बुंगःद्यो जात्राले निम्त्याएको सकारात्मक सोच

 १८ भाद्र २०७७, बिहीबार २३:१८   | न्यूज अफ टोखा

बुंगःद्यो जात्राले निम्त्याएको सकारात्मक सोच

न्यूज अफ टोखा

परम्परा अनुसार बुंगद्यो जात्रा थालनीकालागि टंग:बहा:बाट जट्टाधारी लोकेश्वर – चाक्वाद्यो (मिननाथ) को रथ पुल्चोक सम्म पुर्याइने र गा:बहा: सम्म यीनकै पछि बुंगद्यो रथ तानिने परम्परा रहेको छ । जनचाहना र जात्राबारे राज्यले सुनुवाई नगरेको आक्रोश स्वरूप आज स्थानीयहरुले मछिन्द्रनाथ रथ तान्दै गर्दा यता मिननाथको रथ पनि मंगलबजार पुर्याइएको अवस्था छ । उता प्रशासनले निषेधाज्ञा तोडिएको भन्दै स्थिति नियन्त्रणमा लिनकालागि पानीको फिहोरा र अश्रुग्यास प्रहार गरेका थिए भने स्थानीयहरु थप आक्रोशित हुंदै नाराबाजी गारिरहेका थिए । स्थिति नियन्त्रणकालागि ललितपुरमा भोलि ललितपुरमा बिहान ४ बजेदेखि राती १० बजेसम्म कर्फ्यु आदेश जारी भएको स्थिति छ ।

सम्भवत: नेपालको इतिहासमा पहिलो पटक ललितपुरको बुंग:द्यो (मछिन्द्रनाथ) जात्रालाई लिएर आजका दिन राज्य र जनताबीच स्थिति तनावपूर्ण भएको छ ।

यस अगाडी भिन्नै प्रसंगमा बिगतमा संस्कृति संरक्षणका सवालमा काठमाडौंको इन्द्रजात्रामा राज्यको हस्तक्षेपबिरुद्ध पनि नभएका होइनन । यस बिषयमा उत्पन्न अवस्थाको चिन्तनसंग जोडिएर बिशेषत: जात्रा सम्बन्धि सकारात्मक दिशाउन्मुख हुने यो लेखको उद्देश्य रहने छ ।

रथयात्रा अवरोधका दुई महत्वपूर्ण इतिहास

युगौंदेखिको स्थानिय संस्कृतिलाइ थप परिमार्जित गर्दै मल्लकालीन समयमा स्थापित हालको मछिन्द्रनाथको रथयात्राबारे सो समयमा राजकीय शोक भएपनि बाजासहित यो जात्रा संचालन गर्न दिइएको पाइन्छ भने राज्यको प्रमुख प्रत्यक्षदर्शी भएको इतिहास रहेका छन । बिभिन्न समयको इतिहासको अभिलेखमा यो जात्राकै माध्यमले स्थानिय र राज्यको सम्बन्ध यसलाई सांस्कृतिक रूपमा प्रगाढ बनाइएको पाईन्छ । शाहकालिन र राणाकालीन समयमा पनि प्रतिनिधिमूलक राजकीय सहभागिता रहेको र पछिल्लोकालमा भोटोजात्रामा राजा हुंदै राष्ट्रप्रमुखको सहभागिता हुने यो जात्रा सम्पन्न गर्नाले देशमा सहकाल कायम रहने जन आस्था रहेको छ ।

अनिकाल भोगिरहेको तत्कालिन जनताको समस्या समाधान गर्न राजा नरेन्द्रदेवको स्वंय आचार्य बन्धुदत्त र रथंचक्र ज्यापूको पहलमा ल्याईएको सहकाल देवताको रूपमा बुंगद्योलाई पूजिन्छ । कालान्तरमा जात्रामा बौद्ध, बैष्णव, शाक्त, सनातन र हिन्दु सबै धर्मावलम्बिहरुको एकताको प्रतिक बनेको यो जात्रा अवरुद्ध भएको यो प्रथम पटक पनि होईन ।

इतिहासमा पटक पटक रथयात्रामा अवरोध आएको भएपनि जात्रा सम्पन्न गरि बुंगमति पुर्याइएको पाइन्छ । सन १८७५ मा पाटन दरवार क्षेत्र नजिकै पुग्दा रथ दुइ टुक्रा भै भांचेको र दुई शाहकालिन राजाहरुको देहावसानले १३ दिने राजशोकका कारण रथयात्रा दुइपटक स्थगन गरिएपनि श्रावण चतुर्थीमा मात्र बुंगमति लगिएको पाइन्छ । पछिल्लो पटक २०७२ सालमा १२ वर्षको जात्रा परेका कारण बुंगमति देखि रथयात्रा गरिएको थियो । बैशाख ६ गते रथारोहण गरि ९ गते यात्रा शुरु भएकोमा १२ गतेको महाभूकम्पका कारण छ्यासिकोटमा रोकिएको रथ पुन: निर्माण गरि असोज ४ गते रथारोहण र ५ गते जात्रा शुरु भएको ताजा इतिहास हाम्रो सामु छ । सो वर्ष असोज २४ मा जावलाखेल र कार्तिक १ गते बुंगमतिमा सम्पन्न भोटोजात्रा नै अत्याधिक ढीलो सम्पन्न जात्राका रूपमा रहेको छ ।

यस पटकको स्थानिय आक्रोशको कारण र सम्भावित समाधन

यस वर्षको जात्रा सम्बधित कार्यहरु कोभिड १९ का कारण प्रभावित भएको सारा नेपालीहरु अवगत छन । नेपालमा चैत्र ११ गतेदेखि शुरु गरिएको लकडाउन जेठ २९ गते खुकुलो गरियो । तत्पश्चात संक्रमण बढेको पाईएपछि भदौ ३ गतेदेखि लागू गरिएको निषेधाज्ञा अझै जारी छ ।

तर यो जात्रा सम्बन्धित कार्यमा रथनिर्माणकालागि आवश्यक सामाग्री जुटिसकेका थिए । रथनिर्माण कार्य पनि भयो जसमा राज्य वा प्रशासनका तर्फबाट हालको अवस्थामा नगर्न पत्राचार वा कुनै अवरोध पनि भएन । महास्नान कार्य परम्परा अनुसार गत २०७६ चैत्र २७ गते बैशाख कृष्णपक्ष प्रतिपदा तिथिमा सुसम्पन्न भएको थियो ।
त्यसपछि २०७७ बैशाख १२ गते बैशाख शुल्कपक्ष प्रतिपदाका दिन ललितपुर पुल्चोकमा रथारोहण कार्य भएपछि रथयात्रा आरम्भ हुनुपर्नेमा लकडाउनका कारण सो कार्य २०७७ श्रावण १० गते सम्पन्न गर्ने भनि सरोकारवालाहरुको बैठक ललितपुर महानगरपालिका बैठक हलमा प्रमुख चिरिबाबु समेतको सहमतिमा बसेर निर्णय गरिएको थियो । सो अनुसार नै लकडाउन अवस्थाबीच रथारोहण पनि गरिएको थियो ।

परम्परा अनुसार रथारोहणको चौथौं दिनदेखि रथयात्रा शुरु हुनुपर्नेमा लम्बिएको लकडाउनका कारण पुन: स्थगित भएपछि रातो मच्छिन्द्रनाथका मूल पुजारी, बाराही नाईके, यंँवा:, घकू नाईके, घकू र ज्योतिषीहरुको श्रावण २६ गते बसेको बैठकले धार्मिक, सांस्कृतिक रुपमा नगरी नहुने पुजाआजा गरी रथयात्रा अघि बढाउने निर्णय गरेको थियो । यस सम्बन्धि मूल निर्णयको आधार भनेको रथ निर्माण र रथारोहण भैसकेपछि स्थानिय कर्फ्यू जारी गर्दै सानिटाइजर, मास्क लगायतका सुरक्षा उपाय लगाएर भएपनि जात्रा गर्नुपर्ने अनुरोध गर्दै राष्ट्रपति कार्यालयमा समेत पत्राचार गरिएको थियो ।

यस बिषयमा सम्बन्धित निकाय, स्थानिय तह र प्रशासनका तर्फबाट स्पष्ट कुरा नआएपछि जात्रा गर्नुपर्ने र कोभिड महामारी अवस्थाको कारण अन्य उपाय गर्नुपर्छ भन्ने जनताबीच दुइ धारमा आएको मतले बिशेषत: नेवा: समुदायको एकता अनि संस्कृतिमा प्रहार तथा बिभाजनको प्रयासका रूपमा पनि अभिब्यक्ति आउन थाले । यस वर्ष कार्तिकमा मोहनि बडा दशैं पनि रहेकाले मलमास शुरु हुन अगावै जात्रा सम्पन्न गरि बुंगमति लग्नुपर्ने मान्यता अनुसार समय घर्किंदै थियो भने जनतामा धैर्यताको सीमा पनि बिग्रंदो थियो । यस सम्बन्धमा रथयात्राका प्रत्येक्ष सरोकारवाला र गुथि संस्थानबीच आज भाद्र १८ गते निर्णायक बैठक हुने भनिएकोमा समय परिवर्तनको समेत कुरा आएपछि निर्णयकालागि दबाब दिन भनि पुल्चोक पुगेका स्थानियहरुले नै रथ तान्न थाले । त्यसपछि निषेधाज्ञा तोडिएको कारण प्रहरीले पानीफोहोराले भीड नियन्त्रण गर्न खोज्दा आक्रोशित जनताले ढुंगामुढा गर्दै प्रतिकार गरेका थिए भने प्रहरीले अश्रुग्यास र लाठीचार्ज समेत गरेका थिए ।

कोभिड १९ का कारण यो वर्ष देशभरिका सांस्कृतिक जात्रापर्वहरु र बिशेषत: नेवा: पहिचानले स्थापित जात्राहरु पनि सम्भवत: पहिलो पटक स्थगित भएका छन । कोभिडको परिस्थितिबीच पनि भ्रष्टाचारका आशंकाहरु, संक्रमण ब्यवस्थापन लगायत बिशेषत: आदिवासी जनता र नेवा:हरुको चाहना बिपरित सडक बिस्तार र गुथि बिधेयकको चर्चाले पनि सरकार बिरुद्ध आवाज उठिरहेको नकार्न सकिने अवस्था छैन ।

राष्ट्रीय महत्वको जात्राका रूपमा स्थापित मछिन्द्रनाथको रथयात्राका सवालमा हालको बिशेष परिस्थितिमा सहानूभुति राखेर वा आधुनिक भौतिकवादी युगको बिकासका सवालमा राज्य र प्रशासनको भूमिकालाई केलाउंदा पनि चित्त बुझ्दो सहकार्यको अभाव निश्चित रूपमा खट्केको अनूभुत नेवा: लगायत आम नागरिकले गरेका छन । अर्थात महामारीको डरलाई मात्रै बढावा दिएको जस्तो हुने गरि निषेधाज्ञा र यसरी निम्तिएका प्रशासनिक दमन अवस्था भन्दा पुराना एतिहासिक घटनाको जानकार रहेको सदाचार प्रकट गर्दै आम जनता र सरोकारवालालाई धैर्य र बिकल्पको खोजिको अनुरोध सहित राज्यको जनतासंग जोडिने प्रयास खट्किएको अवस्था हो आजको परिस्थिति ।

माथि उल्लेखित एतिहासिक घटनावलीहरुको कसीमा हेर्ने हो भने हाम्रा अमूर्त संस्कृति सम्पदाको उत्पत्ति, बिकास र संरक्षणको दायित्वमा बिभिन्न कालखण्डमा आएका ब्यवधान कसरी ब्यवस्थापन भए? सामजिक सदभाव र राज्यको सम्बन्ध कस्ता थिए? यो सम्बन्ध बिग्रदा के कस्तो प्राकृतिक प्रकोप तथा ती शासनकालमा के के समस्याहरु भए? राज्य, सरकार तथा स्थानिय तहका प्रशासकहरुले पर्याप्त ध्यान दिन जरूरी देखिन्छ । जात्रा सम्बन्धि आजको घटनामा एकाअर्कालाई दोषारोपणले दिर्घकालीन समस्याको रूप लिएर आन्तरिक द्वन्द्वसंगै सत्ताकालागि अनुचित राजनैतिक रणभूमीका रूपमा दुरुपयोग हुने स्थिति यसले ननिम्त्याओस । जनश्रुतिको कुरा बैज्ञानिक नलागेपनि जनभावनाले इंगित गर्ने “अनिष्ट” सामाजिक सदभावमा नपरोस । हाम्रा मौलिक संस्कृति यहाँको सामाजिक आर्थिक बिकासको मनोसामाजिक प्रतिबिम्ब र हाम्रा मौलिक अमूर्त सम्पदाको बिकास “माथिको संलग्नता र तलबाट माथिको सम्बन्धले नै बिकसित भएको देखिन्छ, अनिकाल हैन सहकालका प्रतिक बुंग:द्यो मछिन्द्रनाथले कमसेकम हामी सबैलाई एतिहासिक भौतिकवादी दृष्टीकोण प्रदान गरुन ।

लेख : राजेश बज्राचार्य (नुगः सः)

Facebook Comments

अन्तिम अपडेट: १८ भाद्र २०७७, बिहीबार २३:१८

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया