कालापानी सीमा विवादको इतिहाँस

 २ जेष्ठ २०७७, शुक्रबार ०३:२४   | सुबिन्द्र श्रेष्ठ

कालापानी सीमा विवादको इतिहाँस

डा.लोक बहादुर विष्ट । नेपाल र भारतबीच ठाउँ ठाउँमा सदियौ देखि सीमा विवाद चलिरहेको छ । भारत संग सीमा जोडिएका हिमाली तथा पहाडी ६ जिल्ला र तराईका २१ जिल्ला गरि कुल २७ जिल्लामा सीमा लामो समय देखी कचकच हुँदै आएको छ । केही ठाउँमा भने नेपालको धेरै ठुलो क्षेत्रफल भू भाग अतिक्रमित भएको छ । यसरी लामो समय देखी समस्याको रुपमा निकै ठुलो र महत्वपुर्ण भू भाग अतिक्रमित हुँदै आएको सीमाक्षेत्र मध्ये कालापानीको विवादित क्षेत्र पनि अहिले नेपाली मिडियामा चर्चा को विषय बनेको छ जुन स्वभाविक पनि हो ।

काली नदीले बनाएको सीमारेखा नै नेपालको पश्चिमी सीमा क्षेत्र हो भन्ने तथ्य, प्रमाण निर्विवाद भएपनि काली नदीको वास्तविक ऐतिहासिक उदगमस्थल कुन हो भन्ने मुद्धामा दुई देश एउटै ठाउँमा उभिन नसक्नु नै विवाद चलेको पाईन्छ । जसको परिणामस्वरुप यो विवाद लम्विदै आइरहेको छ । यो समस्याको समाधानको लागी सन् १८१६ को सुगौली सन्धि मुताविक वास्तविक काली नदी कुन हो र महाकालीको वास्तविक मुहान कुन हो भन्ने अकाट्य भरपर्दो तथ्य प्रमाणहरुका आधारमा निश्चित गरि कुटनितीक पहल द्धवारा सरकारले सीमा विवाद निराकरण गरिनु जरुरी छ । महाकाली नदीको मुहानका सम्बन्धमा तीनवटा मत चर्चामा आउने गरेको पाइन्छ ।

१) नेपालका इतिहासविद, नक्साविद, जलस्रोत विद तथा अनुसंधानकर्ताहरुले लिपियाधुरा नजिकबाट उद्गम भएको नदी वास्तविक रुपमा काली नदी हो र लिपियाधुरा नै काली नदीको मुहान क्षेत्र हो भनिएको छ ।

२) नेपाल सरकार तथा तत्कालिन श्री ५ को सरकारको भनाइमा लिपुलेक भंज्याङ नजिकबाट निस्केको वा लिपुलेकबाट मुलफुटेको नदी काली नदी हो भन्ने धारणा सरकारी स्तरको थियो तर पुराना दस्तावेजहरु, इतिहास तथा नक्साको आधारमा तत्कालिन सरकारलाई लिपियाधुरा नै हो भन्ने आभास पनि भएको थियो ।

३) भारत सरकारले कालापानी दक्षिणमा एउटा काली मन्दिर निर्माण गरि त्यसको नजिक एउटा पोखरी खनेर त्यही पोखरीबाट निस्कीएको सानो पानीको तिरतिरे बहावलाइ काली नदी भनि रहेको छ ।

यि माथीका दावीका आधारमा पहिलेदेखि नेपालमा परिरहेको कालापानी, तुल्सिन्युराड, नावीडाङ, गुंजी, कुटी, नाभी जस्ता साविक बस्तिमा भारतले सशस्त्र सैनिक क्याम्पहरु खडा गरेको छ ।

कालापानी कहिले अतिक्रमण भयो?

कालापानी अतिक्रमण कहिलेवाट भयो वा सुरु गरे भन्ने प्रसङ्गमा प्रत्यक्ष र अप्रत्यक्ष अतिक्रमण वारे प्रष्ट हुन जरुरी छ ।

१) प्रत्यक्ष अतिक्रमणका सम्बन्धमा सन् १९६२ (वि.स.२०१९) ताका भारत र चीन बीच २१ दिने छोटो तर तेजिलो युद्ध भएको समय भारतले नेपालको कालापानी लिपियाधुरा क्षेत्रमा भारतिय सैनिक क्याम्पहरु खडागरेर नेपाली भू भाग अतिक्रमण सुरु गरेको थियो जुन अहिले सम्म भोग चलन गरिरहेको छ ।

२) अप्रत्यक्ष अतिक्रमणको कुरा उल्लेख गर्दा सन १८७९ देखि नै ब्रिटिस भारत सरकारबाट नक्सांकन मार्फत नक्सामा संकेत चिन्हद्धारा सीमा हेरफेरको क्रम थालनी भएको देखिएको छ । परिणाम त काली नदीलाई कुटी लेख्ने काम गरियो र पछि कुटी याङटी लेखियो भने नक्सामा नामै नभएको लिपुलेकबाट निक्लेको नदीलाई काली नदी भन्नेकाम गरियो ।

यसरि सुगौली संधिमा उल्लेख भएको नदी सिमानाको बदलामा कल्पित जमिन सिमाना नक्सामा एकतर्फी खिची कालापानी क्षेत्र पुरै भारततर्फ परेको देखाई नक्साङ्कन अतिक्रमण (Cartographic Aggression )सन १८७९ देखि गर्दै आईरहेको छ जसलाई गतवर्ष पनि नयाँ नक्सामा राख्नेकाम भारतबाट भयो ।

कालापानी सीमा विवाद नेपालले कहिले थाहा पायो ?

कालापानीमा भारतिय फौज रहेको कुरा नेपालले कहिले देखी थाहापायो भन्ने सम्वन्धमा धेरैमा कौतुहलता रहेको छ । नेपालले बेला मौकामा थाहा पाएर बेवास्ता गरेको हो वा पछिमात्र थाहा भयो वा सरकार प्रमुखहरु आफ्नो कुर्ची बचाउन चुपलागे भन्ने अहिले जनमानसमा कौतुहलता देखिएको छ जुन स्वभाविक पनि हो र नेपाली युवाहरुले आफ्नो भूमी फिर्ता ल्याउन कठोर कदम ढिलो भएपनि चाल्नु पर्ने छ ।

१) पहिलो दृष्टिकोण अनुसार यस सम्वन्धमा नेपाललाई शुरु देखि थाहा थियो तर केही सीमित व्यक्तिहरुलाई मात्रै जानकारी थियो ।

२) दोस्रो दृष्टिकोण अनुसार सरकारलाई शुरुमा थाहा थिएन अथवा रेकर्डेड अथवा रिपोर्टिङका हैसियतमा केही जानकारी थिएन जसमा पछि सरकारमा आउने व्यक्तिले चासो राखेनन र यो मुद्दा निकाल्न नै चाहेनन ।

३) भारतिय सेना कालापानी क्षेत्रमा राम्ररी स्थापित भइसकेपछि उनीहरुको दबदवा बढदै भएपछि स्थानीय प्रशासकहरुले आफ्नो तालुक वा माथिल्लो निकायमा जानकारी गरिरहे तापनि केन्द्रीय तहमा सीमित तालुकवालाहरुले यसलाई प्रकाण्डरुपको नठानी बेवास्ता गरे किनकी यसलाइ समस्याको रुपमा कसैले पनि उठाउने चेष्टा गरेनन ।

४) देशको सार्वभौमसत्ता, प्रादेशिक अखण्डतामा निहित छ भनेर अधिकारवालामा महसुस भएन वा हुन सकेन । यो समस्या त्यतिवेला जसलाई थाहा थियो उनिहरुले अनजानमै वा जानी जानी पचाएर राखे ।

५) नेपाली सीमाक्षेत्र भित्रको कालापानीमा भारतीय सेना रहेको कुरा शाही नेपाली सेनाका तत्कालीन कर्णेल शम्भुशमशेर राणा नेपाल चीन सीमाकंनको सन्दर्भमा २०१९ सालमा उनको टोली कालापानीमै पुग्दा थाहाभएको थियो तर त्यो कुरा माथिल्लो तहमा रिपोटिङ गरेको तर सेनामा मात्र सिमित थियो वा तत्कालिन राजा बाट त्यसलाइ रोकियो यो खोजविन भएको छैन ।

६) यसै सम्बन्धि २०१९ सालमा परराष्ट्र मन्त्री ऋषिकेश शाहको भनाई अनुसार राजा महेन्द्रलाई कालापानीमा भारतिय सेना बसेको थाहा थियो तर राजाले आँखा चिम्लिएको भन्ने भनाई २०५५ सालमा पत्रिकामा भनेका थिए । उनका अनुसार मैले भारतलाई धेरै चिढाइसके, म संग भारत आगो भैसकेको छ भन्ने भावनावाट राजाबाट व्यक्त भएको मन्त्री शाहको भनाई छ ।

७) दुई देशसम्बन्धी समस्या जगाएर जोखिम मोल्नु भन्दा आफ्नो पदाधिकारको कार्यकाल सुगमताका साथ विताउन वा पार गर्न काममा पदाधिकारीहरु लागिरहे र लागेका देखिन्छन ।

८) वि.स.२०४६ सालमा नेपालमा प्रजातन्त्रको पुनर्वहालीपछि कालापानी क्षेत्रको अतिक्रमणबारे जनमानसमा समाचार आयो । जनताले नै यसलाइ उजागर गर्नलागे जसको परिणाम २०५३ सालदेखि देशभरि यसको जानकारी फैलियो ।

यसरी सरकारी स्तरमा अथवा विधिवत रुपमा जुन मिति वा समयमा यो विबाद थाहाभए पनि पंचायत कालिन शासन देखि बहुदलिय प्रजातन्त्रहुदै गणतन्त्रात्मक शासन पद्धतिका शासकहरु कसैले पनि कालापानी समस्या समाधान गर्ने वारे निर्णायक काम गरेको पाइदैन ।

कालापानी विवादबारेमा कविताहरु लेखेर, कलाकारहरुले नाटक मंचन गरेर, राजनीतिक पार्टीहरुले जुलुस प्रर्दशन र कोणसभा, आमसभा गरेर, सामाजिक कार्यकर्ताहरुले पचासौं अन्तरक्रिया तथा छलफल गरेर, सम्पादकहरुले सम्पादकिय गरेर, कार्टुनिस्टहरुले कार्टुन चित्र द्धारा, विद्यार्थीहरुले विचारको मन्थन गरेर, नागरिक समाजले सरकारलाई ज्ञापनपत्र बुझाएर, सामाजिक संजालका प्रयोगकर्ताले स्ट्याटस लेखेर जनचेतना अभिवृद्धि गराएका छन ।

तर पनि पंचायत देखि अहिले सम्म कुनै पनि प्रधानमन्त्री भारत भ्रमणमा जाँदा यो मुद्धाले प्राथमिकता नपाउनु नेपालको दुर्भाग्य भएको हो वा नेपाल आमाका संतानको रुपमा भारतमा आफु स्थापित हुन नसकेका हुन यो अहिले सम्म बुझ्न् सकिएको छैन ।

कालापानी लिपियाधुरा सीमा विबादको प्रमुख कारण

१) कालापानी लिपियाधुरा सीमा विबाद हुनुको प्रमुख कारण सो भू भाग सामरिक दृष्टिकोणले निकै महत्वपूर्ण रहेको पाईन्छ । भारत तथा नेपालबाट तिब्बततर्फ जान आउन सुबिधाजनक घाटी (Canyon) परेकोले हो ।

२) भारतबाट यही नाका भएर तिब्बतको ताक्लाकोट हुदै ल्हासा समेतका अन्य व्यापारिक केन्द्रमा जान छोटो बाटो पर्र्नाले हो ।

३) मानसरोवर कैलाश पर्वततर्फ तीर्थाटन र पर्यटनमा जान अरु बाटोभन्दा निकै छोटो र सुगम पर्नाले पनि हो ।

यस्तो सामरिक महत्वको क्षेत्रमा भारतका ठाउँ ठाउँमा प्रहरि पोष्ट, अर्ध सैनिक जत्था, इण्डो टिबटेन बोर्डर फोर्स स्थापित गरि सकेकोले भारतलाई सहजै छोड्न कठिन देखिन्छ । यसरी लगभग ६ दशक देखी कति अर्काको भूमीमा अड्डा जमाएर बसेको भनेर अन्तराष्ट्रिय परिवेशमा भारतलाई आफ्नो अनुहार लुकाउन समस्या हुनसक्छ । तर अब नेपाली युवाहरुले आफ्नो पुर्खाले बसेको स्थान जुन ग्रेटर नेपाल थियो त्यसको सबै भू भाग फिर्ता गराउन लाग्नेहो भने भारतले एक न एक दिन कालापानी क्षेत्र खाली गरेर काली पश्चिम जानै पर्ने हुन्छ । किनभने नेपालीहरुका पुस्तौ पुस्ताहरुले आफ्नो सार्वभौमिकता र अखण्डताका लागि नेपाली भू भाग कालापानी देखी सुस्ता हुदै भारत संग सीमाना जोडिएका नेपालका २७ जिल्लाको बारेमा कुरा उठाइरहने छन र आउने पिढीलाइ यो सन्देश छोडेर जानेछन ।

सन्दर्भ सूची

के.सी. डा. सुरेन्द : (२०४६), नेपालको कुटनीतिक इतिहास, सविता प्रकाशन, ताप्लेजुङ ।

नेपाल, फणिन्द्र, (२०५५), नेपाल टिष्टा देखि सतलजसम्म, नेपाल नेसनलिष्ट फ्रन्ट, काठमाण्डौं ।

पन्त डा. शास्त्रदत्त, (२०५६), सीमा समस्या, दक्षिण एशियाली अनुसंधान केन्द्र, काठमाण्डौं ।

श्रेष्ठ, बुद्धिनारायण, (२०५७) नेपालको सिमाना, भूमीचित्र नापनक्सा कम्पनी प्रा. लि. काठमाण्डौं ।

श्रेष्ठ, हिरण्यलाल, (२०५६) कालापानी र कालीको मुहान, राष्टिय जन प्रकाशन, काठमाण्डौं ।

(लेखक कैलाली बहुमुखी क्याम्पस धनगढीका सह. प्राध्यापक हुन ।) ktmdainik

Facebook Comments

अन्तिम अपडेट: २ जेष्ठ २०७७, शुक्रबार ०३:२४

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया