कृषकले मागेजति रासायनिक मल पाउन डेढ महिना कुर्नुपर्ने

 २९ जेष्ठ २०७७, बिहीबार २२:०३   | न्यूज अफ टोखा

काठमाडौं । देशभरका किसानहरू यतिबेला रासायनिक मलको अभाव झेलिरहेका छन् । मनसुनी वर्षा सुरु भइनसकेको र रोपाइँको मुखैमा आएपछि किसानहरू रासायनिक मल खोज्दै जिल्ला सदरमुकाम तथा नजिकको सहकारी पसलमा पुगेका छन् । तर घण्टौं‌ लाईन बस्दा पनि रासायनिक मल भने मागेजति पाउन सकेका छैनन् ।

मल अभाव चुलिँदै गएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लकडाउनका कारण रासायनिक मलको माग पूरा गर्न नसकिएको तर प्रयास जारी रहेको स्पष्टोक्ति दिएको छ । किसानलाई अनुदानमा मल वितरण गर्न समयमै खरिद प्रक्रियाअघि बढाइए पनि लकडाउने गर्दा समयमै मल ल्याउन नसकिएको मन्त्रालयको दाबी छ।

अघिल्लो वर्षको तुलनामा किसानले मागेजति मल पाउन अझै डेढ महिना लाग्ने कृषि सचिव राजेन्द्र प्रसाद भारीले जानकारी दिए ।

यस वर्षको वर्षे सिजन सुरु भएसँगै रासायनिक मलको मागमा अत्याधिक वृद्धि भएको मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट चार लाख ५० हजार मेट्रिक टन अनुदानित रासायनिक मल किसानलाई वितरण गर्ने कार्यक्रम भए पनि लकडाउनका कारण एक लाख मेट्रिक टन भारतको बन्दरगाहमा अड्किएको मन्त्रालयले जनाएको छ ।

चीन र खाडी मुलुकबाट नेपालमा आपूर्ति हुने रासायनिक मल भारतको कलकत्ता बन्दरगाह प्रयोग गरी नेपाल ल्याउने गरिएको र ती मुलुकहरू कोरोनाका कारण लकडाउन गरिँदा मलको आपूर्ति रोकिएको कृषि सचिव भारी बताउँछन् ।

‘कलकत्ता बन्दरगाहमा नेपालको मलब्यागिङ्ग र लोड/अनलोड गर्ने कार्य लकडाउनले बन्द हुँदा ५० हजार मेट्रिक टन मल एक महिना १५ दिनसम्म रोकियो,’ उनले भने । जेठको पहिलो हप्ता आइपुग्नुपर्ने मल भारतमा लकडाउन खुकुलो भएपछि आउने क्रम सुरु भएको पनि उनले बताए । यस्तै, गुजरातको कान्डला बन्दरगाहमा पनि २१ हजार ५ सय मेट्रिक टन युरिया मल एक महिना १५ दिनदेखि रोकिएको मन्त्रालयले जनाएको छ ।

कलकत्ता बन्दरगाह बन्द भएपछि मल कान्डला बन्दरगाहबाट नेपाल ल्याउन कृषि, परराष्ट्र र भारतस्थित नेपाली राजदूतावासमार्फत कूटनीतिक प्रयास गरिए पनि हालसम्म मल ल्याउन नसकिएको मन्त्रालयले जनाएको छ । असार दोश्रो साता नेपाल आइपुग्ने गरी ठेक्का प्रक्रिया पूरा भएको ५० हजार मेट्रिक टन युरिया मल पनि लकडाउनका कारण भर्खरै चलान हुने प्रक्रिया सुरु भएको मन्त्रालयले जनाएको छ।

उक्त परिमाणको मल भारतको कलकत्ता हुँदै नेपाल आइपुग्न अझै डेढ महिना लाग्न सक्ने मन्त्रालयको अनुमान छ । असार दोश्रो सातासम्म सबै परिमाणको मल आयात गरी किसानलाई वितरण गर्ने योजनाअनुसार सबै काम सके पनि लकडाउने ठूलो असर पारेको मन्त्रालयले जनाएको छ । गत वर्षभन्दा २५ हजार मेट्रिक टन मल बढी वितरण भए पनि बाँकी मल उपलब्ध गराउन लागि परिरहेको मन्त्रालयले जनाएको छ।

Facebook Comments

अन्तिम अपडेट: २९ जेष्ठ २०७७, बिहीबार २२:०३

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया