काठमाडौं सहित तराईका जिल्ला ‘रेड जोन’मा

 ३० बैशाख २०७७, मंगलवार २१:२४   | सुबिन्द्र श्रेष्ठ

न्यूज अफ टोखा

काठमाडौं, बैशाख ३० –  मङ्गलबार एकै दिन ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएका सबै तराईका जिल्लाका छन् । 


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पर्सामा ३९, रुपन्देहीमा ९, कपिलवस्तुमा ८ र बारामा एक जना सङ्क्रमित भेटिएका हुन् । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या १ सय ९१ पुगेको छ ।

देशमा पछिल्लो समय सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ ।  तर यी सङ्क्रमितमध्ये धेरै जना लकडाउन सुरु भएपछि नेपाल आएका छन् । भारतसँगको सीमा नाकामा कडाइ गर्न नसक्दा लकडाउनकै अवधिमा झन् जोखिम बढेको छ । 

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्दप्रसाद श्रेष्ठ भन्नुहुन्छ, ‘लकडाउनलाई हामीले पूर्ण पालना गर्न सकेनौँ । यसमा भएको कमी कमजोरीकै कारण जोखिम बढ्यो । सीमामा कडाइ गर्न नसक्नुले जोखिम भित्रिएको हो ।’

विभागका अनुसार पछिल्लो समय भेटिएका सङ्क्रमतिमध्ये धेरै लकडाउनकै समयमा भारतबाट नेपाल भित्रिएकाहरु हुन् । जसले गर्दा काठमाडौं पनि रेड जोनमा परेको छ । यसअघि सरकारले काठमाडौंलाई सुरक्षित मान्दै आएको थियो ।

Facebook Comments

अन्तिम अपडेट: ३० बैशाख २०७७, मंगलवार २१:२४

तपाईको प्रतिक्रिया