गुरुपूजा र वेदव्यास जयन्तीको महत्व

 २० असार २०७७, शनिबार १५:२६   | न्यूज अफ टोखा

गुरुपूजा र वेदव्यास जयन्तीको महत्व


त्रिचन्द्र प्रतीक्षा

‘‘गुरु व्रह्मा गुरु विष्णु गुरुदेवो महेश्वर ।
गुरु साक्षात् परव्रह्मा तस्मै श्रीगुरुवे नमः ।।’’

प्रस्तुत श्लोकले गुरुको महत्वलाई स्पष्ट गर्दछ । गुरुलाई ब्रह्मा, विष्णु । महेश्वरभन्दा उच्च कोटीको रुपमा लिने गरिन्छ । अतः गुरुको महिमा अपरम्पार छ । जुन कसैसँग तुलना हुनै सकिंदैन ।

हरेक महिना पूर्णिमा पर्ने भएकाले त्यसको छुट्टै महत्व छ । जसलाई विभिन्न धार्मिक एवं सांस्कृतिक चाडपर्वहरुका रुपमा मनाइन्छ, यस्तै ‘गुरु पूर्णिमा’ विशेषरुपमा महत्वका साथ मनाइन्छ, यस दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरिन्छ ।

ग–र–उ तीन अक्षरबाट गुरु बनेको हो । ‘ग’ बाट सिद्धिदायक ‘र’ दुष्कृत्य हरण र ‘उ’ बाट अव्यक्त विष्णु बुझिने कुरा विभिन्न स्रोतमा उल्लेख भएअनुरुप संस्कृत शब्द गुरुको शाब्दिक अर्थ ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश भन्ने हुन्छ । गुरु शब्दको विग्रह गर्दा ‘गिरति अज्ञानं इतिः गुरु’ अर्थात् अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हो । यसबाट पनि अन्धकाररुपी अज्ञानताबाट प्रकाशरुपी उज्यालोका लागि मार्गनिर्देश गर्ने व्यक्ति नै गुरु भन्ने बुझाउँछ ।

संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार वैदिककालदेखि नै गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइने यो दिन गुरुप्रति शिष्यले सम्मान प्रकट गर्ने महत्वपूर्ण दिन पनि हो । यस दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरुले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमाबुबा सरह मान्ने प्रचलन समेत रहेको उनले जानकारी गराए । 

गुरु पूर्णिमालाई व्यास पूजा पनि भनिन्छ भने अतः यो दिन व्यास जयन्तीको रुपमा समेत मनाइन्छ । यस दिनको सन्दर्भमा शास्त्रले भन्छ – द्वापर युगको अन्त्यतिर यही दिन पराशर ऋषि र मत्स्यगन्धाका पुत्रका रुपमा यमुना नदीको टापुमा व्यासको जन्म भएको भनिन्छ । विशेषतः नेपालीहरुको माझमा व्यासको जन्म बारेको प्रसङ्गमा दमौलीदेखि ८ कि.मि. पूर्व छाब्दी बराहको मन्दिरदेखि करिब ५० मिटर पश्चिम पट्टिको कुण्डमा व्यासकी माता सत्यवतीको जन्म भएको विश्वास कायम रहेको छ । माछाको रुपबाट जन्म भएकीले त्यस कुण्डको नाम मच्छे कुण्ड रहेको हो भनिन्छ । सत्यवती ६÷७ वर्षकी सानी बालिका छँदा घुम्दै फिर्दै दमौलीमा माझीहरुको डुङ्गा चलेको ठाउँमा पुगिछिन् र ती माझीहरुले यति सानी माया लाग्दी बालिकालाई देखेर घरमा लगी केही दिन पालेछन् । त्यतिबेला पराशर ऋषिको आश्रम पनि दमौली नजिकै रहेछ । घुम्दै फिर्दै एकदिन पराशर ऋषि र सत्यवतीको भेट भएछ । भेटको सिलसिलामा तत्काल पराशर ऋषिले ऋतुदान लेउ भनी सत्यवतीसँग अनुरोध गर्दा सत्यवतीले ‘म यति सानी बालिका, तपाईं जवान मानिससँग कसरी ऋतुदान लिने’ भन्दा पराशरले म तिमीलाई म जस्तै जवान बनाइदिन्छु भनी प्रतिज्ञा गरी सत्यवतीलाई आफूसमान बनाए पश्चात् ऋतुदानका लागि पराशरले अनुरोध गर्दा सत्यवतीले यस्तो चकमन्न घाममा यो कसरी सम्भव हुन्छ भनी सोधनी गर्दा पराशरले म कुहिरो उत्पन्न गरिदिन्छु भनेछन् र तत्कालै कुहिरो उत्पति हुन गई पराशर र सत्यवतीको सम्बन्ध भई उनै सत्यवतीले व्यासलाई जन्म दिएकी हुन् भन्ने विश्वास गरिन्छ । पछि आमाको पूजाको लागि व्यास ऋषिले दमौलीबाट पूर्व दिशामा छाब्दी बराहमा माछाको पूजाआजा चलाएको मानिन्छ । जुन आजसम्म पनि निरन्तर छ र महर्षि व्यासको जन्म तनहूँको दमौलीमा नै भएको भन्ने बलियो प्रमाणको रुपमा रहेको छ ।

यस्तै पराशर ऋषिले तपस्या गरेको गुफा र सोही गुफामा वेदव्यासको जन्म भएको वर्णन गण्डकी महात्म्यमा उल्लेख गरिएको कारणले पनि वेदव्यासको जन्म नेपालमै भएको भन्ने बलियो आधार मिल्छ । अर्को दमौलीको आसपासका क्षेत्रहरुमा व्यास खोला, व्यास हिमाल, व्यास आश्रम, व्यास गुफा हुनुले पनि थप पुष्टि गर्दछ । यस्तै दार्चुलामा व्यास हिमाल, व्यासगर्खा र व्यासगाउँ लगायत डोल्पामा व्यासगाड, व्यासाश्रम रहेको छ ।

वेदव्यासको जन्म सम्बन्धमा अनेकन कथा जोडिएको पाइन्छ यस्तै एक कथन यस्तो पाइन्छ,
तनहूँ जिल्लाको सेती र मादी नदीको बीचमा रहेको द्वीपमा जन्मेका हुनाले नै उनलाई कृष्ण द्वैपायन भनिन्छ । कृष्णवर्ण (कालो) को भएकोले व्यासको नाउँ कृष्णद्वैपायन भयो । यिनै कृष्ण द्वैपायनले योगसाधनाद्वारा दिव्यज्ञान प्राप्त गरी त्रिकालदर्शी बने ।

प्राचीनतम ग्रन्थहरु अहिलेका चार वेद प्रारम्भिक अवस्थामा एकै वेद थियो । यसको नीति–नियम र अध्ययन गर्न अत्यन्त कठिन तथा जटिल थियो । अतः एकै वेदलाई विषयअनुसार चार खण्डमा ऋग्वेद, यर्जुवेद, सामवेद र अथर्ववेद नामबाट वेदलाई चार भागमा विस्तार र सरलीकरण गरिदिएकाले उनी वेदका व्यास (विस्ता गर्ने) अर्थात् वेदव्यास नामले प्रसिद्ध भए । व्यासको अर्थ सम्पादक, लेखक हो । त्यसैले उनी वेदका व्यास भए । त्यसका साथसाथै अनादिपुराण पनि लुप्त हुने अवस्था भएकाले एकै पुराणलाई अठार पुराणमा विभाजन गरियो र वेदान्त, उपनिषद्लगायतका धार्मिक ग्रन्थ लेखि हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ ।

उनी एक अलौकिक तथा प्रतिभा सम्पन्न महापुरुष थिए । चार वेदपछिको पाँचौ वेद मानिएको महाभारत ग्रन्थ आजैका दिन पूर्ण पारेको मानिन्छ । पुराणहरु विस्तृत रुपमा नभएकाले कल्पभेदबाट चरित्रका विभिन्न भेदहरु पाइन्थे, अर्थात् विभिन्न कल्पअनुसार विभिन्न चरित्र छरपस्टिएका थिए, जसलाई बुझ्नलाई कठिन भएकाले व्यासले कल्पअनुसार एकमुस्ट बनाएर महाभारत रचना गरे । भनिन्छ– जहाँ वेदव्यासले निरन्तर भनिरहने र गणेशले कलम नरोकी लेखिरहने शर्त राखि लेख्न र भन्न शुरु गरिएको थियो । यसबारेमा एक भनाइरहेको पाइन्छ– गणेशले परशुरामसँगको लडाइँमा एउटा दाँत गुमाउनु भएको हो भन्ने विश्वास गरिन्छ । परशुराम विष्णुका अवतार हुन् । परशुरामको हातमा एउटा बन्चरो छ । कसैको भनाइ छ– गणेशले आफ्नो दाँत महर्षि व्यासको निर्देशनमा महाभारत लेख्न भाँचेका हुन् भन्ने पनि छ ।

व्याससम्बन्धी भारतमा कुनै पनि शिलालेख र प्राचीन मूर्ति आजसम्म पाइएको छैन । तर नेपालमा भने, लिच्छविकालीन राजा वसन्तदेवका पालामा अनुपरमले कुँदेको विश्वास गरिने हाँडीगाउँको सत्यनारायणको मन्दिरको प्राङ्गणमा अवस्थित गरुडध्वज स्तम्भ कुँदिएको अभिलेखको छुट्टै महत्व रहेको छ । करिब ७३ पंक्ति रहेको अभिलेखमा महर्षि द्वैपायनको स्तृति लेखिएको छ । यस अभिलेखमा अनुपरमले ब्रह्मसूत्रका बारेमा केही उल्लेख गरेको इतिहासविद् ज्ञानमणि नेपाल बताउँछन् । सो अभिलेखको अन्त्यमा ‘भगवतो द्वैपायनस्थ स्तोत्र कृतमनुपरमेण’ भनिएको छ भने सो अभिलेख वेदव्यासको उच्च र लालित्यपूर्ण स्तृति गरेको देखिन्छ । उता वसन्तदेवकालीन पाटनको खपिँछे टोलको अभिलेखबाट पनि व्यास नेपाली नै हुन् भन्ने प्रमाणित हुन्छ ।

वर्तमानमा विद्यालय, क्याम्पस लगायत शिक्षण संस्थामा अध्यापनरत सम्पूर्ण शिक्षकशिक्षिकालाई सो दिन विद्यार्थीहरुले भव्य कार्यक्रम आयोजना गरी गुरुका रुपमा सम्मान गर्ने प्रचलन रहिआएको छ । गुरु पूर्णिकाको अवसरमा गरिने पूजा कुनै व्यक्तिको पूजा होइन, ज्ञानको आदर र सम्मान हो तसर्थ गुरु र शिष्यको पवित्र सम्बन्धको रुपमा लिनु उपयुक्त ठहरिने छ ।

Facebook Comments

अन्तिम अपडेट: २० असार २०७७, शनिबार १५:२६

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया