‘यँसी गाले यँसीनं धनका..’ शुरु भयो पाहाँ चर्‍हे

 १० चैत्र २०७६, सोमबार १९:०१   | सुबिन्द्र श्रेष्ठ

काठमाडौँ । नेवाः समुदायको विशेष पर्व पाहाँ चर्‍हे नखः आजबाट शुरुभएको छ ।

आज विहान टोखाको थनेलाछिमा रहेको यँसी गाःमा यँसी उठाएसँगै टोखामा पाहाँ चर्‍हे जात्राको विधिवत रुपमा सुरुभएको छ । विश्वभरी तीव्र रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट विश्वसमुदाय नै आतंकित भैरहेको परिप्रेक्षमा पाहाँ चर्‍हे जात्रा मनाउने कि नमाउने भन्ने अन्योलका बीच आज यँसी उठाएको हो ।  

यद्यपी त्यसपछिका जात्राहरु सञ्चालन कसरी गर्ने भन्ने कुरामा भन्ने सम्बन्धित खलःहरुको अझै स्प्रष्ट धारणा सार्वजनिक भैसकेको छैन ।

प्रत्येक वर्ष चैत्रको कृष्ण चतुर्दशीका दिनदेखि सुरुहुने यो पर्व वंटुली अजिमा सपनविनायक र यँसी (लिंगेश्वर महादेव) को पूजाआजा गर्नुका साथै रथयात्रा गरी मनाउदै आइरहेका छन् ।

कृष्ण चतुर्दशी अर्था पिसाच चतुर्दशीका दिन विहान सबेरै यँसी गुठीका सदस्यहरुले थनेलाछीमा रहेको यँसीलाई विशेष पूजा गरी सकेपछि स्थानीयहरुको सहयोगमा यँसी गाः मा उठाउने चलन रहिआएको छ ।

लख द्यः जात्रा

यसै दिन बेलुका वटुली अजिमा र सपनविनाय द्यः खलहरुले उक्त देवीदेवताको प्रतिमालाई खटमा राखि टोखा नगरभित्रको चोकमा रहेको लुक मा द्यः (लुकेर रहेको महादेव)को दर्शनार्थ बाजागाजा सहित जात्रा हुने गर्छ । जसलाई लख द्यः जात्रा भन्ने गरिन्छ । ती जात्रामा सरिए भएका देवीदेवतालाई आफ्नो देवीघरबाट विधिवत रुपमा पूजाआजा गरेर खटमा राख्ने गरी छ र नगर परिक्रमा पछि पुनः देवी घरमै भित्र्याइने गर्छन ।

यो जात्रा तीन सम्म विविध पूजाआजा तथा जात्रा गरेर टोखाबासीहरुले मनाइदै आइरहेका छन् ।

किम्बदन्ती

यस पर्व सम्बन्धि किंबदन्ति यस प्रकार छ । सत्ययुगमा पार्वतीले श्री महादेवलाइ भन्नुहुन्छ : हे इश्वर, तपाई देवको पनि देव महादेव ,तपाइको अर्धांगिनी हुन पाउँदा म निकै खुसि छु ,तर म अनेक रुप धारण गरि बेला बेलामा मध्यपान,माँस ग्रहण गर्ने गर्दछु तर तपाई भने यस्तो खानेकुरा कहिले पनि खानुहुन्न , त्यसैले मलाई अलि अप्ठेरो महसुस भएको छ, त्यसपछि श्री महादेवले त्येसो होइन भनि आफै सुटुक्क कसैले नदेख्ने गरि लुकेर पिसाच रुपी महादेवले माँस,मदिरा,लावाजन्य खानेकुरा खाएर पार्वतीलाइ देखाउनु भयो !

 त्यसैगरी “महाकाल तन्त्रे शिव बचन “शास्त्र अनुसार यस दिन महदेव(लुकुमहाद्य)लाइ मासु, लाभा,रक्सी,थ्वं ,लुँबु , बह बुँ, आदि चढाई, बत्ति बाट बनाइएको गाजल लागेर अष्टमात्रिका अजिमाहरुको दर्शन गर्नाले सर्ब सिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ । भने भोलि पल्ट अस्वयात्रा गर्नाले भबिष्य ज्ञान पनि प्राप्त गर्ना सकिन्छ अर्थात् घोडा जति बेघले दौडन सक्छ त्यतिनै देशमा दुःख कस्ट हराउने र सत्रुहरु नाश हुन्छ भन्ने मान्यताका साथ घोडे जात्र मनाउने परम्परा रहिआएको छ |

( श्रोत:झीगु नख:चख:/पुण्य रत्न बज्राचार्य)- खस भाषामा अनुवादित 

दोस्रो दिन
पाहाँ चर्‍हेको दोस्रो दिन अर्थात घोडेजात्राका दिन वंटुली अजिमा, सपन विनायक र यँसी (लिंगेश्वर महादेव)को विशेष पूजा आजा तथा जात्रा हुने गर्छ । साँझ पख वंटुली अजिमा, सपनविनायक र यँसी (लिंगेश्वर)को सामुने खलःको विधि तथा नियमका अनुसार नाबालकहरुलाई मर जाः खुवाउने  परम्परा रहिआएको छ । मरजा खुवाउन सके लगतै टर्ख्यमा विराजमान रहेको वंटुली अजिमाको खटलाई बाजागाजा सहित सुकुन्दा सहित दिपयात्रा गरी ताहालय् टोलमा ल्याइ विराजमा गराइन्छ र रातभर दाफा भजन खलहरुले भजन कृतन गर्ने गर्दछ। त्यसै उत्ता सपनविनायको खटलाई नाशल चोकमा विराजमान गराइन्छ, र त्यहाँ पनि रातभर दाफा भजन खलहरुले भजन कृतन गर्ने गर्दछ

द्यःल्वाकेगु

पाहाँ चर्‍हेको अन्तिन दिन गए राति विधिवत रुपमा जात्रा गरी तर्ख्यबाट ल्याएर ताहाल्यमा राखिएको वंटुलि अजिमा र नासलमा रहेको सपनविनायको प्रतिमासहितको खटलाई बाजागाजा सहित थने लाछिमा रहेको यँसी तर्फ लगिन्छ । द्यःखलःहरुको विशेषा पूजाआजा सके पछि सपनविनायकले वंटुलि अजिमाको खटलाई तीन पटक ढोग गराइसकेपछि दुवै खटले यँसीको परिक्रमा गराइन्छ र परिक्रमा पछि विधिविधान अनुसार कार्मकाण्ड सकाएर आआफ्नो देवी घरुमा भित्र्याइने चल रहिआएको छ । यसरी ढोग गर गर्नुको मतलब केहो भने अजिमा लाई पार्वती यँसीलाई महादेव र सपनविनायक लाई गणेशको प्रतिकका रुपमा रहेकाले गणेश अर्था सपना विनायकले आफ्ना आमा अजिमालाई ढोगेको प्रतिक लिइन्छ । झट्ट हेर्दा एकअर्काको खट ल्वाकेगु (यसको साब्दिक अर्थ जुधाउनु) जुधाएको  जस्तो देखिने हुनाले स्थानीय भाषामा यसलाई द्यः ल्वाकेगु भन्ने गरिन्छ । र यससँगै पाहाँ चर्‍हे जात्रा समापन हुन्छ ।

Facebook Comments

अन्तिम अपडेट: १० चैत्र २०७६, सोमबार १९:०१

तपाईको प्रतिक्रिया