जागौं – यो आफ्नै लागि हो !

 २४ असार २०७७, बुधबार २०:५१   | न्यूज अफ टोखा

जागौं – यो आफ्नै लागि हो !

बाबुलाल भण्डारी – टोखामा आजभोलि क्यान्सर र अरू गम्भीर रोगका बिरामी र मृत्युका घटना बढिरहेका छन् । यो हामी सबैका लागि चिन्ताको कुरो हो । आज टोखामा डाक्टरहरू, विशेषज्ञ चिकित्सक, वातावरण विज्ञहरू तथा सूक्ष्म जैविकी वेत्ताहरू समेत उत्पादन भइसकेका छन् । उनीहरू घरघर पुगेर शिक्षित गर्नु संभव हुँदैन र सबैलाई सम्झाउन सकिन्न पनि । त्यसैले समुदायमा स्वास्थ्य चेतना अझै राम्रो आइसकेको छैन । मान्छेहरूलाई अप्ठ्यारा रोग लागिसकेपछि उसले र परिवारले कस्ताकस्ता दुख र आपत भोग्नु पर्छ भन्ने कुरा भुक्तभोगीले मात्र जान्दछन् । नपरी कसैले चेत्दैन, परे पछि उम्किंदैन ! यही हो दुर्भाग्य र यस्तै हुँदै आइरहेको छ ! हाम्रो आफ्नै गल्तीले नै यस्तो भइरहेको त छैन ? सबैले सोच्नु पर्ने बेला भएको छ ।

टोखामा पहिले देखिनै पोलिथिन र प्लास्टिकलाई घरको छेउमा ल्याएर बाल्ने गरेको पाइन्छ । एउटा दुईवटा घरको नभएर यो सबैजसो घरधूरीको उहिले देखिकै चलन हो । यसरी बाल्दा हामीले फोहोर हटाएको र सरसफाइँ गरेको भन्ने ठानिराखेका हुन्छौं । बुढापाका मात्र नभएर पढेलेखेका मान्छेहरू समेत यसबारे त्यति सचेत र जानकार देखिन्नन् । अझ जाडो मौसममा त हाम्रा बालबच्चाहरू समेत त्यसरी बालिएको आगो तापेर पनि बस्ने गरेका भेटिन्छन् । हाम्रो ठूलो गल्ती यही हो । १/२ पटक जागरूक युवाहरूले पोलिथिन प्रयोग विरुद्ध चेतनामूलक कार्यक्रम चलाए पनि त्यस्ता कार्यक्रम दिगो बनेनन् र अझ प्लास्टिक बाल्नु डरलाग्दो रुपले हानिकारक हुन्छ भन्ने कुरो समाजलाई सायद पुग्नेगरी सिकाइएकै पनि छैन । तर अब यो बारे चेतना फैलाउन ढिलो गरिनु हुँदैन । प्लास्टिक बाल्दा के हुन्छ, थाह छ ? प्लास्टिकको धूवाँमा डाइ-अक्सिन, फ्युरान, मर्करी, बाइ फिनाइल र पोलिस्टरेन लगायतका अरू पनि अनेक डरलाग्दा ग्यास र रसायनहरू निस्किन्छन् । यिनीहरूले हाम्रो स्वास्थ्यमा खतरनाक तात्कालिन र दीर्घकालिन नोक्सानी गर्छन् । कुनैले तुरुन्तै मृत्यु समेत गराउन सक्छन् भने दीर्घकालिन रुपमा शरीरमा क्यान्सर ल्याउने, स्नायु प्रणालीमा क्षति गर्ने, स्वासप्रस्वासका रोग जन्माइदिने र थायराइड ग्रन्थीलाई असन्तुलित बनाइदिन सक्छन् । यिनीहरूले अरू पनि थुप्रो स्वास्थ्य समस्या जन्माउन सक्छन् जो भनिसाध्य छैनन् । हाम्रो शरीरलाई सोझै प्रभाव पार्ने कुरो त छँदैछ यी रसायन हाम्रा तरकारी, सागसब्जी, फलफूल र अन्नबालीमा पुगेर घुमाउरो तरीकाले पनि फेरि हामीलाई नोक्सान गर्न आइपुग्छन् । यसरी प्लास्टिक बालेर हामीले आफै र वरपरका अरू धेरैलाई जानेर नजानेर जोखिममा पारेका छौं । यही एउटै कुराबाट हामीले धेरै समस्या आफै निम्त्याइरहेका हुन्छौं र यही एउटा गलत काम बन्दगर्दा मात्रै पनि हामी धेरै डरलाग्दा रोगबाट वच्न सक्छौं । ती सबै ग्यास र रसायनहरू डरलाग्दा क्यान्सरकारक हुन् भन्ने कुरा थुप्रै वैज्ञानिक अनुसन्धानबाट प्रष्ट भइसकेको छ । तसर्थ टोखाका बासिन्दामा विभिन्न अंगमा हुने क्यान्सरका रोगको एउटा ठूलो कारण हामीले बाल्ने पोलिथिन र प्लास्टिक हुन सक्ने देखिन्छ ।

हामीले चाहेको पनि आफू, आफ्नो परिवार र समाजका सबै मान्छेको स्वास्थ र आरोग्य नै त हो । के हामी रोगी भएर दुख पाउन चाहन्छौं ? अवश्य चाहन्नौं । त्यसोभए घर छेउमा ल्याएर वा अन्यत्र पनि पोलिथिन, प्लास्टिक र रबर बाल्न बन्द गरौं र अरूलाई पनि यही कुरो सिकाऔं । हाम्रो गाउँ ठाउँमा जसले गरेपनि असर हामी सबैलाई गरिराखेको हुन्छ । फेरि यो कुनै गर्नै नसक्ने गाह्रो काम पनि त छैन ! पोलिथिनका झोला, पोलिथिन वा प्लास्टिकका प्याकेटमा आउने खानेकुराहरू नकिनौं । प्लास्टिकको प्रयोग नै नगरौं र प्रयोग नै नगरेपछि बाल्नु पर्ने अवस्थै पैदा हुन्न । यसो गर्दा हामी पनि बच्छौं , वातावरण पनि प्रदुषित हुन पाउँदैन । भोलि पछुताउनु भन्दा आजै सचेत हुनु बुद्धिमानी हैन र ? के हामी यति गर्न सक्दैनौं ?

Facebook Comments

अन्तिम अपडेट: २४ असार २०७७, बुधबार २०:५१

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया