भक्तपुर नगरपालिकाद्वारा ‘सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार’ फोटो पुस्तक बिमोचन

 ११ आश्विन २०७७, आईतवार २०:०२   | सागर राज लवट

न्यूज अफ टोखा । ४१औं विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नगरपालिकाले २०७२ सालको भूकम्पबाट भत्केका, क्षति पुगेका सम्पदाहरूको संक्षिप्त विवरणसहित, नगरपालिकाले हालसम्म सम्पन्न गरेका र निर्माणाधिन सम्पदाहरूको विवरणसहितको फोटो पुस्तक बिमोचन गरेको छ ।

नेपाल मजदुर किसान पार्टीका सचीव एवम् संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा ‘सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार’ नामक फोटो पुस्तकको बिमोचन अनलाइन (जुम) मार्फत आइतबार बिमोचन गरेको हो । भक्तपुर नगरपालिकाद्वारा आयोजित पुस्तक बिमोचन कार्यक्रममा बोल्नुहुँदै सांसद सुवालले कोभिड – १९ संक्रमणको खतरा बढेसँगै बाह्य पर्यटनमा परेको असरका कारण देशको अर्थतन्त्र खस्किदै गएको हुँदा आन्तरिक पर्यटनलाई नै जोड दिएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले बन्दाबन्दीका कारण यस वर्षको पर्यटन दिवसमा कुनै रौनक नदेखिएको पनि बताउनुभयो । सांसद सुवालले आन्तरिक पर्यटन प्रवद्र्धनको लागि देशको सन्तुलित विकासको पनि खाँचो रहेको औंल्याउनुभयो ।

नेपालको ठाउँ– ठाउँमा भएका पोखरी, मन्दिर, पाटी—पौवाहरूलाई आन्तरिक पर्यटक प्रवद्र्धनको लागि उपयोग गर्न सकिने धारणा व्यक्त गर्नुहुँदै उहाँले छिमेकी देश भारतसँगको खुला सीमा बन्द गरी आन्तरिक पयर्टनमै जोड दिनुको विकल्प नरहेको बताउनुभयो । बिमोचन कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी आयोजनामा हुन लागेको भक्तपुर महोत्सव कोरोना भाइरस (कोभिड १९) का कारण अन्तिम चरणमा स्थगित गर्नुपरेको बताउनुभयो ।

कर्मचारी र जनप्रतिनिधिले जस्तोसुकै प्रतिकूलतालाई अनुकूलतामा ढालेर निरन्तर जनताको सेवामा समर्पित हुनुपर्ने बताउँदै उहाँले महामारीबीच पनि पर्यटन विकासको पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । भक्तपुर नगरको संक्षिप्त परिचयसहित नगरपालिकाले गरेको पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न सम्पदाको विवरणसहित २३० पृष्ठको फोटो पुस्तक प्रकाशनमा ल्याएको बताउनुहुँदै उहाँले बन्दाबन्दीको समयमा पनि नपाले सम्पदा जीर्णोद्धारलाई प्राथमिकतामा राखी अगाडि बढाइरहेको पनि जानकारी दिनु भयो ।

आज बिमोचन गरिएको फोटो पुस्तकमा भक्तपुर नगरपालिकाले हालसम्म १०३ वटा सम्पदा सम्पन्न गरेको, त्यसको लागि रु २४ करोड २३ लाख ९ हजार खर्च भएको तथा ३४ वटा निर्माणाधीन सम्पदाको लागि ७ करोड ५४ लाख ९९ हजार खर्च भएको विवरण उल्लेख छ । सम्भव भए जति सम्पदाहरुको पुरानो फोटो, निर्माणाधीन र सम्पन्न भएपछिको फोटो पनि पुस्तकमा राखिएको छ । प्रत्येक सम्पदाको संक्षिप्त विवरणसहित खर्च विवरण पनि पुस्तकमा उल्लेख गरिएको छ । पुस्तक सम्पदा र संस्कृति अध्ययन गर्नेहरुको लागि उपयोगी हुने विश्वास लिइएको जनाइएको छ ।

© news24nepal

Facebook Comments

अन्तिम अपडेट: ११ आश्विन २०७७, आईतवार २०:०२

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया