‘जनस्वास्थ्यको मापदण्ड पालना नगर्ने हो भने जति निषेधाज्ञा गरे पनि अर्थ छैन’

 ५ भाद्र २०७७, शुक्रबार १०:००   | न्यूज अफ टोखा

काठमाण्डाै – सरकारले जारी गरेको अहिलेको निषेधाज्ञाले केही हदसम्म सङ्क्रमण कम गर्न सक्छ । तर, दीर्घकालिन विकल्प भने यो हैन । मानिसहरुको आवतजावत ठप्पै हुँदा एक अर्काबीचको सम्पर्क हुने सम्भावना त कम हुन्छ, तर प्रश्न कहिलेसम्म त  भन्ने हो । हामी निषेधाज्ञा अन्त्य गर्नुपर्ने समयसम्म सुध्रिन्छौँ कि सुध्रिदैनौँ ?

योभन्दा पहिले पनि ४ महिनाभन्दा धेरै समय लकडाउनको सकस बेहोरेकै हो । लकडाउनको अवधिमा कुन पक्ष कमजोर भयो जसले खोल्नेबित्तिकै सङ्क्रमितको संख्या ह्वात्तै बढ्यो ? यस्तो खालको समिक्षा अलि राम्रो नभएको हो कि भन्ने मलाई लागेको छ ।

निषेधाज्ञा, लकडाउन या यस्तै खालको अरु कडाईहरु जति जे गरे पनि हाम्रो आचरण, बानीबेहोरा सही तरिकाले सुधारेनौँ भने, सरकारको स्पष्ट योजना भएन भने यसको कुनै अर्थ छैन । 

फेरि गल्ती दोहोर्‍याए निषेधाज्ञाको पनि अर्थ छैन 

निषेधाज्ञा गर्नुभन्दा पहिले नै आवश्यक योजनाहरु बनाईसकेको हुनुपर्थ्यो । त्यो योजना कुनै एउटा सङ्क्रमण प्रभावित क्षेत्रमा लागू गर्नुपर्ने थियो । सङ्क्रमित क्षेत्र पहिचान गरेर त्यो क्षेत्रमा कस्तो खालको रणनीति अपनाउनुपर्ने हो, तयारी गरेर अघि बढ्नुपर्ने थियो । तर त्यसो हुन सकेन । विना योजना सरकारले लकडाउन खोल्न हतार गरेकै हो । 

आवश्यक योजना बनाएर मात्रै लकडाउन खोलेको भए आज यो अवस्था आउने थिएन । अझै पनि निषेधाज्ञाको यो समयमा परीक्षणको दायरा बढाउनेलगायत विषयमा तदारुकता देखाउने र नागरिकले पनि आफ्ना कर्तव्य नभुल्ने हो भने यसको अर्थ रहन्छ । हैन भने, हचुवाको भरमा निषेधाज्ञा गर्ने र हचुवाकै भरमा एकैपटक सबैतिर छाडिदिने हो भने यसको कुनै अर्थ छैन । हाम्रो दुःख र कष्ट बालुवामा पानी हालेजस्तै अर्थहीन हुन्छ ।

लकडाउनको ३ महिनाको अवधिजस्तै गरी कमजोर भूमिका निर्वाह हुने हो भने जति लकडाउन र निशेधाज्ञा गरे पनि कोरोना भाइरसको सङ्क्रमण न्यूनिकरण गर्न सकिंदैन ।  त्यसैले अबको निषेधाज्ञालाई चाहिँ अर्थहीन बनाउने काम कसैले पनि नगरौँ ।

कोरोना भाइरस नयाँ भएकोले कतिपय कुराहरु हामीले सिक्दै अघि बढ्नुपर्ने हुन्छ । जानेर वा नजानेर गल्ती हुन्छ सबैबाट । तर गल्ती कहाँनिर हो समिक्षा गरेर अघि बढ्यौँ भनेर त्यसले केही महत्व राख्छ । हैन भने निषेधाज्ञा खोलेपछि फेरि त्यहि अवस्थामा पुग्न नसकिएला भन्न सकिन्न । कोरोनाको सङ्क्रमणदर फेरि उस्तैगरी नबढ्ला भन्न सकिन्न ।

निषेधाज्ञाको उपलब्धि कसरी हासिल गर्ने ?

निषेधाज्ञा गरेर कोही पनि ढुक्क भएर बस्न हुँदैन । सबैभन्दा पहिलो कुरा के उदेश्यले निषेधाज्ञा गर्न खोजिएको हो त्यो कुराको स्पष्ट हुनुपर्यो । कहाँनिर समस्या हो भनेर पहिचान गर्न सकियो भने त्यसैअनुसार योजना बनाउन सहज हुन्छ । योजना बनाएर मात्र पनि हुँदैन । त्यो अवधिभर कार्यान्वयनमा पनि जुट्नुपर्यो । त्यसको नतिजा कस्तो आउँछ हेरेर कमजोर पक्ष के के हो पहिल्याएर काम गर्नुपर्यो ।

यी कमजोर पक्ष तत्कालै सुधार्नुपर्छ

भारतमा अहिले पनि कोरोना सङ्क्रमित बढ्नेको संख्या उच्च छ । भारतीय सीमा नाका भएर अहिले पनि मान्छेहरु आईरहेका छन् । सीमा नाकाबाट प्रवेश गरेका मानिसहरु ठूला ठूला शहरमा पुगिरहेकै छन् । उनीहरु ओहोरदोहोर गरिरहेकै छन् ।

हामीले ३/४ महिना अथवा केही हप्ता जति दुःख गर्यौँ, जति मिहेनत गर्यौँ, तत्पश्चात निरन्तर ध्यान दिएनौँ भने हाम्रो दुःख त्यसै खेर जान्छ । हाम्रो उपलब्धि बालुवामा पानी हालेजस्तै हुनेछ । 

अर्को कुरा निषेधाज्ञा, लकडाउन जे जे भने पनि त्यो हुँदासम्म पनि सबैले स्वास्थ्यका मापदण्ड पालना नगर्ने, नियन्त्रण भैसकेपछि पनि आवश्यक विधिहरु नअपनाउने, चहलपहल केही हदसम्म खुल्यो भन्दैमा सबैजना एकैचोटी बाहिर निस्कने लगायत कमजोरीहरु हामीसँग छन् । यी कमजोरीहरुलाई हामीले जसरी हुन्छ सुधार्नै पर्छ । हैन भने हामीले गरेका दुःखहरु फेरि खेर जान सक्छ ।

एक हप्ताको निषेधाज्ञाले मात्रै कोरोनासँग लड्न सकिंदैन

​सरकारले भदौ १० गतेसम्म अर्थात १ हप्ताका लागि काठमाण्डौ उपत्यकामा निशेधाज्ञा लागू गरेको छ । तर यो अवधिको निषेधाज्ञाले मात्रै कोरोनासँग लड्न सकिंदैन । यसले केही हदसम्म कम गर्न मात्रै सकिने हो । सुरुमा गरिएको लकडाउनको अवधिमा धेरै नै फाइदा लिन सकिन्थ्यो । अहिले पनि कुनै योजना नै नबनाई अघि बढ्ने हो भने जति नै कडाई गरे पनि केही हुनेवाला छैन । अलि छिटो योजना बनाएर केही समय लकडाउन गर्यो भने अवस्था भयावह हुनबाट हामी बच्न सक्छौँ । 

योभन्दा पहिले पनि लकडाउनको समय थप्दै लगेको हो । अहिले पनि निषेधाज्ञा एक हप्ताका लागि भनिएको छ । एक हप्तामै उपलब्धि हासिल हुने सम्भावना म देख्दिनँ । जहाँसम्म लाग्छ, निषेधाज्ञाको समय पनि थप हुँदै जान सक्छ । तर, जति निषेधाज्ञा गरे पनि आनीबानी परिवर्तन गर्न सकेनौं भने अवस्था उस्तै हुन्छ ।

आचरण र आनिबानी सुधारौँ

हामीले हाम्रो आचरण र आनीबानी सुधारेनौं भने जति योजना कार्यान्वयनमा ल्याईए पनि त्यो अर्थहीन हुन सक्छ । जनस्वास्थ्यका मापदण्डहरु पनि पालना गरिरहेका छैनौं । कसरी हुन्छ हामी सतर्क भएर अघि बढ्नुपर्छ । अरुलाई दोष दिएर मात्रै हुँदैन । हामी हाम्रो आचरण र बानीबेहोरा सुधार्नतिर पनि लाग्नुपर्छ । सधैंभरी मापदण्ड पालना गर्न सम्भव पनि हुँदैन । यसको उपचार पद्धति पत्ता नलागेसम्म चाहिँ हामी सजग हुनै पर्छ ।

सरकारले तत्काल यी काम गर्नुपर्छ

समुदायमा कोरोना सङ्क्रमण छ कि छैन भन्ने बहस अहिले पनि छ । कतिपयले समुदायमा प्रवेश गरिसक्यो भन्न थालेका छन् भने कतिपयले चाहिँ यो अनुसन्धान गरेर मात्रै भन्नुपर्छ भनिरहेका छन् । वर्तमान अवस्था के छ, सरकारले त्यो तत्काल पत्ता लगाउनुपर्छ । यदि समुदायमा कोरोना फैलिएर पनि गैसकेको छ भने त्यति धेरै डराउनुपर्ने अवस्था नरहला ।

तर परीक्षण गर्दै गर्दा समुदायमा नपुगेको अथवा पुग्ने अवस्थामा छ भन्ने थाहा भयो भने त्यहाँ कसरी तयारी गर्ने, कति जनशक्ति चाहिएला, कति श्रोत साधन चाहिएला  भन्ने योजना सरकारसँग हुनै पर्छ । नियन्त्रणमा आईसकेपछि पनि अरु देशमा साम्य नभएसम्म हामी सतर्क रहेर नै काम गर्नुपर्ने हुन्छ । तत्कालका लागि भने अवस्था कुन चरणमा छ भनेर पत्ता लगाएर आवश्यक योजना बनाउन ढिला गर्नु हुन्न ।

(साभार उज्यालाे अनलाइन)

Facebook Comments

अन्तिम अपडेट: ५ भाद्र २०७७, शुक्रबार १०:००

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया