संसद्‍मा परराष्ट्रमन्त्रीको जवाफ– चीनसँग त भारतको वार्ता भयो, नेपालसँग नहुनुपर्ने कारण छैन

 २७ जेष्ठ २०७७, मंगलवार १७:५०   | न्यूज अफ टोखा

न्यूज अफ टोखा काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतसँगको सीमा विवादबारे वार्ताबाटै निकाश हुन्छ भन्ने विश्वासमा सरकारले अन्य विकल्पबारे नसोचेको बताएका छन् । सीमा विवाद समाधान गर्न छिटो वार्ता गरौं भनेर प्रस्ताव गरिएको उनले बताए ।

विनियोजन विधेयकमाथि सांसदहरूले उठएका प्रश्नको मंगलवार प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै मन्त्री ज्ञवालीले चीन र भारतबीच लद्दाखमा धकेलाधकेलको अवस्थालाई सामान्यकरणगरी वार्ता भएकोमा नेपालसँग नहुनुपर्ने कारण नभएको बताएका हुन् ।

‘हामी पनि अलिअलि अचम्मित पनि भएका छौं, त्यस्तो तनावको बीचमा झण्डै धकेलाधकेलको अवस्थालाई सामान्यीकरण गरी वार्ता हुन्छ भने नेपालसँग नहुनुपर्ने कारण छैन । छिटो गरौं भनेर निरन्तर ताकेता गरेका छौं । हामी आशावादी छौं, मलाई विश्वास छ, वार्ताबाटै निकास हुन्छ भनेर हामी अन्य विषयमा छलफल गरेका छौनौं,’ मन्त्री ज्ञवालीले भने, ‘बनाउन जरुरी छ जस्तो पनि लाग्दैन, किनभने हामीले कुनै अतिरिक्त भौगोलिक आकांक्षा पालेका होइनौं । एक प्रकारले भन्ने हो भने आफ्नै भू–भागमा हामीले हाम्रो हक कायम गर्न खोजेका हौं, सबै तथ्यहरूले यही कुरा भन्छन् ।’

मन्त्री ज्ञवालीले नोभेम्बर २ अगाडि छापिएको भारतीय नक्सामा लिम्पियाधुराबाट आएको नदीको नाम काली नदी थियो त्यही सीमा हो भन्ने तथ्यलाई भारतले नमान्नुपर्ने कारण नभएको बताए । ‘थोरै केही अप्ठ्यारा होलान्, छलफलमा कुरा गरौंला । ऐतिहासिक तथ्यलाई स्वीकार्नुभयो भने समस्या समाधान गर्न सकिन्छ,’ मन्त्री ज्ञवालीले भने ।

त्यसअघि नेपाली कांग्रेसका सांसद नारायण खड्काले अहिलेको अवस्थामा पनि शनिवार चीन र भारतबीच वार्ता भएको प्रसंग कोट्याउँदै नेपाल–भारत वार्ता कहिले हुन्छ भनेर प्रश्न गरेका थिए ।

‘भारत–चीनको सीमा क्षेत्र लद्दाखमा सम्बन्ध तनावपूर्ण भएको छ । दुवै देशले शनिवार वार्ता गरे । नेपाल–भारत सीमाको वार्ता कहिले हुने हो ? नेपालले कहिलेसम्म पर्खिन्छ ? वार्ताबाट भूमि फिर्ता गर्न नसके अरू विकल्प के छन् ?’ उनले भने ।

Facebook Comments

अन्तिम अपडेट: २७ जेष्ठ २०७७, मंगलवार १७:५०

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया