टोखा नगरपालिकाले गर्‍यो गोंगबुमा अलपत्र परेका १२ जनालाई उद्धार

 १२ बैशाख २०७७, शुक्रबार ११:४१   | सुबिन्द्र श्रेष्ठ

न्यूज अफ टोखा, काठमाडौँ । लकडाउनका कारण गोंगबुमा अलपत्र परेका १२ जना कामदारलाई टोखा नगरपालिकाले उद्धार गरेको छ। दैनिक ज्यालादारी गर्ने दोलखाबाट आएका १२ जना मजदुर गोगंबुमा अलपत्र भएपछि नगरपालिकाले बैशाख ५ गते उद्धार गरेको जानकारी मेयर प्रकाश अधिकारीले दिए।

‘म नगरपालिकामै थिएँ। एउटा नयाँ नम्बरबाट फोन आयो,’ मेयर अधिकारीले भने, ‘यहाँ गोंगबु बसपार्कमा १२ जना युवक अलपत्र परेर बसेका छन्, उनीहरूको उद्धार गर्न पर्‍यो भन्दै। फोन राखेर म नगरपालिकाको गाडी लिएर बसपार्क गएँ र केही सोधखोज नगरी लकडाउन अवधिभर खाने बस्ने व्यवस्था गरिदिन्छु भनेँ।’

उनका अनुसार नगरपालिकाले उनीहरूलाई आवश्यक खाद्यान्न, ग्यास तथा तरकारीको व्यवस्था गरिदिएको छ। उनीहरू साथीका कोठामा बसेका छन्।

उनीहरूको घर कालिकोट हो। टोखा नगरपालिकाले लकडाउन अवधिभर खाने बस्ने व्यवस्था गरिदिने भएको छ।

नगरपालिकाले आफ्नो नगरमा ३८ बेडको क्वारेन्टाइन समेत बनाएको छ। अहिले क्वारेन्टाइनमा तीन जना महिला राखिएको छ। नगरपालिकाले भोकै बसेकोको उद्धार गर्न पार्टी प्यालेसबाट खानाको व्यवस्था समेत गर्न लागेको मेयर अधिकारीले बताए।

आफ्नो नगरमा कोही पनि भोको बस्न नपरोस् भनेर दैनिक उपभोग्य वस्तु, औषधी, एम्बुलेन्स लगायत आवश्यक सामग्रीका लागि टोखा नगरपालिकाका जनप्रतिनिधि तयारी अवस्थामा रहेको पनि मेयर अधिकारीले जानकारी दिए।

Facebook Comments

अन्तिम अपडेट: १२ बैशाख २०७७, शुक्रबार ११:४१

तपाईको प्रतिक्रिया