२ सय प्रतिशत महँगोमा स्वास्थ्य सामग्री खरिद

 २१ असार २०७७, आईतवार १२:१४   | न्यूज अफ टोखा

२१ असार, जनकपुरधाम । विश्वव्यापी कोरोना (कोभिड–१९) महामारी व्यवस्थापन तथा नियन्त्रणका लागि खरिद गरिएको स्वास्थ्य सामग्रीमा व्यापक अनियमितता पाइएको छ। कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री खरिदमा सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत दुई सय प्रतिशत महँगो मोलमा सामान खरिद गरी अनियमितता गरेको पाइएको हो। केन्द्रले बजारमा खुद्रामा पाइने ३ हजार ५ सय पर्ने पीपीई सेट ६ हजार ५ सय, ५ हजार पर्ने आईआर थर्मामिटर ८ हजार, ३ सय सम्म पर्ने एन–९५ मास्क ५ सय, ७ रुपैयाँ पर्ने सर्जिकल मास्क १६ रुपैयाँ र १ सयदेखि बढीमा २ सय ५० सम्म उपलब्ध हुने सेनिटाइजर ५ सय रुपैयाँको दरले खरिद गरी अनियमितता गरेको पाइएको छ।

मन्त्रालयको वेबसाइटमा राखिएको विवरणमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले विभिन्न स्थानबाट सामान मगाएको हो। जसअनुसार काठमाडौंस्थित मेडी सोलुसन इन्टरनेसनल प्रालिबाट ६ हजार ५ सयका दरले साढे ६ हजार पीपीई सेटको ४ करोड २२ लाख ५० हजार परेको छ। आदित्य इन्टरनेसनल जनकपुरबाट ८ हजारको दरले ४ सय थान आईआर थर्मामिटरको ३२ लाख परेको छ। राइन सप्लायर्स जनकपुरबाट एन ९५ मास्क ५ सयको दरले २१ सय थान १० लाख ५ हजार परेको छ।

त्यस्तै, जेकेआरएस इम्पोर्ट एन्ड एक्सपोर्ट प्रालि काठमाडौंबाट १६ रुपैयाँको दरले ९० हजार थान सर्जिकल मास्क, १४ लाख ४० हजार र दुर्गा ट्रेड लिंक जनकपुरबाट ५ सय ९९ रुपैयाँको दरले १ हजार थान सेनिटाइजर ५ लाखमा गरी जम्मा ४ करोड ८४ लाख ९४ हजारको सामान खरीद गरेको छ।

तर मेडी सोलुसन इन्टरनेशनल प्रालिले आफूकहाँ पिपिई सेटको मोल १ हजार २ सयदेखि बढीमा ३ हजार ५ सयसम्मको रहेको जनाएको छ। प्रालिका एक अधिकृतका अनुसार यो दररेट भन्दा महँगो पीपीई हाल नेपालको कुनै पनि बजारमा उपलब्ध छैन। सोही पीपीई सेटको मोल जनकपुर बजारमा बढीमा ४ हजार ५ सय रुपैयाँसम्म पर्ने गरेको छ।

खरिद गरिएको सामग्रीमध्ये खुद्रा दररेटमा पीपीई र थर्मामिटर प्रति सेट ३ हजार, एन–९५ मास्कमा २ सय, सर्जिकल मास्कमा ९ रुपैयाँ र सेनिटाइजरमा २ सय ५० रुपैयाँ महंगो मोल निर्धारण गरिएको छ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खरिद गरेको ४ करोड ८४ लाख ९४ हजारको सामानमध्ये पीपीई सेटमा १ करोड ९५ लाख, थर्मामिटरमा १२ लाख, एन–९५ मास्कमा ४ लाख २० हजार, सर्जिकल मास्कमा ८ लाख १० हजार र सेनिटाइजरमा २ लाख ५० हजार गरी आपसी मिलेमतोमा २ करोड २१ लाख ८० हजार रुपैयाँ भ्रष्टाचार भएको पाइएको छ।

तर प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका जनस्वास्थ्य प्रशासक श्रवण कुमार नायकले प्रक्रिया पुर्‍याएर प्रतिस्पर्धाको आधारमा स्वास्थ्य सामग्री खरीद गरिएको दाबी गरे। उनले भने, ‘बजारमा धेरै क्वालिटीका सामान उपलब्ध छ तर हामीले डब्लूएचओले निर्धारण गरेको मापदण्ड अनुसारका सामान किनेका छौं, त्यसैले मूल्य बढी तिर्नुपरेको छ।’ सामानको क्वालिटी, भ्याट र ढुवानी लगायतको खर्च अन्य प्रदेशभन्दा कम मोलमा खरिद गरिएको उनको दावी छ। खबर अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।

Facebook Comments

अन्तिम अपडेट: २१ असार २०७७, आईतवार १२:१४

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया