सीतापाइला, बाहिरी स्वयम्भू, वनस्थली, बालाजु औद्योगिक क्षेत्रको छेउ तथा बाइपास, गोंगबु, हिलेडोल, मनमैंजु, टोखा–सरस्वती क्षेत्र, चपली, चुनीखेल, टुसाल गाउँ, गोकर्णेश्वर, बामथली, नयाँपाटी हुँदै निर्माण हुनेछ । 

त्यस्तै, भक्तपुर क्षेत्रमा थली–डाँछी, चाँगुनारायण क्षेत्र, फुँयालगाउँ, दुवाकोट, रोकागाउँ, हनुमानटार, लुकुण्डोल, पकाउने पाटी, खरीपाटी, सुडाल, यङ्डोल, जगाती, हनुमन्ते खोलाको छेउ, अरनिको राजमार्ग, सृजनानगर, सल्लाघारी, दधिकोट, गाम्चा भएर निर्माण कार्य अगाडि बढाउने डीपीआरमा उल्लेख छ ।

त्यसैगरि, ललितपुरमा लुभु, विष्णुडोल, हरिसिद्धि, दसघर, धापाखेल, ठेचो, जावलाखेल, बुङ्मती, खोकना, कार्य्विनायक, वाग्मतीपुल (चोभार क्षेत्र), पुरानो हिमाल सिमेन्ट कारखानाको छेउ, कीर्तिपुर क्षेत्र, गाम्चा, मच्छेगाउँ हुँदै, तीनथानाको दक्षिण हुँदै सतुङ्गलसम्म पुग्ने प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

कुल ७१.९३ किलोमिटर लम्बाई रहेको बाहिरी चक्रपथ निर्माणका लागि सडकको केन्द्रबाट दायाँ–बायाँ २ सय ५० मिटर जग्गा (ल्यान्ड पुलिङ)मार्फत लिन सकिने सरकारी योजना रहेको छ ।
सो सडक ५० मिटर चौडाईको बनाइने छ । चत्रपथ निर्माणका लगिा लिइएका जग्गामा आवश्यक सबै भौतिक संरचना निर्माण गरिने छ । बाहिरी चक्रपथमा ८ लेन सडक सहित साइकल लेन, ग्रिन बेल्ट, फुटपाथ तथा अपाङ्ग मैत्री पेटीको समेत ब्यबस्था गरिएको छ ।

उपत्यका विकास प्राधिकरणका योजना प्रमुख दिलिप भण्डारीका अनुसार बाहिरी चक्रपथको काम लगानी बोर्डले लगानी जुटाउनका लागि मात्र लिएको बताए । लगानी आएपछि सो काम विकास प्राधिकरणले आफै हेर्ने समेत उनले जानकारी दिए ।

 विगतमा सो सडक निर्माण सरकारको प्राथमिकतामा नपर्दा यो योजनापछि परेको उनीको भनाई छ । ‘त्यस बेला बाहिरी चक्रपथ निर्माण सरकारको उच्च प्राथमिकतामा परेन । हामीले मन्त्रालयमा नेपाल सरकारले लगानी गर्नेगरी प्रस्ताव गरेका थियौं तर, सरकारले आफैं लगानी गर्न नसक्ने भएपछि लगानी प्रस्ताव भएको हो’ उनले भने । 
 
बाहिरी चक्रपथको लागि सम्पूर्ण लगानी चिनियाँ कम्पनीले गरे पनि उक्त चत्रपथ निर्माण स्थलमा पर्ने घरको मुआब्जा चाँहि नेपाल सरकारले दिनेछ । उक्त चक्रपथ ल्याण्डपुलिङमार्फत बन्ने भएकोले जग्गाको मुआब्जा दिन नपर्ने र निमार्ण गर्दा भत्किन आएका घरको मात्र मुआब्जा दिने भण्डारीले बताए । हालसम्म चक्रपथको लागि कुनै पनि जग्गा अधिग्रहण नभएको उनले जानकारी दिए । 

Facebook Comments

अन्तिम अपडेट: २४ माघ २०७६, शुक्रबार १७:५३

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया