साझाले साउन १ गतेदेखि बस चलाउने

 ३० असार २०७७, मंगलवार १९:२५   | सुबिन्द्र श्रेष्ठ

३० असार, काठमाडौं । काठमाडौं उपत्यकामा साउन १ गतेदेखि साझा यातायातका बस सञ्चालन गर्ने भएको छ ।

७१ वटा बस रहेको साझा यातायातले सरकारले अनुमति दिएका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै अहिले बस चल्नेछ । साझाले कोरोना भाइरसको सङ्क्रमणअघि लामो दुरीमा समेत सेवा दिँदै आएको  थियो ।  

अब साउन १ गतेदेखि बस चलाउने तयारी गरेको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । ‘अहिले सामान्य गाडी मर्मतको कामसँगै सुरक्षा सावधानीका विषयमा तयारी भइरहेको छ’, पाण्डेले भन्नुभयो, ‘यात्रु र कर्मचारीको सुरक्षाको विषयमा हामी संवेदनशील छौँ ।’ 

साझाले १ गते केही बस चलाउने र त्यसपछि अवस्था हेरेर गाडीको सङ्ख्या बढाउने उहाँले बताउनुभयो ।  

काठमाडौं उपत्यकामा सोमबारदेखि मयूर र संयुक्त यातायातका केही बस चल्न थालेका थिए । मयूर यातायातले सोमबारदेखि काठमाडौं उपत्यकाको चक्रपथ र चक्रपथ हुँदै काभ्रेको धुलिखेलसम्म सेवा दिन थालेको छ । 

मयूर यातायातले सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्डअनुसार गाडी चलाएको पनि जनाएको छ । ४०–४१ सिट क्षमताको बसमा सोमबार २० जना यात्रुलाई मात्रै राखेर यात्रा गराइएको श्रेष्ठले बताउनुभयो । 

यात्रुलाई मास्क लगाउन अनिवार्य गरिएको छ । ढोकामा स्यानिटाइजर पनि राखिएको छ । चालक र सहचालकले पञ्जा पनि लगाएको उहाँले बताउनुभयो ।

यस्तै सरकारको निर्णयअनुसार नै यात्रुबाट भाडा लिने गरेको पनि सञ्चालक श्रेष्ठले बताउनुभयो । सरकारले ५० प्रतिशतसम्म बढाएर भाडा लिन सकिने निर्णय गरेको छ । अहिले यात्रुबाट न्यूनतम भाडा २० रुपैयाँ लिने गरेको मयूर यातायातले जनाएको छ । 

सरकारले तोकेअनुसारको भाडा तिर्नु पर्ने, खुद्रा पैसा बोक्न यात्रुलाई आग्रह

कोभिड–१९ को सङ्क्रमणको कारण रोकिएका सार्वजनिक बस चलाउँदा भाडा ५० प्रतिशतसम्म बढी लिन सकिने व्यवस्था सरकारले गरेको छ । यही निर्णयअनुसार अब यात्रुले न्यूनतम १५ रुपैयाँको ठाउँमा २० रुपैयाँ या त्योभन्दा बढी पनि तिर्नुपर्ने हुन सक्छ । 

सार्वजनिक गाडी चलाइरहेका निजी कम्पनीले यही निर्णयलाई नै आधार मानेर भाडा लिन थालेका छन् । व्यवसायीले खुद्रा पैसा साथमा राख्न पनि यात्रुसँग आग्रह गरेका छन् ।

मास्क, पन्जा अनिवार्य लगाउनुपर्ने

सार्वजनिक बस चल्दा जोखिम बढ्न सक्ने भएकाले यात्रुलाई अनिवार्य मास्क, पन्जा र स्यानिटाइजरको प्रयोग गर्न यातायात कम्पनीले आग्रह गरेका छन् । स्वयं व्यक्ति आफै सचेत भए सङ्क्रमणको जोेखिम कम हुने भएकाले गाडी चढ्दा स्वास्थ्य मापदण्ड पालना गर्न कम्पनीले आग्रह गरेका हुन् । 

बसभित्र भौतिक दुरी कायम गरेर सिटमा बस्न, बेला बेलामा स्यानिटाइजरले हात सफा गर्न र मास्क तथा पन्जा लगाउन यातायात व्यवसायीको आग्रह छ । 

Facebook Comments

अन्तिम अपडेट: ३० असार २०७७, मंगलवार १९:२५

तपाईको प्रतिक्रिया