खोकनाका किसान : आफ्नै खेत खनजोत गर्न पनि प्रहरीसँग घम्साघम्सी

 १६ असार २०७७, मंगलवार ०४:०५   | न्यूज अफ टोखा

काठमाडौं । अन्य जिल्लाका किसानहरु जस्तै ललितपुरको खोकनाबासी पनि सोमबार बिहानै खेतमा रोपाइँ गर्न निस्किए ।

सुडोल फाँटमा खेत जोत्ने, आली लगाउने, पानी लगाउने लगायतका काम सुरु गर्नै लाग्दा प्रहरीको टोलीले रोक्यो । प्रहरी र खोकनावासीबीच हाते ट्याक्टर खोसाखोस समेत भयो ।

स्थानीय कृष्ण डंगोल भन्छन्, ‘हामीले हाम्रो खेतमा खनजोत गर्दा प्रहरी आएर रोक्न खोज्यो ।’

किन रोक्यो प्रहरीले ?

सुडोल फाँट काठमाडौं–निजगढ जोड्ने फास्ट ट्र्याकमा पर्दछ । सुडोल फाँटलाई हाल फास्ट ट्र्याकको ‘जिरो किलोमिटर’ भनिन्छ । सो क्षेत्रको जग्गा सरकारले अधिग्रहण गरेको छ । त्यसैले खेतीपाती गर्न प्रहरीले रोक लगाएको हो ।

तर आफूहरुलाई विस्थापित गरेर फास्ट ट्र्याक बनाउन लागिएको भन्दै खोकनावासी सुरुदेखि नै विरोधमा छन् । स्थानीय कृष्ण डंगोल भन्छन्, ‘हामीले सरकारबाट मुआब्जा पनि लिएका छैनौं । तर, अधिग्रहण गरिएको जग्गा भएकाले खेतीपाती नगर्न भनेर प्रहरीले भनिरहेको छ ।’

डंगोलका अनुसार स्थानीयलाई सो क्षेत्रमा खेतीपाती गर्न नदिन करिब दुई दर्जन प्रहरी परिचालन गरिएको छ ।

डंगोलले खेतीपाती गर्न नपाए भोकभोकै पर्ने बताए । ‘खोकनामा फास्ट ट्र्याक मात्र होइन, पाँच–सात वटा अरु परियोजना पनि छन् । यी परियोजनाबाट हामीलाई पूर्णरुपमा विस्थापित गरिँदै छ’ उनी भन्छन्, ‘दुई–चार घरपरिवारको त यहाँबाट विस्थापित भएपछि अन्त बस्ने, खेती गर्ने जग्गा नै छैन ।’

डंगोलका अनुसार प्रहरीले रोक्न खोजे पनि स्थानीयवासीले आफ्नो काम जारी राखेका छन् ।

स्रोतः अनलाइन अबर डटकम

Facebook Comments

अन्तिम अपडेट: १६ असार २०७७, मंगलवार ०४:०५

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया