पुलाँ गुह्येश्वरी ( पुरानो गुह्येश्वरी )

 २३ जेष्ठ २०७७, शुक्रबार २०:०९   | न्यूज अफ टोखा

काठमाडौको गोलढुंगामा अवस्थित मुख्य शक्तीपीठका रुपमा पुजिने श्री गुह्येश्वरी देवीलाई पुरानो गुह्येश्वरीको नामले चिनिन्छ। गुह्यदेवी, गुहेश्वरी आदि नामले पनि पुकारिने यस शक्तीपीठलाई स्थानिय भाषामा गुजेश्वरी पनि भनिन्छ । यस शक्तिपीठमा कुनै मुर्ती नभइ कलश स्थापना गरिएको छ भने यहि कलशलाई नै मुख्य देवीको रुपमा पुजा गरिन्छ ।

यस शक्तिपीठको स्थापना कसले गर्यो र कहिले गर्यो भन्ने कुरामा यकिन तथ्य नभएता पनि यसलाई लिच्छविकालिन मानिएको छ। हिन्दु र बौद्ध धर्मावलम्बी दुबैद्वारा आस्थाका साथ पुजिने यस मन्दिरले दुई धर्म बीचको सहिष्णुता पनि दर्शाउँदछ। हिन्दु धर्मका अनुसार यस पीठलाई श्री सतिदेवीको गुह्य अंग पतन भएको ठाउँ मानिन्छ । स्थानिय बासिन्दा अनुसार यस पीठ काठमाडौको एकदमै पुरानो रहेको र पशुपती क्षेत्रमा अवस्थित श्री गुह्येश्वरी देवीको मन्दिर पछि मात्र स्थापना गरिएकोले यस मन्दिरलाई पुरानो गुह्येश्वरी भनिएको हो। गुह्यकालीको रुपमा पनि पुजिने यस देवीलाई तन्त्र शक्तिको मुल देवी मानिन्छ । यस कलशमुनी जलकुण्ड रहेको मानिन्छ भने सो कलश कहिले काहीँ मात्र हटाएर जलकुण्डको दर्शन गर्न दिइन्छ ।

एउटा किंवदन्ती अनुसार कालकुट बीस खाएका शिवजी त्यसको असर सहन नसकेपछी हालको गोसाइँकुण्ड गइ त्यहाँ आफ्नो त्रिशुलले जमिनमा घोची पानी निकाली शान्त गरेका थिए। गोसाइँकुण्ड जाने क्रममा शिव र पार्वती यसै स्थानमा विश्राम गरेका थिए र सोही बखत पार्वती देवी रजस्वला भएपछी उनी यसै स्थानमा ४ दिन बसेको मानिन्छ।

यसै गरि बज्रयान बौद्ध धर्म अनुसार यस पीठलाई श्री बज्रयोगिनी देवीको बज्रबाराही रुप तथा गुह्ययोगिनी नैरात्माको रुपमा पुजा गरिन्छ। कथन अनुसार काठमाडौ उपत्यका ताल रहेको समयमा छरेको कमलको बीउबाट कमलको फुल फुलेको थियो। सोही फुलको मध्य भागमा तेज उत्पन्न भइ श्री स्वयम्भू उत्पती भएको थियो। सो कमलको फुलमा रहेको ठुला ठुला मुख्य आठ वटा पत्रहरु पछि चार दिशा चार कोणमा ढल्केर भुइँमा छोएको थियो। सो पत्रहरुले छोएको ठाउँमा विभिन्न ज्योतिहरु उत्पन्न भए जसमा विभिन्न चैत्यहरु निर्माण गरिए। यसै क्रममा सो कमलको मुख्य भाग अर्थात् जरा रहेको ठाउँमा कुण्ड बनेको र सोही कुण्ड नै यस गुह्येश्वरी पीठ रहेको मानिन्छ। यसैले पनि स्वयम्भूमा ठूलो पुजा लगाउँदा यहाँ पनि पुजा गर्न पर्ने जनविश्वास गरिन्छ।

लेख : Frannkey Franz

Facebook Comments

अन्तिम अपडेट: २३ जेष्ठ २०७७, शुक्रबार २०:०९

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया