येँया: पुन्ही ( इन्द्रजात्रा)

 १४ भाद्र २०७७, आईतवार २२:४१   | सागर राज लवट

येँया: पुन्ही ( इन्द्रजात्रा)

न्यूज अफ टोखा

कला- संस्कृती, रितिरिवाज, परम्परा, जात्रापर्वहरुको धनी नेवा: समुदायले प्राय: हरेक पुर्णिमा तथा औंशीलाई कुनै न कुनै पर्वको रुपमा मनाउने गर्दछन्। यसै अनुरुप भाद्र शुक्ल पुर्णिमालाई येँया पुन्हिको रुपमा भव्य रुपमा मनाउने गरिन्छ। मुख्यगरी काठमाडौमा मनाइने यो पर्व नेपाल संवत् अनुसार यँलाथ्व द्वादशी देखि यँलागा चौथी तथा विक्रम संवत् अनुसार भाद्र शुक्ल द्वादशी देखी आश्विन कृष्ण चतुर्थीको दिन सम्म गरि ८ दिन मनाउने गरिन्छ। येँया पुन्हिको नामबाट प्रख्यात यसको अर्थ काठमाडौको जात्रा हुने पुर्णिमा हो। नेपालभाषामा `या´ को अर्थ जात्रा हो भने काठमाडौलाई येँ भनिन्छ। येँया पुन्हि खासमा विभिन्न जात्रा-पर्वहरुको एक समग्र रुप हो, यश भित्र विभिन्न सांस्कृतिक कार्यहरु रहेको पाइन्छ।

१. यसिं उठाउने र ढाल्ने 
हरेक वर्ष सम्बन्धित मानन्धर समुदायहरु गणेश चतुर्थी ( चथा:) को दुइदिन अगाडि हनुमानढोका दरबारमा उपस्थित भइ यसिं लिनको लागि वनप्रस्थान गर्ने परम्परा रहेको छ। काठमाडौबाट करिब २७ किमि पुर्वमा रहेको नाला स्थित चित्तापोलमा रहेको यसिं गुँ बाट रुख छानी विभिन्न प्रकृया पुर्याइ काठमाडौको भोटाहितीमा ल्याइन्छ। कुनै समय प्राचीन सहर छिर्ने ढोका रहेको स्थानमा राखिएको सो यसिंलाई रंगरोगन गरि कायाष्टमीको दिन भोटाहितिबाट बाजागाजा सहित भित्र्याइ हनुमानढोका दरबारमा लग्ने गरिन्छ।यसरी ल्याइएको यसिंलाई द्वादशीको दिन बिहान शुभ साइतमा मानन्धर समुदायले उठाएपछी काठमाडौमा येँया पर्व विधिवत रुपमा सुरु हुन्छ। यसिं ठड्याइसकेपछी यसको फेदमा सुनको जलप भएको इन्द्रको मुर्ती पनि राखिन्छ। यसलाई इन्द्रध्वजोत्थान पनि भन्ने गरिन्छ। यसरी ठडाइएको यसींलाई जात्राको अन्तिम दिन राती रथ तान्न सक्किएपछी साइत हेरी ढालेपछि बाग्मतीमा दागबत्ती दिएर सेलाउने गरिन्छ।


२. उपाकु जाने
हनुमानढोकामा यसिं उठाइसकेपछी सोहि दिन दिउँसोबाट उपाकु जाने गरिन्छ। यसलाई पाल्चा ब्यु वनेगु पनि भनिन्छ। सो वर्षभरी आफ्नो परिवारजनको मृत्यु भएको छ भने सो परिवारबाट काँचो माटोको दियोमा जौ, तिल, घिउ भएको बत्ती बाल्दै बाटोभरी हाल्दै भित्री सहर घुम्ने गरिन्छ। यसै दिन विभिन्न शक्तिपीठहरुमा समयबजी पनि हाल्ने गरिन्छ भने यसै दिनबाट लाखे, पुलुंकिसी र सवभकु नाचहरु पनि निकालिने गरिन्छ।


३. इन्द्रजात्रा र दागिं 
द्वादशीकै दिन विभिन्न स्थानमा अग्लो खट जस्तो तयार पारी दुबै हात फिजाएर बाँधिराखेको अवस्थामा रहेको इन्द्रको मुर्ती प्रदर्शनमा राखिन्छ। काठमाडौको प्रचलित किंवदन्ती अनुसार आफ्नो आमाको लागि पारिजातको फूल चोर्न मान्छेको भेषमा आएका इन्द्रलाई फूल र फलफूल चोर्दै गरेको अवस्थामा देखेपछी मालीले बाँधेर राखेको मानिन्छ। धेरै दिन सम्म पनि आफ्नो छोरा नफर्केपछी इन्द्रकी आमा आफै आफ्नो छोरा लिन आएका थिए। आफुहरुले बाँधेर राखेको इन्द्र भनेर थाहा पाएपछी क्षमा मागे, तर देवता नै भएपनी गल्तिको सजाय हुन पर्ने माग राखेपछी इन्द्रले वरदान माग भने। अन्नबाली अति महत्वपूर्ण भएकोले मानिसहरुले आफ्नो खेतिबाली र अन्न धान राम्ररी फलोस् भन्ने मागे र आफुहरु अमर तथा दिर्घायु रहोस भनी मागे। इन्द्रले म तिमिहरुलाई अरु ठाउँमा भन्दा चाडै हुस्सु र शीत दिन्छु जस्ले गर्दा धान चाडै पाक्नेछ भनी वरदान दिए। यसपछी इन्द्रकी आमाले अमर हुने वरदान दिन नसकिने तर सो वर्ष दिवंगत भएका आत्माहरुलाई स्वर्ग लगिदिने वचन दिएपछी हर्षोल्लासका साथ इन्द्रको जात्रा गरे र अन्त्यमा हालको यंकिदहबाट ( इन्द्रदह) स्वर्ग प्रस्थान गरेको कथा छ। यसै अनुसार हाल पनि रथजात्राको पहिलो दिन इन्द्रको आमाको रुपमा दागिं निकाल्ने परम्परा छ। दागिं निकालिसकेपछी, सो दिन व्रत बसेका बर्खी बसेकाहरु दागिंको पछि पछि सतबिज छर्दै सहर परिक्रमा गर्ने चलन रहेको छ। यसपछि जान सक्नेहरु दहचोक स्थित यंकिदहमा गइ रातभर जाग्राम बसि बिहान नुहाएर मेला भर्ने चलन पनि रहेको छ। दागिं घुमाउने सक्किएपछी भने बौ:मत: भनी बाँसमा मिलाएर लहरै बत्ती बालेर बनाएको एक किसिमको बत्तिलाई नगर घुमाउने गरिन्छ। यसलाई दागिंले बाटोमा कोहि छुटेको छ कि, अलपत्र भएको छ कि भनि फेरि हेर्न पठाएको भन्ने जनविश्वास रहि आएको पाइन्छ।


४. कुमारी जात्रा ( रथ जात्रा)
हनुमानढोकामा यसिं उठाएको दुइदिन पछि चतुर्दशीको दिन `क्वने या´ अर्थात् तल्लो भागको जात्रा मनाइन्छ। यस अवसरमा दरबार क्षेत्रमा रहेको प्रत्यक्ष देवी श्री कुमारी, तथा प्रत्यक्ष देवता श्री गणेश र श्री भैरवलाई रथमा राखी प्राचीन काठमाडौको तल्लो भेगमा चिकंमुगल, जोशीदेवल, लगन, ब्रम्हटोल, ह्युमत , कोहिती, भिमसेनस्थान हुँदै सहर घुमाउने गरिन्छ र अन्तिममा वसन्तपुर नै पुर्याएपछो सो दिनको जात्रा समापन गरिन्छ। यसै गरि भोलिपल्ट पुर्णिमाको दिन `थने या´ भनी फेरि श्रीगणेश, भैरव र कुमारीलाई रथमा राखी प्राचीन काठमाडौको माथिल्लो भेगमा प्याफल, नरदेवी, न्ह्यखा, असन, इन्द्रचोक हुँदै सहर घुमाउने गरिन्छ। यसपछीको चौथो दिनमा फेरि अन्तिम पटक `नानिचा या´ भनी नरदेवी, किलागल, भ्याचाद्य, इन्द्रचोक हुँदै मध्यभागको परिक्रमा गराइ यो जात्रा समापन गरिन्छ। येँयाको अवसरमा कुमारी जात्रा चलाउने श्रेय जय प्रकाश मल्ललाई जान्छ।


५. मजिपा लाखे आजु र झ्यालिंचा 
येँया पर्वको अविधी भरी काठमाडौमा प्रख्यात मजिपा लाखे नचाउने गरिन्छ। मजिपा लाखेलाई शान्त भैरवको रुपमा पनि पुज्ने गरिन्छ भने मजिपा टोलको लाखे ननिमा लाखे आजुको घर रहेको छ। नेपाल संवतको यँला महिनामा निस्किने एक मात्र लाखे भएकोले यँला लाखेको नामले पनि चिनिन्छ। प्रचलित किंवदन्ती अनुसार लाखे आजु, एक राक्षस थिए र उनी श्री तलेजु भवानीसँगै काठमाडौ आएका थिए। रातो कपाल भएको, ठूला ठूला आँखा, रातो अनुहार, दाह्रा भएको, ठूलो शरीर भएको, कम्मरमा घंगला बाँधेको हेर्दै डरलाग्दो रुपमा रहेको लाखे श्री तलेजु भवानीको सुरक्षार्थका निम्ति सँगै आएका थिए। आफ्नो भोजनमा अण्डा र मासु असाध्यै मनपराउने र नभइ नहुने भएका उनलाई मानिसले राक्षस भन्दा रिसाउने डरले ला ( मासु) ,खें (अण्डा) भनी लाखे नाम दिए। मजिपा लाखे आजुलाई इन्द्रजात्रा बेलामा नै निकालिने भएता पनि लाखेको इन्द्रजात्रासँग कुनै सम्बन्ध रहेको पाइन्न, संयोगले तिथि त्यही बेला परेको मानिन्छ।लाखे आजुलाई सबैभन्दा पहिला उपाकु जाने दिन निकाल्ने गरिन्छ। दोबाटो तथा चौबाटोमा बसिरहेका भूतप्रेत, पिसाचहरुले बत्ती बाल्न हिँडेका मृतकका परिवारलाई दु:ख देलान् कि भनी बाजाको तालमा घंघलाको आवाज निकाल्दै लाखे आजु पनि उपाकु जानेहरुसँगै नगर परिक्रमा गर्ने गर्दछन्। यसरी परिक्रमा गरिसकेपछी अन्तिममा ज्यापू समुदायका गुठियारहरुले पानी पिलाएपछी लाखे आजुलाई घरमा भित्र्याउने चलन रहेको छ। कथन अनुसार कुनै समय श्री लाखे आजुलाई ज्यापू समुदायले संचालन गर्दथे र तकती अजिमाको जात्रा रञ्जितकार समुदायले संचालन गर्दथे तर कुनै कालखण्डमा यी दुई समुदायका गुठियारहरु बीच साटासाट भएको थियो। यसैको प्रमाणको रुपमा लाखे आजुलाई ज्यापू गुठियारहरुले पानी पिलाएपछी मात्र भित्र्याउने चलन रहेको छ भने पहाँचर्‍हे बेला तकती अजिमाको जात्रा हुँदा यी दुई गुठियारहरुबीछ चिलाग साट्ने परम्परा रहि आएको छ। हाल भने मजिपा टोलमा ज्यापू समुदायका मानिसहरुको बसोबास कम हुँदै गएकोले लाखे आजुलाई पानी पिलाउने परम्परा लोप हुँदै गएको छ। लाखे आजुलाई नगर प्रवेश गराउँदा बालबच्चा नखाने, दु:ख कष्ट नदिने र लोकको कल्याण गर्ने भनी वाचा बाँधी तान्त्रिक विधिबाट प्रवेश गराएको मानिन्छ। एकपल्ट यहाँका मानिसले लाखेले आफ्नो वचन कत्तिको निभाउँछ भनी हेर्न लाखे आजु सुतिरहेको समयमा एक झेल्ला बच्चालाई जिस्क्याउन पठाउँछ। आफू निन्द्राबाट बिउँझिदा आफूलाई एक सानो बालकले गिज्याइरहेको देखेर लाखे आजुलाई साह्रै रिस उठ्छ तर पनि त्यस बालकलाई केही हानी नगरी खेदेर पठाउँछ। यो देखेर लोकले लाखे आजुलाई शान्त भैरवको रुपमा पुजेको किंवदन्ती रहेको पाइन्छ। हाल पनि लाखे आजुको अगाडि एउटा सानो बालकलाई झ्यालिंचाको रुपमा प्रस्तुत गरि रमाइलो नाच नचाउने गरिन्छ।


६. पुलुंकिसी नाच
येँया पर्वको अर्को रमाइलो पक्ष भनेको किलागलको पुलुंकिसी नाच हो। इन्द्रको वाहन एरावत हात्तीको प्रतिकको रुपमा पुजिने पुलुंकिसीको शरीर बाँसको चोयाबाट(पुलु) बुनेर बनाइन्छ भने अग्रभागमा रहने टाउको माटोको हुने गर्दछ। यसै पुलु भित्र २ जना मान्छे बसेर बाजाको तालमा यताउती दौडाउँदै नचाउने पुलुंकिसी नाच हेर्न साह्रै रमाइलो हुने गर्दछ। किंवदन्ती अनुसार धेरै दिन सम्म इन्द्र स्वर्गमा फर्केर नआएपछी उनका आमाले एरावतलाई इन्द्र खोज्न पठाएका थिए। हत्तारिँदै आफ्नो मालिक खोज्न हिँडेका एरावत मानिसहरु हिँड्डुल गर्ने सहरका बाटो-बाटोमा दौडिदै, इन्द्रलाई खोज्न थाले तर जमिन सतहबाट माथी उठाएर बाँधेर राखेका इन्द्रलाई एरावतले चिन्न सकेनन्। बाटोमा मानिसलाई अफ्ठ्यारो हुने गरि हात्ती दौडेको देखि सबैजना मिलि बल्लतल्ल हात्तीलाई पनि नियन्त्रणमा लिइ बाँधेर राखे ! एरावत हात्ती दौडिदै हिँडेको प्रतिकको रुपमा अहिले पनि पुलुंकिसिलाई हुलको बिचमा बेतोडले दौडाउने गरिन्छ।


यस बाहेक येँया पर्वमा किलागलबाट दि प्याखँ ( देवी नाच), हलचोकबाट सवभकु ( हलचोक आकाश भैरव नाच) र भक्तपुरबाट महाकाली नाच पनि प्रदर्शन गर्ने गरिन्छ।यसै बेला वसन्तपुरको त्रैलोक्य नारायण मन्दिरको डबलीमा विष्णुको दशावतार पनि देखाउने गरिन्छ। साथै यसै बेला श्री आकाश भैरव र बाकादेय् आजुलाई मन्दिरबाट बाहिर निकाल्ने गरिन्छ। हनुमानढोकामा पनि वर्षभरी प्राय: बन्द रहने श्वेत भैरवको सबै आँखीझ्याल निकाली विशाल मुर्ती सर्वसाधारणलाई दर्शनको लागि खुला गरिन्छ। येँयाको यहि अवसरमा हाथा हायेकेगु भनी आकाश भैरव, तथा श्वेत भैरवको मुखमा जडिएको नलिबाट जाड तथा रक्सि बगाउने गरिन्छ भने यसलाई प्रसादको रुपमा ग्रहण गरिन्छ। येँया पुन्हिको रात भने घरघर तथा बहालमा गइ लोकभाकामा गीत गाउँदै समयबजी माग्ने चलन रहि आएको छ तर हाल भने यो प्रचलन लोप हुने अवस्थामा रहेको पाइन्छ।

यसरी येँया पुन्हिको नामले चिनिने यस पर्वमा एक मात्र नभइ अनेकौं विभिन्न सांस्कृतिक पक्ष तथा पर्वहरु एकैसाथ मनाइने गरिन्छ। सायद यसरी नै विभिन्न पर्वहरु एकैसाथ भव्यताका साथ काठमाडौमा मनाइने भएकोले नै यसलाई काठमाडौको जात्रा भनी येँया भनिएको होला !!!

( यहाँ प्रस्तुत गरिएको मजिपा लाखे आजुको कथा, श्री लाखे आजु जात्रा व्यवस्थापन समितिबाट प्राप्त भएको हो !)

लेखक : Frannkey Franz

Facebook Comments

अन्तिम अपडेट: १४ भाद्र २०७७, आईतवार २२:४१

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया