दिवंगत आफन्तको सम्झनामा उपत्यकामा यसरी मनाइँदै सापारु

 २० श्रावण २०७७, मंगलवार ०४:०९   | न्यूज अफ टोखा

न्युज अफ टोखा | आज सापारु अर्थात गाईजात्रा । यो पर्व नेवाः संस्कृतिबाट प्रारम्भ भएकाले खासगरी काठमाडौं उपत्यका र देशविदेशमा नेवारहरूको बसोबास भएका सहरहरूमा विशेष महत्त्वका साथ मनाइन्छ । नेवाः समुदायमा वर्षदिनभित्र दिवंगत पितृहरूको मुक्तिका लागि गाईजात्रा मनाउने लौकिक विधान छ । प्रत्येक वर्ष क्वातिपुन्हि (जनैपूर्णिमा)को भोलिपल्ट अर्थात् भाद्र कृष्णपक्ष प्रतिपदाका दिन मनाउने यो पर्वलाई साया: (सायात) पनि भन्ने गरिन्छ । आजको दिन दिवंगत भएका आफन्तहरुको सम्झनामा बालबालिकालाई प्रतोकात्मक रुपमा गाई वा अन्य केही रुप दिएर नगर घुमाउने चलन रहेको छ । नेपालभाषामा ‘सा’ भनेको गाई र ‘या:’ भनेको जात्रा । कालान्तरमा साया: (सापारु) गाईजात्राका रुपमा परिवर्तन हुँदै गयो । 

काठमाडौं उपत्यकामा सापारुलाई विभिन्न किसिमले मनाउने गरिन्छ । काठमाडौंमा दिवंगतहरुको सम्झनामा बालबालिकाहरुलाई सिंगारेर गाई अंकित चित्र, मुकुन्डो, सिङ लगाएर नगर परिक्रममा गराउने गरिन्छ । त्यसक्रममा बालबालिकालाई फलफूल, रोटीलगायतका खानेकुरा दिने चलन रहेको छ ।

याता टोखामा दिवंगतहरुको सम्झनामा मृत व्यक्तिका छोराहरुलाई गाई अंकित चित्र मुकुन्डो, सिङ् लगाएर र बालकहरुलाई विभिन्न सिङ्गार गरेर धिम्येँ र प्वं बाजा सहित सामुहिक नगर यात्रा/परिक्रमा गराउने गरिन्छ । छोरा नभएमा आफन्त भएपनि अनिवार्यरुपमा सायाःमा पठाउनु पर्ने प्रावधान रहेको छ । यता सायाः संगै “उलः ब्वय घज ब्वय वनेमत्यनि लाह.. लाह..” भन्दै आफ्ना मृत व्यक्तिको तस्वीर सहित डोको बोकेर अनुहारमा कालोमोसो दलि विचित्रको भेषधारी झाँकीको समूह रहेको हुन्छ । त्यसक्रममा सहभागिहरुलाई फलफूल, रोटीलगायतका खानेकुरा दिने चलन रहेको छ । त्यसका साथै विभिन्न हास्यव्यंग्यात्मक “ख्याल” प्रहसनका झाँकीहरु निस्किने समेत गर्छ ।

बेलुकापख सपनतीर्थ धां बाजां खलको नेतृत्वमा ‘हायरे हाये जुजुकाजी रत्न… वाप्सा तपि दाजुपिं बाँलाक तया बिउ..’ लोकलयमा सामुहिक गीत गाउँदै प्रतिकात्मक रुपमा वाप्सा (धानको विउ) राखेर हाँस्य प्रहसन सहितको झाँकी नगर यात्रामा निसक्ने गर्छन् । भोलि पल्त अपह्रान भने नास द्यः (नाट्यश्वरी मन्दिर) परिसरबाट रोपाई जात्रा शुरु हुन्छ । यता कीर्तिपुरमा पनि व्यंग्यात्मक रुपमा सापारु मनाइने गरिन्छ ।

पाटनमा भने बालबालिकालाई देवीदेवताका रुपमा सजाएर नगर परिक्रमा गर्ने गरिन्छ। गाईजात्राको भोलिपल्ट मतया (दिपयात्रा) गरी मन्दिर, बहा: बही घुम्ने गरिन्छ । विभिन्न बाजा बजाउँदै व्यंग्य गर्दै मन्दिर र विहारहरुमा भोज चढाउँदै बिहानैबाट सुरु हुने मतमामा मानिसहरुले दिवंगत आत्माको शान्तिको कामना गर्ने गर्छन् ।

उपत्यकामा मनाइने सापारुमध्ये भक्तपुरमा मनाइने सापारुलाई आकर्षक मानिन्छ । यहाँ बालबालिकालाई सजाएर नगर परिक्रमा गराइँदैन । यहाँ भने ताहासां (ताहामचा) बनाएर नगर परिक्रमा गर्ने गरिन्छ। मृत व्यक्तिको सम्झनामा बाँसको चारखुट्टे खट बनाएर त्यसमा दिवंगत व्यक्तिको तस्विर र बसाहा राखेर जात्रा गर्ने चलन रहेको छ। विशेषगरी लट्ठी जुधाई सांगीतिक तालमा नाचिने ‘घिन्ताङ घिसी’ भक्तपुरको आकर्षण हो ।

मध्ययुगका राजा प्रताप मल्लले गाईजात्रा मनाउने चलन बसाएका हुन् । उनले पुत्रशोकले विह्वल आफ्नी रानीको मन शान्त पार्ने उद्देश्यले दुनियाँले आफ्नो जस्तै शोक बेहोर्नुपरेको यथार्थ देखाउन गाईजात्रा निकाली सहर परिक्रमा गर्न लगाएका थिए । गाईको भेषमा हरेक मृतकका आफन्तहरू घर–घरबाट निस्किएर जात्रामा सहभागी बनेको देखेपछि रानीको शोक केही कम भएको थियो । तर यतिले मात्र रानीको मन शान्त नभएपछि विभिन्न हास्य प्रहसन र व्यंग्यवाणसमेत प्रस्तुत गरी उनलाई हँसाउन सफल भएकाले राजाको आदेशबमोजिम त्यसैबेलादेखि हरेक वर्ष गाईजात्रा मनाउने चलन बसेको किंवदन्ती पाइन्छ।

Facebook Comments

अन्तिम अपडेट: २० श्रावण २०७७, मंगलवार ०४:०९

तपाईको प्रतिक्रिया