टोखामा सापारू अर्थात गाईजात्रा

 २० श्रावण २०७७, मंगलवार ०८:२९   | सुबिन्द्र श्रेष्ठ

सुबिन्द्र श्रेष्ठ । सापारु अर्थात गाईजात्रा नेपालमा मनाइने राष्ट्रिय सांस्कृतिक पर्व हो । यो पर्व नेवाः संस्कृतिबाट प्रारम्भ भएकाले खासगरी काठमाडौं उपत्यका र देशविदेशमा नेवारहरूको बसोबास भएका सहरहरूमा विशेष महत्त्वका साथ मनाइन्छ । नेवाः समुदायमा वर्षदिनभित्र दिवंगत पितृहरूको मुक्तिका लागि गाईजात्रा मनाउने लौकिक विधान छ । प्रत्येक वर्ष क्वातिपुन्हि (जनैपूर्णिमा)को भोलिपल्ट अर्थात् भाद्र कृष्णपक्ष प्रतिपदाका मनाउने यो पर्वलाई साया: (सायात) का पनि भन्ने गरिन्छ । आजको दिन दिवंगत भएका आफन्तहरुको सम्झनामा बालबालिकालाई प्रतोकात्मक रुपमा गाई वा अन्य केही रुप दिएर नगर घुमाउने चलन रहेको छ । नेपालभाषामा ‘सा’ भनेको गाई र ‘या:’ भनेको जात्रा हुन्छ । कालान्तरमा साया: (सापारु) गाईजात्राका रुपमा परिवर्तन हुँदै गएको देखिन्छ । 

गाईजात्रालाई नेपाल भाषामा ‘सापारु’ भनिन्छ । ‘सा’ भनेको ‘गाई’ र ‘पारु’ भनेको ‘प्रतिपदा तिथि’ हो । हिन्दु धर्ममा गाईलाई भुक्ति र मुक्ति प्रदायिनी देवीका रूपमा पूजा गरिन्छ । गरुड पुराण एवं पद्म पुराणमा उल्लेख भएअनुसार पृथ्वीलोकमा गाईयात्रा निकालेपछि यमलोकको ढोका खुल्ने विश्वास गरिन्छ । गाईजात्रामा गाईलाई नगरपरिक्रमा गराउनाले दिवंगत आफन्तले तिनै गाईको पुच्छर समाई बैतरणी नदी पार गर्न पाउँछन् र स्वर्गको मार्ग प्रशस्त हुन्छ भन्ने धार्मिक विश्वास छ । जात्रा मनाउने क्रममा पाएसम्म गाई र नपाएमा बालबालिकाहरूलाई सिँगारपटार गरी गाई तथा विभिन्न देवीदेवताको भेषमा नगरपरिक्रमा गराइन्छ । यस पर्वका दिन बिहानैदेखि काठमाडौँ उपत्यका तथा मुलुकका मुख्य सहरमा गाईजात्राका झाँकीहरू देख्न सकिन्छ।

ऐतिहासिक प्रमाणअनुसार मध्ययुगका राजा प्रताप मल्लले गाईजात्रा मनाउने चलन बसाएका हुन् । उनले पुत्रशोकले विह्वल आफ्नी रानीको मन शान्त पार्ने उद्देश्यले दुनियाँले आफ्नो जस्तै शोक बेहोर्नुपरेको यथार्थ देखाउन गाईजात्रा निकाली सहर परिक्रमा गर्न लगाएका थिए । गाईको भेषमा हरेक मृतकका आफन्तहरू घर–घरबाट निस्किएर जात्रामा सहभागी बनेको देखेपछि रानीको शोक केही कम भएको थियो । तर यतिले मात्र रानीको मन शान्त नभएपछि विभिन्न हास्य प्रहसन र व्यंग्यवाणसमेत प्रस्तुत गरी उनलाई हँसाउन सफल भएकाले राजाको आदेशबमोजिम त्यसैबेलादेखि हरेक वर्ष गाईजात्रा मनाउने चलन बसेको किंवदन्ती पाइन्छ। उसबेला राजप्रासाद रहेको हनुमानढोका क्षेत्रमा जात्रा प्रदर्शन गर्ने परम्परा अद्यापि छँदै छ।

टोखाका नेवाः समुदायले यस दिन दिवंगत पितृहरूको आत्माको मुक्ति तथा कल्याणको कामना गर्दै वर्षदिनभित्र दिवंगत भएका घरबाट गाईको मखुण्डो तथा सिङ्ग लगाएर गाईको रुप धारण गरी सामुहिक रुपमा सायाः नगर यात्रा / परिक्रममा गर्ने चलन रहँदै आएको छ ।

दिवंगत ब्यक्तिको परिवारको घरबाट सामुहिक नगरपरिक्रमाका लागि पठाउनु पुर्व (पुरोहित)आचार्यजुको विशेष निर्देशनमा विधिवत रुपमा मृत ब्यक्तिका घरका छोरी चेलिले पुर्जाआजा गरि बिदाई गरिन्छ । यसरी पूजा गर्दै गर्दा नगर यात्राका लागि धिम्ये र प्वं बाजाको टोलिले बाजा बजाएर लिन आउने गर्दछ ।

यसरी नगर यात्रा/परिक्रमा जाने पुरुषलाई जनि, हाकु पर्सिले कमरमा बेरी हातमा समाइ दिन्छ साथै हातमा लुसि (काठको विशेष प्रकारको बस्तु) समेत दिने गर्छ । दाँया हातको कुम्भबाट देव्रे तर्फ ढल्काएर केराको पातको माला लगाई दिने गर्छ । बाँसबाट बनाएको विशेष प्रकारको मखुण्डो शिरमा लगाइदिनछन् । उक्त मखुण्डोमा गाईको प्रतिमा भएको फोटो रहेको हुन्छ । यसरी शीरमा लगाउने क्रममा बर्खि अर्थात पुरै सेतो पहिरन धारी ब्यक्तिलाई सेतो पृष्ठभुमिमा कालो रङ्गले कोरिएको गाई र अन्यलाई रातो निलो रङ्गन फोटो लगाई दिएको हुन्छ । यसरी सायाः जान्दा सके घरका पुरुष सदस्य वा घरका पुरुष सदस्य नभएको खण्डमा आफन्त भए पनि अनिवार्य रुपमा जानु वा पठाउनै पर्ने प्रावधान रहेको छ ।

यसरी सायाः जान्दा साथमा बालकलाई सिँगारपटार गरी हातमा धुप समाउन लगाएकोहुन्छ । यीनिहरुका पछिपछि “उल ब्वय घझब्वय वने मत्यनि ला…हा ला..हा…” भन्दा विभिन्न सिँगारपटार गरेका टोलिहरु डोकोमा आफ्ना दिवंगत व्यक्तिको फोटो सहित हाँस्य प्रहसन गर्ने झाँकी रहेका हुन्छन् । यसरी सामुहिक रुपमा नगर यात्रामा निस्केकालाई दिवंगत भएका घरबाट विभिन्न खालका फलफुल रोटीलगायतका खानेकुरा दिने चलन रहेकव छ । दिवंगत व्यक्तिको घरबाट सायाः जान्दा छोराहरु गाईको प्रतिक कुनै एक बालक धुप बालि र अर्को उल ब्य जानै पर्नेछ ।

यसरी सायाः यात्रामा जान्दा थने र क्वनेबाट छुटाछुटै समूह धिम्मे र प्वं: बाजाको नेतृत्वमा नगरपरिक्रमा गर्ने गर्छन् । नगरपरिक्रमा पश्चात पुन घरभित्रिनुपुर्व सामुहिक नगरपरिक्रममा सरिक भएर फर्नेका व्यक्तिलाई विधिवत रुपमा पूजा गरिन्छ । शिरमा लागएको मुखुण्डो नजिकको मन्दिरमा लगेर चढाउनु पर्ने चलन समेत रहेको छ ।
यसरी सामुहिक रुपमा साः परिक्रमा टोलि अगाडी बढेसंगै त्यसको पछिपछि विभिन्न प्रहसन तथा झाँकीहरु निस्कने गर्छन् । उक्त झाँकीहरुमा समसामयी विकृति–विसंगतिलाई व्यंग्यात्मक प्रहसनमार्फत औंल्याएको हुन्छ । अनुहारमा कालो मोसो दलेका शरिरमा विभिन्न परहिरण लगाएका हुन्छन् ।

यता रोपाइँ जात्रा सापारूको भोलिपल्टको दिनको लागि बेलुका सपनतीर्थ धाँ बाजा खलको नेतृत्वमा साँगितक समूह सहितको विशेष झाँकी नास द्यः (नाट्यश्वरी मन्दिर) परिसरबाट प्रतोकात्मकरुपमा वाप्सा “धानको विउ” लगाएर आउने गर्छन ।
हायरे हाय जुजुकाजी रत्न….
बुँ पाःपि दाजु पिं बाँलक पाला ब्यु
जिउँसा मजिउँसा बाँलक पाला ब्यु
खापे दापि तताःपि बाँलक दाया ब्यु
जिउँसा मजिउँसा बाँलक दाया ब्यु
वाप्सा तपि दाजु बाँलाक तया ब्यु,
जिउँसा मजिउँसा बाँलक तया ब्यु
हायरे हाय जुजुकाजी रत्न….
मादलको तालमा लोकभाकामा सामुहित गीत गाउँदै झाँकी सहितको समूह नगर घुम्ने गर्दछ । यसरी अगाडि बढ्दा मूख्य मूख्य चोकमा एवंमरितले धानको विउँ राख्ने गर्दछ । यस झाँकीमा सहभागिहरु सबै पुरुषमात्र हुने गर्दछ । पुरुषहरुले नै महिलाको भेषधारी उनिहरुको हाउभाउमा देखा पर्छन् ।

कोहि कोदालो बोकेका, कोहि कुटो कसैले खमु (खर्पन) जुन खेतिपातिका प्रयोग गरिन्छ ति सब सामान देख्न पाउँछ । र तीनिहरुले त्यहि अनुसार आफ्नो अभिनय गर्ने गर्दछ त्यो पनि हास्य र व्यंग्य मिश्रित अभिनय जसले हेर्न दर्शकहरुलाई सकेसम्म हसाउने कोशिष गर्दछन् ।
यसरी लगाएको बीउ भोलि

हास्यकर्मीहरूले शोकसन्तप्त आफन्तजनलाई हँसाउने प्रयत्न गर्दछन् । यसरी गाईजात्रामा दिवंगत आत्माको मुक्ति तथा कल्याणको कामना एकातिर गरिन्छ भने अर्कातिर आफन्त गुमाउनुपर्दाको पीडा एवं शोकलाई बिर्सिएर पुनः कर्मयोगमा लाग्ने प्रेरणा पनि यस पर्वले दिने गर्दछ ।

Facebook Comments

अन्तिम अपडेट: २० श्रावण २०७७, मंगलवार ०८:२९

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया