सपनतीर्थ मन्दिरको पुनः निर्माण शुरु

 २१ श्रावण २०७७, बुधबार १४:०५   | सुबिन्द्र श्रेष्ठ

टोखा । टोखाको सांस्कृतिक तथा धार्मिक स्थल सपनतीर्थ मन्दिरको पुन: निर्माण कार्य शुरू भएको छ । आज विहान शुभ साइटमा क्षमा पूजा गरी मन्दिर भत्काउन सुरु गरिएको हो ।

मन्दिर पुनः निर्माणका लागि सपनतीर्थ द्यः खलका जेष्ठ थकाली हिरालाल डंगोलले क्षमा पूजा गरेका थिए । उक्त क्षमा पुजा पश्चात सपनतीर्थ क्षेत्र विकास समितिका अध्यक्ष अष्ट नारायण डंगोलले मन्दिरको छट भत्काएर पुनः निर्माण कार्यको थल्नि गरेका हुन ।


मन्दिरको पुनः निर्माणका लागि टोखा नगरपालिकाले १ करोड ५८ लाख बजेट छुट्याएको भए पनि १ करोड ४ लाखमा उक्त मन्दिर पुनः निर्माणका लागि वर्षा निर्माण सेवा प्रा.लि.ले टेन्डर मार्फत ठेक्का पाएको टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलले बताउनु भयो ।


गत आर्थिक वर्षमा निर्वाचन क्षेत्र पूर्वाधार विकासले ८० लाख र टोखा नगरपालिकाले अपुग रकम थप गरी मन्दिरको पुनः निर्माणका लागि गृहकार्य भईरहँदा लकडाउका कारण समयमा नै काम सुरु हुन नसक्दा निर्वाचन क्षेत्र पूर्वाधार विकासले घोषणा गरिएको ८० लाख बजेट फिर्ता गए पछि हाल सम्पुर्ण लागत टोखा नगरपालिकाकै बजेटमा निर्माण कार्य हुने उप्रमुख ज्ञानमाया डंगोलले बताउनु भयो ।


पुरातत्व विभागको प्राविधिक सहयोगमा पुनः निर्माण हुनलागेको उक्त मन्दिर मौलिक कलात्मक ढाँचामा बन्ने सपनतीर्थ क्षेत्र विकास समितिका कोषाध्यक्ष देवराज डंगोलले जानकारी दिनुभयो ।

मन्दिरको पुनः निर्माण कार्य २०७८ बैशाख १५ गते सम्पन्न गरी हस्तान्तरण नगरपालिका र ठेक्का पाएका संस्था बीच लिखित सम्झौता भएको भनिए पनि बैशाख १ गते सपनतीर्थमा लाग्ने मेलालाई दृष्टिगत गरी चैत्र २० गतेसम्म निर्माण सम्मन्न गरी नगरपालिकालाई हस्तान्तरण गर्ने तयारीका साथ निर्माण कार्यलाई अगाडि बढाइने सपनतीर्थ क्षेत्र विकास समितिका अध्यक्ष अष्ट नारायण डंगोलले बताउनु भयो ।

उक्त क्षमा पुजामा टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोल, २ वडाका वडाअध्यक्ष दिपराज जोशी, टोखा सांस्कृतिक संरक्षण क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ, सपनतीर्थ क्षेत्र विकास समितिका पदाधिकारी,सपनतीर्थ द्यः खल, मन्दिर पुनः निर्माणको ठेक्का पाएका ठेकेदार लगायतको उपस्थिति रहेको थियो ।


Facebook Comments

अन्तिम अपडेट: २१ श्रावण २०७७, बुधबार १४:०५

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया