मानवीय स्वभाव र व्यवहार परिवर्तन गरे कोरोना हाम्रो वरिपरी आउँदैन

 ९ जेष्ठ २०७७, शुक्रबार २१:२३   | सुबिन्द्र श्रेष्ठ

News of Tokha –तत्कालै सूचना प्रवाहको जमाना भएकाले एउटा पनि तथ्यहीन सूचना फैलिन नपाओस् भन्नेमा सजग हुनुपर्छ । तथ्यहीन सूचनाले त्रासदीपूर्ण वातावरण बनाउँछ । प्रकाशित प्रशारित सबै सूचना सही नहुन सक्छन् । सूचनालाई पुष्टि नगरी प्रशारण प्रकाशन गर्नु हुँदैन । विश्व स्वास्थ्य सङ्गठनले गत ३० जनवरीमै नोभल कोरोना भाइरसलाई लिएर ‘अन्तराष्ट्रिय चासोको जनस्वास्थ्य सङ्कट’ घोषणा गरिसकेको छ । यसअघि सन् २००९ मा स्वाइन फ्लु (एचवानएनवान), २०१४ मा पोलियो र २०१४ मै इबोला, २०१६ मा जिका भाइरस र २०१८ मा किभु इबोलाका कारण स्वास्थ्य सङ्कटकाल घोषणा गरिएको थियो । इबोला र सार्सको मृत्युदर कोरोनाको भन्दा बढी थियो भने स्वाइन फ्लुको कम थियो । त्यतिबेला सङ्क्रमितमध्ये इबोलाबाट ३४ प्रतिशत, सार्सबाट ९.६ प्रतिशत र स्वाइन फ्लुबाट ०.०२ प्रतिशतको ज्यान गएको थियो ।

रुघा मात्रै लक्षण भन्ने गरेको सुनेको छु । यसले जनमानसमा त्रास फैलिएको छ । ज्वरो आयो, खोकी लाग्यो र स्वासप्रश्वासमा समस्या भयो भने शङ्का गरौँ । रुघा लाग्यो भनेर नआतिउँ । आम नागरिकमा सही सूचना पुर्‍याउनु पर्छ भनेकै यस्तै कारणबाट हो । रुघा लाग्दा मात्रै कोरोना भएको केस त निकै न्यून छ । तर, कोरोना भएका सबैजसोमा ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न गार्‍हो हुने समान लक्षण देखिएका छन् । त्यसैले सही ठहरिएका सूचनालाई मात्रै जारी गरौँ । धेरैभन्दा धेरै प्रचार सामग्री छापौँ र बाडौँ । तीनै तहका सरकारले यसका लागि समय र बजेट छुट्याउनु आवश्यक छ । सही सापेक्ष हुन्छ । वैज्ञानिकताले अर्को कुरा पुष्टि गरेपछि मात्रै अर्को सही हुन्छ नत्र अहिले जे पुष्टि छ त्यो मात्रै सही हो ।

यो रोग स्वास प्रश्वासबाट फैलने रोग हो । सबैभन्दा ठूलो कुरा सरसफाइमा ध्यान दियौँ भने कोरोनाले छुँदैन । हाम्रो पुर्वीय दर्शनले भने अनुसारका ‘नमस्ते गरौँ, बाहिरबाट आएपछि बालबालिकालाई छुनु अघि आगो वा पानी छुने गरौँ’ भनेका कुरालाई एकैछिन विचार गरौँ । हात कसको सफा छ कसको फोहोर कसरी थाहा पाउनु ? त्यही भएर नमस्ते गरेमा छुनु पर्दैन । संसर्गबाट लाग्ने रोग सर्दैन । बाहिरबाट आएका मानिसले हात गोडा धोएर वा आगोमा हात सुख्खा गरेर बालबालिका लिँदा भाइरस मर्ने हुँदा बालबालिका सम्भावित जोखिमबाट जोगिइन्छ । जो १३ दिने किरिया बस्छ, किरिया बस्दा प्रायः स?वा रोगले छुँदैन । उसले आफ्नो खाना आफैँ बनाएर खान्छ । छुट्टै बस्छ । एक हिसाबले त्यो पनि आइसोलेशन रहेछ । यो धर्मसँग जोडिएको कुरा हो । तर, यसमा वैज्ञानिक कारण रहेछ । यस्ता वैज्ञानिकता पनि खोजौँ । धार्मिक कारण नै किन नहोस् रोग नलाग्ने वा नसर्ने बाटोको खाजी गरौँ । जगेर्ना गरौँ । ज्येष्ठ नागरिकको हेरचाह र सरसफाई तथा बालबालिकालाई परिवारका केही निश्चित व्यक्तिबाहेक अरूले छुने नगरौँ । भेटघाट आउजाउ बन्द भनेको चाहिँ रोग नसरोस् भनेर हो । त्यसैले सफाईमा काफी ध्यान दिउँ । सरसफाईले कोरोना मात्रै होइन धेरै भाइरल रोगबाट जोगिन मद्दत पुर्‍याउँछ ।

हामीले मानवीय व्यवहार र स्वभाव परिवर्तन गर्न सक्यौँ भने कोरोना हाम्रो वरिपरी आउँदैन । तर, यो निकै गार्‍हो काम हो । एकैपटक परिवर्तन भइहाल्दैन । चुरोटले स्वास्थ्यमा असर गर्छ भन्ने जानकारी दिने १५ प्रतिशत डाक्टर नै चुरोट पिउँछन् । त्यसैले शारीरिक स्वास्थ्य सरसफाई महत्वपूर्ण हुन्छ । बानी परिवर्तन गर्न कानुनको पनि आवश्यक छ । जहाँ पायो त्यहिँ थुक्नु हुँदैन । दिसापिसाव गर्नु हुँदैन मात्रै भनेर भएन । यदि त्यसो गरेको पाइएमा कारवाही हुने प्रावधानसहित तत्कालै अध्यादेश ल्याएर कार्यान्वयन गर्नुपर्छ । मेरो विचारमा कोरोनाको प्रकोप त्यति चाँडै समाधान भइहाल्दैन । लामै अवधि यसको प्रकोप रहन्छ । प्रकोप नियन्त्रणका लागि सरकार र स्वास्थ्यकर्मीलाई आम नागरिकले पूर्ण साथ र सहयोग गर्नुपर्छ । आम नागरिकको साथ भएमा अन्यत्र जेजे भएपनि नेपालमा भने चाँडै कोरोना नियन्त्रणमा आउँछ । त्यसका लागि नागरिकले सरसफाईमा पूर्ण ध्यान दिनु जरूरी छ । बेलैमा सावधानी अपनाएर सम्भावित क्षतिबाट जोगिउँ ।

रमेशप्रसाद तिमल्सिनासँगको कुराकानीमा आधारित (इन्सेक अनलाइन)

Facebook Comments

अन्तिम अपडेट: ९ जेष्ठ २०७७, शुक्रबार २१:२३

तपाईको प्रतिक्रिया