इचंगु नारायण

 २८ जेष्ठ २०७७, बुधबार १८:४३   | न्यूज अफ टोखा

काठमाडौ उपत्यकामा रहेका ४ प्रमुख नारायणहरु मध्ये एक मानिने यस पवित्र मन्दिर श्री इचंगु नारायण , स्वयम्भूबाट ३ कि.मि उत्तरपश्चिममा पर्दछ। पश्चिमा स्वामीको नामले पनि चिनिने इचंगु नारायणलाई उपत्यकाको पश्चिम दिशाको रक्षक मानिन्छ। यस मन्दिरको हालको स्वरुप १२ औं शताब्दिमा बनेको मानिन्छ भने यस स्थानमा ५ औं शताब्दीमा नै नारायणको स्थापना गरेको मानिन्छ।

काठमाडौ उपत्यकाका अरु प्राचीन मन्दिरहरु मध्ये यस मन्दिरको खासै चर्चा भएको पाइँदैन भने यो स्थान ओझेलमा परेको देखिन्छ। लिच्छविकालिन मानिने यस स्थानलाई वैष्णव सम्प्रदायको अति महत्वपुर्ण स्थलको रुपमा चिनिन्छ। यसको निर्माणको बारेमा यकिन मिति नभएता पनि नेवा: समुदायको अति नै महत्वपूर्ण र प्राचीन सम्पदा यात्रा ` दिपङ्खा यात्रा´ बेलामा पनि यस स्थानलाई समावेश गरि यहाँ पनि आउन पर्ने प्रचलन रहेकोले यस स्थान निकै प्राचीन हो भनी अनुमान सजिलै लगाउन सकिन्छ।

हरेक वर्ष ठूलो एकादशी अर्थात् हरिबोधनी एकादशी तथा हरिशयन एकादशीका बेला यहाँ बाक्लो भिड लाग्ने गर्दछ भने हरिबोधनी बेलामा ४ नारायणको यात्रा गर्ने परम्परा रहि आएको छ। चाँगु नारायण , विशंखु नारायण , शेष नारायण र इचंगु नारायण गरि ४ नारायणलाई उपत्यकाको प्रमुख नारायणहरु मानिन्छन्। यसै गरि, रोग लागेर धेरै टाढा हिंड्न नसक्ने, बच्चाहरु, र बुढा- बुढी मानिसहरुले पनि ४ नारायणको दर्शन गर्न सकोस् भनेर प्राचीन काठमाडौको भित्री बस्तीमा पनि ४ नारायण मन्दिरहरु स्थापना गरिएका छन्। ती मध्ये थायमदु टोलमा ( हाल बांगेमुढा) रहेको इखानारायण लाई इचंगु मानिन्छ । कार्तिक महिना नारायणको मनपर्ने महिना भएकोले ४ नारायण स्थानहरुमा प्राय: कार्तिक महिनाभरी नै मानिसहरु दर्शनका लागि जाने गर्दछन।

लेख : Frannkey Franz

Facebook Comments

अन्तिम अपडेट: २८ जेष्ठ २०७७, बुधबार १८:४३

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया