लघुकथा : फेसबुक-लमी

 २३ जेष्ठ २०७७, शुक्रबार १२:५०   | न्यूज अफ टोखा

लघुकथा : फेसबुक-लमी

-घनश्याम डल्लाकोटी

“सुन्दर, सुशील, पढे लेखेकी तर फेसबुक नभएको सुकन्या, छोरा बुद्धिप्रसादको लागि खोज्नु पर्यो ।” धनप्रसादले आफन्त र शुभचिन्तकहरुको कान-कानमा फुके ।

सबैजना, त्यस्ति सुकन्या कहाँ भेटिएला भनेर बुझ्न थाले । फेसबुक नभएकी, पढेलेखेकी सुकन्या पाउन गाह्रो भयो । आफन्त र शुभचिन्तकहरु हार खाए ।

बाबु धनप्रसादलाई छोरा बुद्धिप्रसादले भने, “तीन दशक अघिसम्म जतिखेर नेपालमा इन्टरनेट आएको थिएन, कुनै सामाजिक सञ्जाल थिएन, फेसबुक थिएन । केटा-केटीको जोडी मिलाएर बिहे गराईदिन कुलको पण्डित या आफन्तले लमी काम गर्थे । केटालाई केटीको फोटो देखाएर, केटाको परिवार र केटालाई मन परे बिहे पक्का हुन्थ्यो । अब त्यस्तो जमाना कहाँ छ र बुबा ! हजुरलाई हुन्छ भने रोजी-रोजी फेसबुकमा बुहारीहरु छन् । फेसबुक नै यति सजिलो लमी भएपछि के दुख ! ” बुद्धिप्रसादले स्मार्ट फोनमा हुनेवाला बुहारीहरुको फेसबुक तस्बिरहरु देखाउँदै भन्यो ।

“हुन्न है बाबु हुन्न । फेसबुकमा त एउटै केटीले २-३ जना केटासँग लभ गरेकी हुन्छिन् रे ! त्यही भएर त पढेलेखेकी तर फेसबुकै नभएकी सुकन्या खोज्न लगाएको ।” धनप्रसादले छोरासँग असहमति जताउँदै भन्यो ।

“आ ! बुबा पनि, अब के गर्ने त, जमानै यस्तै छ । पढेलेखेको तर फेसबुक नभएका केटा वा केटी खोज्नु त लोपोन्मुख तामे सालक खोजे जस्तै हो । कि त कुना कन्दरामा गएर पढ्दै नपढेकी कन्या खोज्नु पर्यो ! ” बुद्धिप्रसादले तर्क जतायो ।

“त्यसो भा ती तीन मध्ये तँलाई मनपरेकी कन्याको घर ठेगाना दे, म कन्याको बाउआमालाई भेट्छु ।” धनप्रसाद सहमत हुँदै बोले ।

धनप्रसाद कन्याको घरमा गए । कन्याको बिषयमा उनको बाआमासँग भलाकुसारी गरे । केटीका बाआमाले केटीलाई अगाडि बोलाए र धनप्रसादले सोधे, “के तिमी मेरो छोरो बुद्धिप्रसादलाई मन पराउँछ्यौ त ? फेसबुकमा अरु केटाहरुसँग प्रेम त छैन होला नि ?”

कन्याले भनिन्, “तपाईंको छोरासँग कसले बिहे गर्छ ? मलाई प्रेम गर्छु भनेर अरु दुई जना केटीहरुलाई पनि फेसबुकमा प्रेम गरेको मैले थाहा पाइसकेँ । यस्तो धोखेवाज नकचरोसँग बिहे गर्न मलाई बहुला कुकुरले टोकेको छ र ?”
मेरो लघुकथा फेसबुक ग्रुपबाट

Facebook Comments

अन्तिम अपडेट: २३ जेष्ठ २०७७, शुक्रबार १२:५०

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया