ए बा ! उठ!! (कविता)

 २७ आश्विन २०७७, मंगलवार १०:२८   | न्यूज अफ टोखा

ए बा ! उठ अब त भात खाऊ,
शासक वर्गलाई तिमी घाँडो भयो होला
तर
हामीलाई तिमी चाहिन्छ
यदि तिमी भएनौं भने
फेरि
अर्को तिमी कहाँ पाइन्छ ??

फेरि ती जुम्लीको आवाज कसले उठाउँछ?
जाजरकोटमा पखाला लाग्दा
जीवनजल नपाएको कुरा कसले उठाउँछ?
अनि प्रसव पीडामा छटपटाएकी
एउटी नारीको आवाज कसले उठाउँछ?

त्यसैले के सी बा उठ! उठ!!
शासक वर्ग त कानमा तेल हालेर बसेको छ
जुन कुरा हामी कल्पना गर्न सक्दैनौं
सायद
त्यही कुराको पर्खाईमा छ
तर, हामी त्यसो हुन दिन्नौं

यहाँ गलैंचा फेर्ने चटारो छ,
चर्पी सजाउन हतार छ
यो महामारी मा जिमखाना पनि बनाउनै पर्यो
उता फेरि
वीष उत्पादन नगरी भएको छैन
किनकी
अहिले महामारीको बेला छ

यस्तो बेलामा
तिम्रो त्यो दुई छाक खान नपाउने
एकसरो लगाउन नपाउने
थाङ्ने जनताको हीत हुने कुरा सुन्न
कसलाई फुर्सद छ ??
त्यसैले उठ बा पानी पिउ
किनकि हामीलाई तिमी चाहिन्छ ।

तिमीले हारेका छैनौं
तिम्रो भोको पेटसँग
टन्न खाएका पेटहरु डराएका छन्
त्यसैले त
तिमीलाई झ्याङ्कुटी पारेरै भए पनि
राजधानी ल्याइन्छ

उठ बा उठ !
त्यो गरिब किसानको छोरा डाक्टर बन्न चाहन्छ
तर
चर्को शुल्क तिर्न सक्दैन
त्यसको बारेमा पनि आवाज उठाउने हिम्मत अरुमा देख्दिन
त्यसैले उठ !
तिन करोड नेपालीको लागि भए पनि
भोको पेटले होइन
भरी पेटले लड
जित हाम्रै हुन्छ ।
उठ के सी बा उठ !!

HR Timilsina को फेसबुकबाट साभार

Facebook Comments

अन्तिम अपडेट: २७ आश्विन २०७७, मंगलवार १०:२८

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया