पानीको स्रोत सफा गर्ने विशेष पर्व अर्थात् सिथि नखः

 १५ जेष्ठ २०७७, बिहीबार ०३:२३   | न्यूज अफ टोखा

न्यूज अफ टोखा
लक्ष्मी गारु/रासस

नेवार समुदायले आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन । जेष्ठ शुक्ल पक्ष षष्ठीअर्थात् कुमार षष्ठीका दिन मनाउने यस पर्वलाई नेवार समुदायले वर्षा अघिको अन्तिम चाडको रुपमा समेत मनाउँछन ।

भगवान कुमारको जन्म दिनसमेत भएकाले यस दिन कुमारको पूजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान ‘बारा’ खाने प्रचलन रहेको छ । त्यसैगरी घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी (मुठ्ठी पारी बनाइएको विशेष खालको रोटी) समेत खाने गरिन्छ ।

नेवार समुदायमा ऋतुअनुसारको चाडपर्वअनुसारका पकवान खाने प्रचलन रहेको छ । त्यसैले नेवार समुदायका चाडपर्व खानेकुराको नामले समेत प्रसिद्ध छ । त्यस्तै पर्वमध्ये एक हो सिथि नखः पर्व । सिथि नखःको दिन नेवार समुदाय मुहान, इनार, कुवा, पोखरी, धारालगायतका पानीको स्रोत सरसफाइ गर्दछन् । वर्षात्को बेला बगेर आउने भेल र फोहरपानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस भनी पानीको मुहान र स्रोतको वरिपरिसमेत सरसफाइ गरी निकास खोल्नु यसको विशेषता हो । साथै हिँउदमा पुरिएको, थुनिएको र सुकेको मूललाई वर्षात्को पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मूलको सफाइ गर्ने गरेको हो ।

सिथि नखः पर्वले नेवार समुदायमा विशेष महत्व राख्ने गर्दछ । यस चाडसँगै वर्षा शुरु हुने र किसानको वर्षको महत्वपूर्ण कार्य सिन्या ज्याः (धान रोपाइँ) शुरु हुने भएकाले यस चाडलाई वर्षा अघिको अन्तिम चाडको रुपमा लिइन्छ ।

नेवार समुदायमा सिथि नखःको दुई कारणले विशेष महत्व राख्ने गरेको संस्कृतिकर्मी प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन् । ‘पहिलो सिथि नखः महादेव पार्वतीका ज्येष्ठ सुपुत्र कुमारको जन्म दिन भएकोले पनि धार्मिक महत्व छ, गणेश देवताका गणनायक हुन् भने कुमार देवगणका सेनापति हुन् । देवी देवतामध्ये सबैभन्दा पहिला कुमारको पूजा आराधना गर्नाले वर्षात्को बेला धान रोपाइँजस्तो कृषि कार्य गर्न शरीरमा बल र शक्ति प्राप्त हुने विश्वास छ’, प्रा डा श्रेष्ठले भने ।

नेवार समुदाय कला संस्कृति र सांस्कृतिक मनोरञ्जनका पारखी हुन् । उनीहरु वर्षभरि अनेकथरी कला, सांस्कृतिक झाँकी र चाडपर्व मनाउने गर्दछन् तर वर्षासँगै ती सबै थाँती राखी धान बाली लगाउन व्यस्त हुन्छन् । नेवारीमा प्रचलित एउटा भनाइ, ‘मनु स्युसाः लप्ते कुसाँ तपुया साँ न्हापाँ सिना ज्याः सिद्यके माः’ अर्थात् ‘मान्छे मरे घुमले छोपेर भए पनि पहिला धान रोपाइँ सक्नुपर्छ’ ले पनि धान खेतीको महत्व र प्राथमिकतालाई झल्काउँछ । यस्तो अवस्थामा किसानलाई जात्रा पर्व सबै थाँती राखेर अन्न उत्पादनका लागि मानसिक र शारीरिक रुपले पनि तयार पार्ने चाडको रुपमा सिथि नखःको विशेष महत्व रहने गरेको प्रा डा श्रेष्ठको कथन रहेको छ ।

धानखेती धेरै मेहनत र परिश्रमयुक्त खेती हो । वर्षात्को झरीमा रुझेर, हिलो माटोसँग पौंठेजोरी खेल्दै गरिने धान रोपाइँलाई अन्य खेतीपातीमा भन्दा बढी नै शक्ति र तागत आवश्यक पर्छ । यही तथ्य बुझेर नेवार समुदायले सिथि नखःको दिन शरीरमा तागत उत्पन्न गराउने मास र मुगीका बारा, चामलको चटामरी, पापड, गहुँको मालपुवालगायतका पकवान खाने चलन रहेको प्रा. डा. श्रेष्ठले बताए । साथै भर्खरै गहुँ भित्र्याइने भएकाले नयाँ गहुँको पिठोको विभिन्न प्रकारका रोटी खाने चलन रहेको छ ।

यस दिन शुद्ध भई नवदुर्गा भवानी र शक्तिपीठको पूजा गरी नयाँ गहुँबाट तयार गरिएको म्हुछ्यामढी चढाउनाले गहुँ उत्पादनमा वृद्धि हुनुका साथै वर्षा फाप्ने तथा घरपरिवारमा सुख शान्ति हुने जनविश्वास रहेको पाइन्छ ।

यस दिन किसानले खेतबारीमा काम गर्दैनन् । एकाबिहानै घरमा रहेको गाई वस्तुको गोबर मल, कम्पोष्ट मललाई खेतबारीमा पुर्याउने गर्दछ । त्यसपछि आफ्नो घर सफा गरी सिथि नखः पर्व मनाउन व्यस्त हुन्छन् । यस दिन खेतको माटोलाई चोट पुर्याउन नहुने जनश्रुती रहेको पाइन्छ ।

थिमिको मच्छिन्द्रनाथ लोकेश्वरको जात्रा आज

मध्यपुर थिमि–४, बालकुमारीस्थित थिमिको मच्छिन्द्रनाथ लोकेश्वर करुणामयलाई आज साँझ जात्रा गरी मन्दिरमा प्रतिष्ठापन गरिने भएको छ । लोकेश्वरको मूर्तिलाई मर्मत सम्भारका साथै दशकर्म विधिद्वारा प्राण प्रतिष्ठा गरी मन्दिरमा प्रतिष्ठापन गर्न लागेको हो ।

लोकेश्वर करुणामयको मूर्र्तिलाई यसअघि गत सोमबार मन्दिरबाट निकालेर मध्यपुर थिमि–६, गार्चास्थित जिस्वाँ बहाल पुर्याइएको थियो । धार्मिक परम्पराअनुसार थिमिको रातो मच्छिन्द्रनाथको रुपमा रहेको लोकेश्वरलाई वर्षमा एक पटक मर्मतसम्भारका लागि मन्दिरबाट निकाली गार्चास्थित जिस्वाँ बहालमा पु¥याउने परम्परा रहेको मन्दिरका पुजारी धर्मसुन्दर बज्राचार्यले जानकारी दिए ।

जिस्वाँ बहालमा पुर्याउने क्रममा लोकेश्वरको गरगहना सबै निकाल्नुका साथै सेतो कपडाले बेरेर लगिएको थियो । त्यसअघि चार दिशाबाट ल्याएको पवित्र र चोखो जलले लोकेश्वरको न्हवँ अर्थात महास्नान गराइएको थियो । महास्नानका क्रममा लोकेश्वरलाई दूध र महले समेत नुहाइदिने प्रचलन रहेको बज्राचार्यले बताए ।

जिस्वाँ बहालमा लोकेश्वरको मूर्र्तिमा आवश्यक ममर्तसम्भारलगायतका कार्य हुने बज्राचार्यले जानकारी दिए । ‘जिस्वाँ बहालमा लोकेश्वरको मूर्र्तिमा नयाँ रङरोगनलगायतका काम गरी नयाँजस्तै बनाइन्छ,’ उनले भने ।

सिथिः नखःको अघिल्लो दिन लोकेश्वरको मूर्र्तिलाई तान्त्रिक विधिद्वारा दशकर्म विधि विधानद्वारा पूजा गरी प्राण प्रतिष्ठा गरिन्छ । त्यसरी तयार भएको मूर्र्तिलाई सिथिः नखःको दिन बाजागाजासहित जात्रा गरेर बालकुमारीस्थित मन्दिरमा प्रतिस्थापन गर्ने परम्परा रहेको बज्राचार्यले जानकारी दिए ।

काठमाडौँ उपत्यकामा भएका ललितपुरको रातो मच्छिन्द्रनाथ, काठमाडौँ जनबहालको सेतो मच्छिन्द्रनाथ, चोभारको आदिनाथलाई जस्तै थिमिको लोकेश्वरको मूर्र्तिलाई पनि वर्षको एक पटक प्राण प्रतिस्थापन गर्नको लागि परम्परादेखि यो प्रचलन चल्दै आएको उनले बताए ।

उनका अनुसार यो परम्परा कहिले शुरु भएको भन्ने बारेमा कुनै शिलालेख वा अन्य ऐतिहासिक प्रमाण फेला नपरे पनि थिमिमा बज्रार्चायको बसोवास नेपाल सम्वतको ६०० वर्षमा भएको देखिएकाले यो परम्परा पनि सोही बेलादेखि शुरु भएको विश्वास गरिएको छ । ‘तत्कालीन समयमा घरजग्गा बिक्री गर्नुपर्दा वा दृष्टि बन्धक राख्नुपर्दा साक्षीको रुपमा बज्राचार्य गुरुजुलाई राख्ने परम्परा रहेको र सोसम्बन्धी लिखत फेला परेकाले सो बेलादेखि थिमिमा गुरुजुको बसोबास भएको प्रमाण रहेको तथा सोही बेलादेखि लोकेश्वरको यो परम्परा पनि चलेको हुनुपर्छ,’ बज्राचार्यले भने ।


Facebook Comments

अन्तिम अपडेट: १५ जेष्ठ २०७७, बिहीबार ०३:२३

तपाईको प्रतिक्रिया