टोखामा लुमन्ति प्रबेश एक चर्चा

 २० भाद्र २०७७, शनिबार ०९:१३   | न्यूज अफ टोखा

टोखामा लुमन्ति प्रबेश एक चर्चा

-कर्ण ब. डंगाेल


युवा देशको खम्वा हो, जसमा देशको सम्पुर्ण अविभारा बोक्ने क्षमता राख्दछ । युवा उषाको पारिलो घाम हो, जसमा सारा जनताको आँगनमा झुल्किने अदम्य साहस बोक्दछ । यस्तै समाजको आशाको केन्द्रको रुपमा रहने बाँचा गरी हामीले औलामा गन्न सकिने पाँच जनाको एक समुह बनायौं । उषाको लाली झै जोसिलो । टोखाकोलागि केही सोचौं, लागौं र गरौं भन्ने हाम्रो अटुट आवाज हो, टमिको । मानव जन जीवनमा आइपर्ने र परेका अप्ठ्यारा र समस्या रुपमा पक्कै पनि युवा जोश जाँगर र आफ्नो गाउँ ठाउँ समाज प्रति केही गरौं भन्ने भावनाले पुर्ण रुपमा ओतप्रोत भएका युवा जमात साँचो रुपमा सक्रिय थियो । चिया पसल, गल्ली, चोक, खेत, दोबाटोमा सबैतिर त्यसको चर्चा थियो । र बिषेश गरी तोखाको इतिहासमा पहिलो भित्ते पत्रिका सुनौलोको बारेमा चर्चा औधि थियो । केही कानुनी आधार धरातलको खोजीको क्रममा तत्कालीन सरस्वती गा.वि.स.सित सहमती भयो । यस तोखा क्षेत्रमा खानेपानी तथा सरसफाई सम्वन्धि र अन्य मानव जन जीवनमा प्रभाव पर्ने र पार्नेखालको विषय बस्तुहरु उपर सुसुचित गर्ने अभिप्रायले गा.वि.स.सँग अनुमति लिई सामाजिक कार्य थाल्ने समहति भए । नाम राख्यौं सुनौलौ । सुनौलो सामाजिक विकासका लागि सृजनसिल समुह । जसको नेपाल भाषामा अर्थ लुःनिभा हो । The Rising Sun.

बिद्यमान समाजको अन्धविश्वास, कुरिति, सामाजिक अन्याय, विभेद, छुवाछुट विरुद्ध सामाजिक चेतनाको लागि निरन्तर लागि रहने प्रमुख उद्देश्य थियो समुहको । लगायत विद्यमान खानेपानी तथा सरसफाई समस्या उपर सचेतना फैलाउने दोस्रो उद्देश्य रह्यो । तदअनुरुप हामीले तत्कालीन सरस्वती गा.वि.स.बाट कार्य गर्ने अनुमति प्राप्त पश्चात प्रत्येक शनिवार बिहान हरेक टोलटोलमा गई फोहोर संकलन गरी त्यसलाई ठीक ठाउँमा व्यवस्थित रुपमा व्यवस्थापन ग¥यौ । साथैे प्रत्येक महिनाको अन्तिम मसान्तको दिनमा महिना भरी तोखामा हुने भए गरेका सामाजिक घटनाक्रमहरुलाई लिपिबद्ध रुपमा राखी त्यसलाई सर्वसाधारण जनताहरुमा सुसुचित गर्ने हेतुले टोखाको इतिहास मै पहिलो भित्ते पत्रिका प्रकाशित ग¥यौं । पत्रिकाको नाम पनि सुनौलो (लुनिःभा) थिए । जसको सम्पादक पंक्तिकार स्वयम् हो । शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई पत्रिकाको निरन्तर विषयबस्तु बनाइन्थ्यो । सिक्नको लागि अध्ययन गर्नुपर्छ र सुसुचित हुनकोे लागि पत्रिका पढ्नु पर्छ भन्ने एक प्रकारको ट्रेन्डको सामाजिक रुपमा विकास त्यो बेलामा भएको मान्नु पर्छ । पत्रिकाको महिनौ सम्म चर्चा हुनुले त्यही पुष्टि गर्दछ ।

युवा देशको खम्वा हो, जसमा देशको सम्पुर्ण अविभारा बोक्ने क्षमता राख्दछ । युवा उषाको पारिलो घाम हो, जसमा सारा जनताको आँगनमा झुल्किने अदम्य साहस बोक्दछ ।


एवम् रितले दुई बसन्त सजिलै काटे । पाइलाहरु सानै थिए । उद्देश्य बृहत् थियो । एउटा दरिलो सहाराको अभावमा कहिलेकाहीँ पाइलाहरु ढुरमुराउथे । फेरी सम्हाल्थेँ । कच्चा मगजको जमात कसैको उक्साहटमा उक्सिदिने, कसैको हौसलामा हौसि दिने, अप्राकिृत बखानमा बहकिदिने खालको थियो । स्थिर मन थिएन खाली जोश र जाँगरको त पल्ला भारी थियो । अर्कातिर फोहोर संकलनको लागि ठेला गाडा र साबेल बोकी टोल टोल चाहार्ने भएकाले सबैको मन मष्टिष्कमा देखिने गरी बाँस बस्न गा–हो भएन हामी र संस्थालाई । तरपनि आर्थिक सहयोग जुटाउन हामी किंचित पनि सफल भएन । र समाजिक सेवाबाट मनको कतै कुनामा यस कुराबाट झिनो सन्टुष्ट भने पक्कै थियो । साथीभाईहरुको फुर्सटको ठट्टा मजाकमा यी कुराहरु प्रष्फुटिट हुन्थे । जोशिलो साँेच, जाँगरिलो कर्म नयाँ युबा जमातको सानै भएपनि एकता समय रमाइलो नै थियो ।

पथपदर्शक बिनाको यात्रा अलि हैन धेरै नै जिकज्याक हुदोरैछ । छोटो र सजिलो नहुने । तैपनि सबैको एकमत थियो गर्दै सिक्ने र सिक्दै गर्नेमा । जतिबेला टोखामा संचार, यातायातको सुविधा अत्यन्तै न्युन थियो र एक अर्र्थमा भन्दा अभाव नै थियो । ती मात्र नभएर हरेक क्षेत्रमा हुने सबै सुविधाहरुबाट टोखा निश्चित रुपमा बिमुख थियो । दुर्गम जस्तै थियो । बिकासका आधारभुत आयोजनाहरु समेत टाढा थियो । राजनैतिक रुपमा तोखा थरी थरीमा बिचार धारामा विभक्त भए जस्तै बिकासमा पनि विभक्त नै थियो । नभएको केही छैन पुरा भएको कुनैमा होइन । यस्तो विषम परिस्थितिमा खानेपानी र फोहोरमैला व्यवस्थापनको समस्या त विकराल नै थियो । जसको प्रतक्ष्य प्रभाव जनको स्वास्थ्यमा हुन्थ्यो र स्वास्थ्य चौकिमा निकै बेरको लामो लाइन बन्थ्यो चेकअपको लागि । सो उपर केही प्रभावकारी योजना बनाई युवा जमातबाट यस टोखाको लागि विशेष गरी खानेपानी तथा फोहोर मैला व्यवस्थापनमा केही कार्य गरेर देखाउने एउटा दरिलो प्रण जस्तै थियो हामीमा । किनकी हामी फोहोर संकलनको दौरानमा थोरैको मुखार विन्दुबाट स्यावासी सहितको शुभकामना पाउथेँ त धेरै जो समाज बदल्नका लागि बाधक थिए र बने को बोलीबाट हेपिएको, नयाँ च्यामे, पोडेहरु आदिको सँज्ञाबाट सँज्ञाकृत हुन्थे । यद्यपि हामीले ती तिक्तता, कटु बचनमा दुखी नबनी, ती बचनहरुलाई आशिर्वादको रुपमा शिरोपर गरी अगाडि बढ्ने थप प्ररेणाको श्रोतको रुपमा लियौं । बिष नभएको सर्प र इख नभएको मानिस काम नलागे जस्तै कुनै काम या कुरो सम्पन्न गर्नको लागि केही न केही इख र इष्र्या लिनुपर्ने कुरो पटक पटक हामीमा शेरिङ हुन्थ्यो पनि ।

साथीहरुको व्यापक छलफलबाट सिर्जित निष्कर्षबाट तय भए बमोजिम सम्भाव्यता हुने र भएका सबै सरकारी संस्थाहरु, गैर सरकारी संस्थाहरु, र अन्तराष्ट्रिय गैर सरकारी संघ सस्थामा आफ्नो गाउँ ठाउँको यथार्थ चित्रण पेश गरी आर्थिक सहयोग अनुदान लिई काम गर्ने भन्ने नै भयो । सम्पर्कका बाटाहरु पहिल्याई, त्यही मार्ग भएर धेरै महिना धेरै गल्ली, चोक चाहा¥यौ दाता खोज्ने कार्यमा । अनुदान पाउने बलियो आशमा । व्यक्ति भन्दा पनि टोखा बदल्ने सपनामा ।

श्री अनिता मानन्धर र श्री सुरेन शाक्य मेरो मानस पातलमा अझै पनि ताजै स्मरणमा पर्नेहरु मध्येका हुन् । वहाँहरु लुमन्ति आवासको लागि सहयोग समुहको क्रमशः कोाषाध्यक्ष र सामाजिक कार्यक्रमको संयोजक हुनुहुन्थ्यो । कच्चा दिमागमा पलाएका दुई चार शब्द र अक्षरहरुलाई एउटा निश्चित रुप दिई, सिङगै टोखाको समस्याको प्रतिनिधित्व गर्ने आशाले त्यसलाई प्रस्तवानाको नामाकरण गरी दाताहरुको खोजीमा हिडदै गर्दा, लुमन्ति अन्तिम गन्तब्य बन्यो हाम्रो लागि । एक्सन एड नेपाल, वाटर एड नेपाल, प्लान इन्टरनेशनल नेपाल, जी. टी. जेड., जाइका, वल्र्ड भिजन नेपाल, एन्फो, नेवाः, सी.आई.यु.डी., युएनह्यावितात, समाज कल्याण परिषद, एन.जी.ओ. फोरुम, लुमन्ति आदिमा हामीले त्यो कथित हाम्रो लागि राम्रो प्रोपोजल, धेरै मिहिनेतबाट सिर्जित प्रस्तावनाको फोटो कपीको प्रति पेश गरेँ । सो लिपीमार्फत् टोखाको खानेपानी तथा सरसफाई क्षेत्रको वस्तुगत यथार्थ विवरण पेश गर्न एक कदम सफल भयौं । त्यसमा हामी आशा सहितको औधी खुसी थियौं । यतिका संघ संस्थाहरुमा सहयोगको लागि याचना गरिसके पछि कुनै न कुनै एउटा सस्थाले सहयोग गर्लान भन्ने आशा त थियो नै तर लुमन्ति आवासको लागि सहयोग समुह नै पहिलो पटकको छनौट मै हाम्रो प्रस्ताव सेलेक्सन होलान् भन्ने हामीले कल्पना समेत गरेका थिएनौं ।


लुमन्ति आफैमा राम्रो सम्झना हो । शत प्रतिशत नेपाल भाषा बोल्ने महिला दिदी बहिनी र दाजुभाईहरुले चलाईरहनुभएको एक गैरसरकारी सामाजिक संस्था । लुमन्तिसँगको आवाज जावात अलि बाक्लो भैसके पछि सो सस्थाको सस्थापक निर्देशक श्री लजना मानन्ध्।र ज्युले टोखाको बारेमा थप जानकारी माग्नु भयो र समुदायप्रति इन्टरेष्ट देखाउनु भयो । उहाँले टोखामा खानेपनी तथा सरसफाई क्षेत्रमा पाइलट प्रोजेक्टको रुपमा कार्य थाल्न ओेके गर्नु भयो ।

आदरणीय श्री अनिता मानन्धर दिदी र श्री सुरेन शाक्यदाई प्रोजेक्ट लञ्चकोलागि वातावरण तयारी स्वरुप आवश्यक सुचना, जानकारी, यथार्थ बुझ्नकोलागि थुप्रै पटक आउनुभयो । यहाँको धेरै ठाउँमा परिचित हुनुभयो बिशेष गरी सरसफाई र खानेपानीको समस्या अधिक भएको ठाउँ भिल्ली, फैडोल, लबुँ, सायक्व, क्वःहिति, लाम्ने, भख्यः, र भित्री टोखा बस्ती सबै । उहाँहरुले “बुग्मति, खोकना, ठेचोको दाँजोमा टोखामा बिदेशी दाताहरुको उपस्थिति शुन्य रहेको” बताउँनु हुन्थ्यो ।

तत्कालिन टोखाको अवस्था जर्जर नै थियो । चारैतरि अस्तव्यस्त । बस्तीको मुख्य मुख्य बाटो मै गाई बस्तु बाधिएको पाउनु, कुखुरा हाँस जथाभावी खुल्ला छाड्नु, मल थुपारि राख्नु, झ्याल ढोकाबाट जथाभाबी पानी फ्याक्नु, ढल निकासा नहुनु, जथाभावी दिसा पिसाब गर्नु, पानी बग्ने ढलको राम्रो सँग व्यवस्थित नहुनु, पानी पर्दा कौसी कौसीबाट पानी झर्नु, बाटाघाटा हिलाम्मे भइरहनु, खानेपानी सुविधा नहुनु र भएको सिमित ठाउँमा पनि धमिलो पानी र हिलो छान्दै पानी खान विवश, एक गाग्री पानीको लािग घन्टौ कुर्नुपर्न अवस्था र जो पहिला पुग्यो उसले मात्र पानी पाउनु र पछिकोलागि कुवाँ नै सुक्ने गरेको सहितको टोखाको जीवन शैलीको यथार्थ चित्रण लुमन्तिमा पेश हुदाँ सबैको मन रसाउथेँ र यसले पनि टोखामा लुमन्ति प्रबेशकोलागि महत्वपुर्ण भुमिका रहेको जस्तो लाग्छ ।

उल्लखित समस्याहरु सँकलन तथा सुचीकृत गरी हामीले सानो प्रपोजल जस्तै बनायौं । हाम्रो लागि सही प्रस्तावना । हामीले प्रस्तावनामा लेखेर बुझाएको जस्तै उहाँहरुले टोखाको बस्तुगत यथार्थ चित्रण आफ्नै आँखा सामु पाउनु पनि लुमन्तिलाई टोखामा प्रबेश गराउनु एउटा महत्व पुर्ण पातो रह्यो । यहाँको वास्तविक दयनिय अवस्था, सुगमको नजिकै भएता पनि दुर्गम कै अवस्थामा हुनु, खानेपानी तथा सरसफाईमा धेरै समस्या र समुदायको आवश्यकताहरु पनि लुमन्ति प्रवेशमा अर्काे महत्वपुर्ण पक्ष बन्यो । लुमन्तिको न्यानो निमन्त्रणमा हामी सिङगै टोखाको प्रतिनिधी गरी लुमन्तिले गर्ने सम्वन्धित योजनाको सभा, गोष्ठि, तालिम, प्रशिक्षण र अन्तरक्रियामा समाबेश हुदै गए । हाम्रो नयाँ पाइला, नयाँ अवधारणा र काठमाडौको युवा जमात अरु ठाउँको जमात भन्दा लुमन्तिमा अलि बेसी नै सक्रय भए जस्तो लाग्छ । त्यसको पथ प्रदर्शक आफैमा लुमन्ति नै थियो र हाम्रो सहभागिताबाट सन्तुष्टि र खुशी पनि थिए ।

योजना थाल्नु पुर्व त्यस्तै कार्य गरिएका र योजना सम्पन्न भएका ठाउँहरुमा लगी त्यस कार्यको अध्ययन र अवलोकन गर्ने ÷ गराउने तरिका असाध्यै राम्रो र प्रभावकारी हुन्छ पनि । खानेपानी तथा सरसफाई क्षेत्रमा योजना संचालनकोलागि चासलको आल्क्वः हिटीको प्रयाग श्रेष्ठहरुको समितिले गरिरहेको पानीको व्यवस्थापन, सिद्धिपुरको सरसफाई क्षेत्रमा एन्प्mोले गरिएको बलराम महर्जनको समितिले गरिरहेको मल चर्पी Ecological Sanitation Latrine को योजना, भक्तपुरको बोडेमा सम्पन्न मल चर्पीको योजनाहरु अध्ययन अवलोकन र बोसी गाँचाको खुशी खुशी होटलमा भएको एक हत्पे योजना सम्वन्धि प्रशिक्षण र अन्तक्रिया गर्ने मौका लुमन्तिले प्रदान गरियो र सोबाट हामी थप उर्जाशिल भई समाजप्रति जिम्मेवार बनी योजना थाल्ने र सम्पन्न गर्न सक्छु भन्ने आत्म विश्वास बढाउनमा धेरै मद्दत गरे । उहाँहरुले हाम्रो समाज, हाम्रो सोँच, हाम्रो जोश, हाम्रो जाँगर, मिहिनेत, लगन र समाजप्रति गाढा झुकाब र हामीले एकताबद्ध भई समाजप्रति अगाढ झुकाब राखी सरसफाई क्षेत्रमा गरिरहेको कामप्रति धेरै सन्टुष्ट र आत्मियता पोख्नु भएको थियो । टोखा नेवारी समुदाय भएकाले पनि लुमन्ति हामीसँग हातेमालो गर्दै कार्य थाल्न आतुर भएको हामी दिदी मानन्धर र दाजु शाक्यबाट थाहा पाए । त्यही सन्टुष्टबाट नै टोखामा शुरुमा खानेपानी क्षेत्रमा कार्य गर्न लुमन्ति सहमति भएको मान्न सकिन्छ । यसै मौखिक सहमतिको आधारबाट मिति २०६१ माघ ७ गतेको दिन टोखा कै इतिहासमा प्रथम पटक वातावरण मैत्री सरसफाई आयोजना अन्तर्गत २८ वटा वातावरणीय मल चर्पी र १ वटा धाराको प्लेटफार्म निर्माणको लागि रु ५,२०,४८२।– पाँच लाख बीस हजार चारसय बयासी रुपैयाँ बराबरको योजनामा लुमन्ति एक पक्ष टोखाबाट हाम्रा युवाहरुको समुह एक पक्ष भई दुइ पक्षबीच लिखित रुपमा करार एन २०५६ बमोजिम सम्झौता भएको हो । विधिवत रुपमा लुमन्तिले टोखा प्रवेश गरे ।
सम्झौता एक प्रति हात पर्नासाथ कसरी, कहाँबाट, कुन टोलबाट, घरबाट योजनाको थालनी गर्ने भन्ने प्रश्न खडा भयो । सबैलाई समान रुपमा बराबर अधिक सहभागीमुलक बनाउने साथसाथै लेङिगक समानताका कुरोहरु पनि प्राथमिकतामा थियो । हामीले चर्पी वितरण गर्ने केही आधार हरुमा, आवश्यकता, बनाउने ठाउँ हुने, न्युन आय भएका , गरिब परिवार, भान्छा बाट खरानी उत्पादन र मलको प्रयोग हुन् । हामी कच्चा दिमागका युवा जमातहरु भएकोले होला सायद मौखिक रुपमा चर्पी निर्माण कार्ययोजना चलिरहेको छ चर्पी लिन आउनुहोस भन्दा कोही पनि लिन आउनुभएन र पत्याए कै थिएन र हिजोसम्म सावेल र ठेलगाडा बोकी फोहोर बोकि हिड्ने युवा टीमबाट लुमन्तिको सहयोगमा निःशुल्क चर्पी वितरण गरिन्छ भन्ने कुराको विश्वास साँचोमा कसैमा थिएन । र पनि हामीले गल्ल्ी चोक चोकमा खुल्ला रुपमा सार्वजनिक सुचना टाँस गरी चर्पी निर्माणको लागि सामुहिक आह्वान गरेका थियौ. । लुमन्तिबाट एक दुई जना विशेष प्राविधिक टोलीबाट सामुहिक रुपमा चर्पी निर्माण प्रशिक्षणबाट मात्र योजना विस्तारै चल्यो र एक अर्काको देखासिकीबाट एकाएक चर्पीको माग बढ्यो ।

एवम् प्रकारले मिति २०६२ जेठ १० गते रु १०,६६,२६०।– दश लाख छैसाठी हजार दुइ सय साठीबाट ६० वटा मल चर्पी निर्माण योजना, मिति २०६५ श्रावण १२ गते रु ४,०९७४४।– चार लाख नौ हजार सात सय चवालिस रुपैयाँको योजना, मिति २०६६ चैत्र ९ गते रु ६७,२०,०००।– सठसाठी लाख बीस हजार रुपैयाँ बाट १६८ वटा मल चर्पी निर्माण योजना, सफलता पुर्वक क्रियान्वयन गरेँ हाम्रो सानो युवा टीमले ।

बिदेशी र स्वदेशी गै.स.सं. संस्थाहरुबाट यी मानव दैनिक जन जीवनमा प्रत्यक्ष असर पार्ने सामाजिक समस्याहरुमा अनुदान सहयोग पाउने आशामा हामीले संस्थालाई समाज कल्याण परिषदमा आवद्धता नंं. २२१०० रहने गरी पनि आवद्धता जनायौ । मिति २०६३ चैत्र १४ गतेको दिन दर्ता नं. ९५३ रहने गरी काठमाडौ जि.प्र.का.मा विधिवत् रुपमा सस्थाको जन्म भयो ।

मिति २०६५ सालमा टोखा एकिकृत खानेपानी विकास आयोजनाको अवधारणमा KUKL को एउटा LICSU विभाग जसको उद्देश्य निम्न आय भएका लक्षित वर्गलाई प्राथमिकता राखी खानेपानीको व्यवस्थापन र वितरण गर्नु हो । लाइ अगाडि सारी UN-HABITAT सँयुक्त राष्ट्रसँघ मानव बसोबास कार्यक्रम अन्तर्गत करीब १ लाख २० हजार अमेरिकन डलर टोखालाइ अनुदान प्राप्त भयो । मेरो सँयोजकत्व र हाम्रो युवा टीमको पहलमा अनुदान ल्याउन सफल भए पनि सारा टोखालाइ पानीको विषयमा एकठाउँमा ल्याउन सकिन । पद र पैसा कै कारण खिचातानी शुरु भयो । एउटा उपभोक्ता कमिटि बनाउन ६ महिना लगाइ दियो । अनुदान झण्डै रिटर्न हुने अवस्था थियो ।

निशुल्क पानी पिउने या न्युन शुल्कमा गुणस्तरीय पानी पिउने विषय विमतिको प्रमुख विषय थियो । किनकी तत्कालीन सारा टोखाबासीले निशुल्क सार्वजनिक धाराबाट पानी प्रयोग गरिरहेका थिए । बिस्तारै राजनैतिक करणतिर लागे खानेपानी योजना र अनुदान । अथक प्रयाशहरु भए । सहमति जुटाउन सकिएन । कोठमा, चोक चोकमा, स्कुलमा खुल्ला बैठक हरु थुप्रै भए । तै पनि सहमति जुटाउन सकिन । सबै राजनैनिक दलहरुको बैठकमा पानी बहसले ठाउँ लिन थाल्यो । स्पष्ट रुपमा प्रत्येक दलमा पानी प्रति स्पष्ट दुइ धार देखियो । सहमत हुने र नहुने धार । तत्कालीन जनप्रतिनिधी नभएको अवस्था । प्रत्येक दलबाट सहमत हुने धारका दलीय प्रतिनिधीहरु मात्र रहने गरी खानेपानी सँचालक समिति मेरो सँयोजकत्वमा गठन भयो । योजना हाम्रो जोशिलो युवा टीमबाट दलिय सँयन्त्रमा गयो । यसमा हामीले सारा टोखा बासीको सुख सुविधाको लागि हाम्रो सँस्था फक्रिन नपाई मुना मै चुडाल्ने काम भयो केबल टोखाको हितको लागि हो ।

Facebook Comments

अन्तिम अपडेट: २० भाद्र २०७७, शनिबार ०९:१३

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया