कोरोना सतर्कता: टोखा २ वडाले आफै मास्क बनाउदै

 १० चैत्र २०७६, सोमबार १६:०२   | सुबिन्द्र श्रेष्ठ

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण विश्वभर महामारीका रुपमा फैलिरहेका बेला नेपालमा पनि यसको त्रास देखिएको छ।
कारोनाको त्रास बढेसँगै बजारमा व्यापारीहरुले मास्क लुकाएर चर्को मूल्य बिक्री गरेको पाइएको छ। कतिपय मेडिकल, क्लिनिक तथा मास्क विक्रेतालाई सरकारले कारबाहीसमेत गरेको छ ।
मास्कको अभावलाई मध्यनजर गर्दै टोखा नगरपालिका २ वडाले मास्क उत्पादन गर्न महिलाहरुलाई १ दिने तालिम दिएको छ ।
टोखा नगरपालिका २ वडामा रहेको आफन्त महिला समूहका सदस्यहरु वडा कार्यालयमा नै बसेर आवश्यक मास्क उत्पादन गर्ने कार्य आजदेखि नै थाल्नी गरिएको वडा अध्यक्ष दिपराज जोशीले जानकारी दिए ।
उनले भने – ‘आफ्नो नगरमा रहेका सर्वसाधारणहरुको कोरोना भाइसरबाट सुरक्षाका लागि वडाले उच्च सतर्कता अपनाउदै विगतमा वडाले सिलाई तालिम दिएको आफन्त महिला समूहसँग सहकार्य गरेर पुनःप्रयोग गर्न मिल्ने मास्क उत्पादन कार्यलाई अगाडी बढाएको हो ।’
हामी आफैलाई चाहिने सामाग्री आफै उत्पादन गर्न सक्षम छौँ भन्ने सन्देश दिन पनि यो कार्य शुरु गरेको समेत उनले बताए ।
वडाबाट उत्पादित उक्त मास्क २-३ दिनमै आफ्ना वडाबासीहरुको घरदैलोमा गएर प्रत्यक घरका सदस्यहरुलाई वितरण गर्ने तयारी वडाले गरिरहेको छ ।
उक्त उत्पादित मास्क ३ वडाका सर्वसाधारणहरुलाई वितरण गर्न पुग्ने गरी उत्पादन गरिने समेत उनले बताए ।

अरुको भरमा नपरी आफ्नै स्रोत र सामाग्री प्रयोग गरी मास्क उत्पादन गर्ने टोखा नगरपालिका भित्रमै पहिलो वडा हुन सफल भएको छ ।

फोटो

Facebook Comments

अन्तिम अपडेट: १० चैत्र २०७६, सोमबार १६:०२

तपाईको प्रतिक्रिया