सवारीसाधन हरायो ? अब अनलाइनबाटै निवेदन र उजुरी दिन सकिने

 १८ आश्विन २०७७, आईतवार १५:५९   | न्यूज अफ टोखा

न्यूज अफ टोखा , काठमाडौं । सवारीसाधन हराएको तथा चोरी भएको निवेदन अब अनलाइनमार्फत दिन पाइने भएको छ । प्रहरी प्रधान कार्यालयको सहयोगमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएको सवारीसाधनबारे उजुरी र निवेदन अनलाइनबाटै दिन सक्ने व्यवस्था गरेको हो ।

यो सेवाको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोख्रेलले आइतबार उद्घाटन गर्नुभएको छ । ट्राफिक महाशाखाबाट दिने सेवालाई थप प्रविधिमैत्री बनाउँदै सेवाग्राहीका लागि थप सहज र सरल बनाउन तथा कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै यस्तो सेवाको सुरु गरिएको महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताउनुभयो ।

यसको लागि लस्ट एन्ड फाउन्ड म्यानेजमेन्स सिस्टम नामक सफ्टवेयरको प्रयोग भएको छ । अब सवारीसाधन हराएकाले निवेदन र सिफारिसको लागि ट्राफिक कार्यालय धाउनुपर्ने दिनको अन्त्य भएको छ, निवेदन दिन सवारीधनीले ट्राफिक प्रहरीको वेबसाइट traffic.nepalpolice.gov.np मा गएर फर्म भर्नुपर्ने हुन्छ । वेबसाइट खोलेपछि दायाँतर्फ रहेको अनलाईन एप्लिकेशन भित्र रहेको लस्ट ​भेइकल एप्लिकेसन (Lost Vehicle Application) मा क्लिक गर्नुपर्ने हुन्छ ।

त्यसपछि सेवाग्राहीले एप्लिकेशनमा क्लिक गरेपछि माग भएबमोजिम सेवाग्राहीले आफ्नो  विवरण भर्नुपर्ने हुन्छ । माग भएअनुसार सबै विवरण भरिसकेपछि सेभ अप्सनमा क्लिक गरेपछि निवेदकले एप्लिकेशन नम्बर प्राप्त गर्न सक्नेछन् र सेवाग्राहीले अनलाइनबाटै सवारीसाधन फेला परे/नपरेको थाहा पाउन चेक एप्लिकेशनमा क्लिक गरी दिएको एप्लिकेशन नम्बर, पूरा नाम थर र सवारी नम्बर राखेर चेक गर्नुपर्नेछ ।

यसअघि लाइसेन्स, ब्लु बुक र पर्मिट हराएको निवेदन र सिफारिस लिन ट्राफिक महाशाखा धाउनुपर्ने बाध्यताको समेत अन्त्य भएकाे छ । असोज ५ गतेदेखि सुरु भएको lost Document Application अनलाइन सेवाबाट नौ सय ४९ जना सेवाग्राहीले सेवा प्राप्त गरेका छन् । 

Facebook Comments

अन्तिम अपडेट: १८ आश्विन २०७७, आईतवार १५:५९

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया