बन्दाबन्दी खुलेपछि दिल्लीमा मृतकको संख्या बढ्यो, चिहानघारी ७५ प्रतिशत भरियो

 १ असार २०७७, सोमबार १०:१८   | न्यूज अफ टोखा

न्यूज अफ टोखा

करीब ४५ एकडमा फैलिएको दिल्लीको ‘जदीद कब्रिस्तान अहले इस्लाम’ अर्थात चिहानघारीको पाँच विगाहा जमिन कोरोनाभाइरसबाट मृत्यु भएकाको लागि छुट्याइएको छ । तर, उक्त जमिनको ७५ प्रतिशत भाग भरिइसकेको छ ।

चिहानमा शव गाड्ने काम गर्ने मोहम्मद शमिमका अनुसार बन्दाबन्दी खुलेपछि दल्लीमा तीव्र गतिमा संक्रमितको मृत्यु भइरहेकाले बाँकी ठाउँ पनि चाँडै भरिनेछ । त्यसपछि चिहान व्यवस्थापन समितिलाई नयाँ जमीन खोज्नुपर्ने हुन्छ ।

उनका अनुसार बन्दाबन्दीको समयमा कोरोनाभाइरसबाट मृत्यु भएकाको दैनिक पाँचदेखि छ वटा शव आउँथे । तर अहिले दैनिक १२ देखि १५ वटा शव आउँछन् । बन्दाबन्दी खुलेपछि अन्य कारणले मृत्यु हुनेको संख्या पनि बढेको उनले बताए ।

अन्य कारणले मृत्यु भएकाको शव दैनिक १० देखि १२ वटा आइरहेको छ । तर, बन्दाबन्दीमा ६\७ वटा मात्र आउँथे । कोरोनाभाइर संक्रमणका कारण अन्य रोग लागेका बिरामीले राम्रो उपचार नपाउँदा मृतक बढेको हुनसम्ने उनको अनुमान छ ।

दिल्लीमा कोरोनाभाइरसबाट मृत्यु हुनेको शव गाड्न कामदारले शुरुमा अस्वीकार गरेका थिए । शमिम नै ती व्यक्ति हुन् जसले दिल्लीको पहिलो मृतकको शव गाडेका थिए ।

शमिम भन्छन्, “शुरुमा मैले पनि मानेको थिइनँ, संक्रमण सर्ला भन्ने डर थियो, तर डाक्टरले सम्झाएपछि तयार भएँ । किनभने सबैले काम नगर्ने हो भने यी शव कसले गाड्छ ? कसैले त गर्नैप¥यो नि ।” बन्दाबन्दीको दुई दिनपछि देखि उनले यहाँ शव गाडिरहेका छन् । अहिलेसम्म ३०० भन्दा बढी शव गाडिसकेका छन् ।

दिल्लीमा अहिलेसम्म १३ सय २७ जनाको मृत्यु भइसकेको छ । विगत २४ घन्टामा दुई हजार २२४ जना नयाँ संक्रमित भेटिएका छन् । यो एकै दिन भेटिएका अहिलेसम्मकै धेरै संक्रमित हुन् । विगत तीन दिनदेखि त्याँ दैनिक दुई हजारभन्दा बढी संक्रमित भेटिएका छन् ।

पछिल्लो तीन दिनमा दिल्लीमा २४२ जनाको मृत्यु भयो । पछिल्लो २४ घन्टामा ५६ जनाको मृत्यु भयो । गएको शुक्रबार मात्र १२९ जनाको मृत्यु भएको थियो । यो दिल्लीमा एकै दिन मृत्यु भएको अहिलेसम्मकै ठूलो संख्या हो ।

यो चिहानघारीमा बन्दाबन्दीअघि पुरानो दिल्लीका बासिन्दाले मात्र शव ल्याउँथे । तर, अहिले दिल्लीका अन्य क्षेत्रका शव पनि आउँछन् । कतिपय शव त मृत्युको चार वा पाँच दिनपछि मात्र आइपुग्छन् । कोरोना जाँचका रिपोर्ट ढिलो गरी आउनाले शव गाड्न पनि ढिलो भएको हो ।

दिल्लीका धेरै क्षेत्रका शव ल्याउँदा पनि यो चिहानघारी छिटै भरिएको शमिम बताउँछन् । अब नयाँ चिहानघारीका लागि जंगल मास्नु पर्नेहुन्छ । यो चिहानघारी बनाउन पनि पाँच विगाहाको जंगल फँडानी भएको थियो ।

मोहम्मद शमिमलाई अहिले शव गाड्दा गाड्दै आफैँ संक्रमित हुन्छु कि भन्ने डर छ । यदि संक्रमित भइहाले उपचारका लागि उनीसँग खर्च छैन । उनी भन्छन्, “मलाई केही भइहाल्यो भने स्कुल पढिरहेका मेरा चार छोरीको जिम्मेवारी कसले उठाउँछ ?”

उनको कामलाई ‘कोरोना योद्धा’ को सूचीमा राखिएको छैन । तर, उनको काम जोखिमपूर्ण र अति आवश्यक छ । उनी भन्छन्, “सबै ठाउँमा यो वेला काम गर्नेाई फूल बर्साइरहेका छन् । तर, फूल बर्साउन त परको कुरा मूलभूत आवश्यकता पनि कसैले पूरा गरिदिएको छैन । न मलाई छुट्टी छ, त त यो सुनसान ठाउँ र गर्मीमा पिउने पानी नै छ ।”-

Facebook Comments

अन्तिम अपडेट: १ असार २०७७, सोमबार १०:१८

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया