थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु, १९ जनाले जिते कोरोना

 ४ असार २०७७, बिहीबार १९:४४   | न्यूज अफ टोखा

न्यूज अफ टोखा, काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ६७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमितमा ८० महिला र ५९१ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको छ । 

संक्रमितमा भक्तपुर,डडलधुरा, कैलाली, कपिलबस्तु, काठमाडौं, नुवाकोट, रौतहट, रुपन्देही, सर्लाही, सिन्धुपाल्चोक, ललितपुर र महोत्तरी, सिन्धुली, पर्वत, चितवन, धनुषा, बागलुङ, मनाङ, नवलपरासी पूर्व, स्यांजालगायतका जिल्लाका रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो सँगै नेपालमा कूल संक्रमितकाे संख्या ७,८४८ पुगेकाे छ ।

यस्तै बिहीबारसम्म ११८६ जनाले कोरोना जितेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

थप दुईको मृत्यु

यसैबीच नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।  मन्त्रालयका अनुसार कैलालीको गोदावरी ४ का ४६ वर्षीय पुरुष र कैलालीकै लम्किचुहा २ का ४३ वर्षिया महिलाको कोरोनाका कारण मृत्यु भएको हो । 


दुबै जनाको उपचारका क्रममा मृत्यु भएको  प्रवक्ता डा. जागेश्वर गौतमले बताए । 
स्वास्थ्यमा समस्या आएपछि ती पुरुष कैलालीकै नवजीवन अस्पतालमा भर्ना भएका थिए । जेठ ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । उनको असार ३ गते बेलुकी निधन भएको हो । 


यस्तै लम्की चुहा नगरपालिकाकी महिलाको टाउकोमा चोट लागेपछि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो । जेठ ३१ गते भर्ना भएकी महिलाको असार २ गते सर्जरी गर्नुअघि नमुना संकलन गरिएको थियो । उनको असार २ गते नै मृत्यु भएको प्रवक्ता गौतमले बताए । भेरी अस्पतालमा भएको परीक्षणमा असार ३ गते कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

Facebook Comments

अन्तिम अपडेट: ४ असार २०७७, बिहीबार १९:४४

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया