लुँखुसी शंखधरया लुँ (नेपाल सम्वत विशेष)

 १ मंसिर २०७७, सोमबार ००:२१   | न्यूज अफ टोखा


मल्ल के सुन्दर

मध्यकालीन नेपालको त्यो १४७ वर्षको यथार्थ अज्ञात रह्यो । प्रमाण प्रमेयका अभावमा त्यस अवधिमा के भए ? त्यतिखेरको सत्य–तथ्य के रहे ? केही जानकारी छैन । तसर्थ, इतिहासकारहरू त्यस कालखण्डलाई नेपाली इतिहासको अन्धकार युग मान्छन् । 

अत्यन्त प्रभावशाली, बलिया शासक थिए– लिच्छिवी राजाहरू । तर, जयदेव द्वितीयदेखि मानदेव चौथोसम्म आइपुग्दा द्वैध शासन, अन्तरकलह, आभिरहरूको षड्यन्त्रका कारण राज्यसत्ता अत्यन्त कमजोर देखिए । इस्वी ५७६ पछि नेपालको इतिहासबाट लिच्छिवीहरू लुप्तप्रायः हुनपुगे । तर, तत्पश्चात् सत्तामा केही फरक प्रसंग सुरु भए, जसले इतिहासलाई नयाँ मोड दिए । तीमध्येका महत्वपूर्ण घटनाक्रममा पहिलो थिए– बलशाली लिच्छवी वंशको पतन र शासन सत्तामा वैश्य ठकुरी वंशका नयाँ शासकको अप्रत्याशित उदय ! 

दोस्रो चाखलाग्दो तथ्य शक्तिशाली लिच्छिवी राजा मानदेवद्वारा प्रचलनमा ल्याइएको मानदेव संवत्को प्रयोगमा स्थगन, जुन संवत्ले नेपालको प्रशासनिक कार्यमा ३०४ वर्षसम्म निरन्तरता पाएको थियो । यसै कालखण्डमा विशालनगर, हाडीगाउँ प्रशासनिक केन्द्रको रूपमा रहँदै आएकोमा अचानक स्वकम्भू (हनुमानढोका दरबारक्षेत्रको प्राचीन नाम) कान्तिपुरतिर स्थानान्तरण भए । यद्यपि, यसका कारण र सत्य–तथ्यका सम्बन्धमा इतिहासकारबीच फरक–फरक मत छन् । तर, ठीक त्यसै समय, कालखण्डमा देखापरेका थिए कान्तिपुरका शंखधर साख्वाल !

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=PLdxEzz63QLiJgo-GkAn_5QYzC5UmGgDNC&v=YF_QECI5vOw&layout=gallery[/embedyt]

विद्वत्जनका अनुमानअनुसार, त्यस कालखण्डमा सत्ता उथल–पुथलको अस्थिर रहेको हुनुपर्छ, त्यसैले लिच्छिवी शासकहरूको स्थानमा नयाँ कुल वंशका शासक राघवदेवको उदय सम्भव भयो । भनिन्छ, उनी नुवाकोटबाट उपत्यका पसेका वैश्य ठकुरी वंशका हुन् । प्राप्त वंशावली तथा समुदायमा प्रचलित आख्यान र विश्वासका आधारमा दाबी गरिन्छ– यिनै नयाँ राजा राघवदेवको शासनकालमा नेपाल संवत् प्रारम्भ गरिएको हो । 

कान्तिपुरका एक व्यापारी शंखधर साख्वाले राजा राघवदेवको अनुमति लिई संवत्सर गरेका थिए । केशर वंशावलीमा उल्लेख गरिएको ‘राजा राघवदेव । वर्ष ६३ मास ६ ।। श्रीपशुपतिभटारके संवत्सरपुवृति कृत्वा ।।’भन्ने वाक्यांशले यसको प्रामाणिकता पुष्टि गरेको छ । त्यसो भनेको शक संवत् ८०२ कार्तिकादि शुक्ल प्रतिपदा अर्थात् इस्वी संवत् ८७९ अक्टोबर २० मंगलबारका दिन थियो । नेपालमा प्राप्त प्राचीन ग्रन्थ ‘सुमन्तितन्त्र’मा यससम्बन्धी स्पष्ट दिनको गणना गरेर पूर्वीय ज्योतिषीशास्त्रका आधारमा पनि यथार्थको पुष्टि गरेको पाइन्छ । 

राघवदेव राजाका रूपमा उदय हुनु, विशालनगरको पतन हुनु तथा नेपाल संवत् सुरु हुनुमा के–कति अन्तरसम्बन्ध थियो/थिएन, त्यो अध्येताकै जिम्माको विषय रह्यो । तर, त्यति नै वेला आरम्भ भएको नेपाल संवत् भने नेपालको गौरवमय सांस्कृतिक सम्पदाको रूपमा स्थापित भयो । आजपर्यन्त यसको निरन्तरता छ ।
त्यसो त, गोरखा राज्य विस्तारपछि शाह राजाहरूले आफ्नो भारतमोह जाहेर गर्न उतैतिर प्रचलनमा रहेको शक संवत्लाई नेपालको प्रशासकीय कामकाजमा स्थान दिए । चन्द्रशमसेर प्रधानमन्त्री बनेपछि विक्रम संवत्को प्रचलनलाई राज्यस्तरको मान्यता दिएर नेपाल संवत्लाई विस्थापित गरे ।

यो वि.सं. १९६० यताको कुरा थियो । तर, यति हुँदाहुँदै पनि समुदायबीच नेपाल संवत्को प्रयोग अविच्छिन्न रह्यो । नेपाल संवत्अन्तर्गत अपनाइएका चन्द्रमासका दिनगन्ती विशेषतः रैथाने समुदायमा प्रचलित संस्कृति, संस्कार, रीति, परम्परा, चाड, पर्व, जात्रा आदिका लागि मुख्य आधार बन्दै आए । राज्यद्वारा विक्रम संवत् लादिए पनि जनसाधारणका सांस्कृतिक विधि–व्यवहार सम्पन्न गर्न नेपाल संवत्को प्रयोगमाथि कुनै असर पार्न सकेन । नेपाल संवत्को प्रारम्भदेखि आजपर्यन्त अर्थात् ११४० वर्ष निरन्तर यो सामाजिक प्रयोजनमा जीवन्त रह्यो । 

यस संवत् प्रयोग गरिएको अहिलेसम्मको पुरानो प्राप्य ऐतिहासिक ग्रन्थ भनेको राष्ट्रिय अभिलेखालयमा सुरक्षित ‘लंङ्कावतार’हो । यसमा ‘संवत् २८ कार्तिककृष्ण दिवाअष्टभ्याम्’ भनेर उल्लेख छ । नेपाल संवत्कै रूपमा उल्लेख गरिएको अर्को पुरानो ग्रन्थ कोलकाताका विद्वान् एस.के. सरस्वतीको संकलनमा रहेको ‘अष्टसाहस्रिका प्रज्ञापारमिता’हो । नेपाल संवत् १४८ मा लेखिएको यस ग्रन्थमा स्पष्टसँग ‘नेपालवत्सर’ वाक्य लेखिएको छ । 

तत्कालीन नेपालमण्डलको सीमाभित्रबाट यस संवत्को प्रादुर्भाव भएको भए पनि यो नेपाल सरहदको पश्चिमी भूभागसम्म प्रचलनमा थियो । इतिहासकार धनबज्र बज्राचार्यका अनुसार नेपाल संवत् ११९ मा लेखिएको ‘अष्टसाहस्रिक प्रज्ञापारमिता’ ग्रन्थमा स्पष्ट ‘गण्डीगुल्मकनिवासिनः सुवर्णकार श्रीराकस्यः…’भनेर उल्लेख गरिएको छ ।

 नेपाल संवत्कै रूपमा उल्लेख गरिएको पुरानो ग्रन्थ कोलकाताका विद्वान् एस.के. सरस्वतीको संकलनमा रहेको ‘अष्टसाहस्रिका प्रज्ञापारमिता’ हो । नेपाल संवत् १४८ मा लेखिएको यस ग्रन्थमा स्पष्टसँग ‘नेपालवत्सर’ वाक्य लेखिएको छ  ।

धनबज्रकै अनुसार, मध्यकालीन शासनकालमा जिल्लालाई गुल्म भनिन्थ्यो । त्यस्तै, पूर्व उदयपुरमा भेटिएको धातुको गरुणध्वज विष्णुको मूर्तिको कवचको पादपीठमा पनि नेपाल संवत् अंकित गरिएको लिखत भेटिएको छ, त्यो नेपाल संवत् १२४ को भएको धनबज्रको दाबी छ । उहाँका अनुसार, नेपाल संवत्सँगै धवलपुर, गुल्मी स्थान उल्लेखित लिखत अरू पनि प्रशस्त भेटिएका छन् ।

रमाइलो पक्ष चीनका मिंग वंशीय बादशाह तामिमिउले बनेपाको महासामन्त शक्तिसिंह भारोको नाममा लेखेको पत्रमा नेपाल संवत् ५३५ उल्लेख गरिएको छ । त्यस्तै, भारत कुच बिहारका शासक प्राणनारायणले जारी गरेको स्वर्ण मुद्रामा पनि नेपाल संवत् ७५३ अंकित गरेको भेटिएको छ । यसले नेपाल संवत्ले सीमापारिसम्म पाएको लोकप्रियतालाई इंगित गर्छ । 

चन्द्रमाको गतिका आधारमा गरिने दिन गन्ती अर्थात् चन्द्रमास मानवीय सभ्यताको प्रारम्भिककालदेखि लोकप्रिय रह्यो । इसापूर्व ४२३६ तिर मिश्रवासीहरूले कालमान गणनाको प्रचलन आरम्भ गरेको मानिन्छ । उनीहरूले पनि मूलतः क्षितिजमा उदय हुने चन्द्रमा तथा अन्य ग्रह, नक्षत्रको स्थान, उदय तथा विलयकालका आधारमा दिनमानका आधार तयार गरेका थिए । चीनमा अद्यापि प्रचलित यिन–याङ संवत्, मुसलमानका मोहम्मदियन संवत्, यहुदीहरूका यहुदी संवत्, शक् संवत्, हर्ष संवत्, गुप्त संवत् आदि चन्दमानअनुसार रहेका छन् । विक्रम संवत् पनि सुरुमा चन्द्रमानअनुसार थियो, पछि यसलाई सौर्यमासमा ल्याइयो ।

रोमनहरूले पनि आकाशमा देखिने चन्द्रकलालाई नै दिनगन्तीका प्रमुख आधार बनाएका हुन् । यद्यपि, उनीहरूका कालमानमा वर्षभरि ३०४ दिन र दश महिना मात्रै हुन्थ्यो । आकाशमा चन्द्रमा नदेखिने हिउँदका दुई महिनाको गन्ती गरिन्थ्यो । पछि युनानका राजा जुलियस सिजरद्वारा सुरु गरिएको जुुलियन संवत् पनि चन्द्रमासमै आधारित थियो । १६औँ शताब्दीको अन्त्यसम्म इस्वी संवत् पनि चन्द्रमाको गतिमा आधारित थियो । सन् १५८० मा मात्र पोप गे्रगोरी १३औँ बाट इस्वी संवत्को काल गणनालाई सौर्यमानमा व्यवस्था गरिएको थियो । पछि उनकै सम्झनामा हाल प्रचलित इस्वी संवत्को पात्रोलाई गे्रगिरियन पात्रोका रूपमा स्थापित गरियो ।

नेपाललाई ‘असली हिन्दुस्थाना बनाउने’ मोह बोकेका तत्कालीन शासकहरू आफ्नो कुल वंशलाई भारतको राजस्थानसम्म जोड्नमा गर्व गर्थे । चित्तौरका राजपुत र राणाहरू आफन्त हुन् भन्थे । अनि त्यसरी नै भारतको हरिद्वार, काशी, बनारसमा शरणागत हुन पाएमा जीवन सफल हुने विश्वास गर्ने संस्कारग्रस्त थिए उनीहरू । ती शासकमा रहेको यस प्रकारको मनोग्रन्थीले थाहा हुन्थ्यो– नेपाल संवत्जस्तो आफ्नो मौलिक संस्कृति र सम्पदाप्रति उनीहरूको दृष्टिकोण सकारात्मक थिएन । त्यसैले, नेपाल संवत्लाई राष्ट्रिय संवत् मान्ने अभियन्ताहरूलाई त्यसवेलाको निर्दलीय शासन सत्ताले थुन्थ्यो, छेक्थ्यो र साम्प्रदायिक भएको आरोप लगाउँथ्यो । 

तर, पहिलो जनआन्दोलनपश्चात् परिवर्तित राजनीतिक परिस्थितिमा राज्यले नेपाल संवत्का प्रवर्तक शंखधर साख्वालाई राष्ट्रिय विभूतिका रूपमा सम्मानित ग-यो । शंखधरको सम्मानमा उनको चित्रांकित हुलाक टिकट प्रचलनमा ल्याइयो । २०६५ सम्म आइपुग्दा नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा मान्यता दिइएको सरकारी घोषणासमेत गरियो ।

सरकार प्रमुख, सत्तारुढ नेता नेपाल संवत्का गतिविधिमा निःसंकोच संलग्न भए । अहिले त नेपाल संवत्को नयाँ वर्ष दिनमा पर्व, उत्सव, समारोह मनाउने परम्परा नै बसेको छ । बर्सेनि संवत्सर हुने अवसर पारेर विशाल सांस्कृतिक -याली, जुलुस, सभा, गोष्ठी अनि शुभकामना आदान–प्रदान यत्रतत्र हुने गरेका छन् । यो क्रम राष्ट्रिय सीमा पार गरेर युरोप, अमेरिका, अस्ट्रेलिया, जापान, खाडी मुलुकसम्मै व्यापक भएको छ । यसले साँच्चै एउटा राष्ट्रिय पर्वकै रूप लिइसक्यो । 

त्यसो त नेपाली भूमिमा प्रचलनमा आएका संवत् अरू पनि छन् । विक्रम संवत् र इस्वी संवत्का अतिरिक्त ऐतिहासिक कालक्रममा शक् संवत्, मानदेव संवत्, लिच्छिवी संवत्, बुद्ध संवत्, हजर्त संवत्, यले संवत्, लक्षमण संवत् आदि प्रचलनमा आए । तर, ती संवत्को प्रचलन धर्म–सम्प्रदाय, शासक विशेषसँग निरपेक्ष छैनन् । नेपाल संवत्मा भने त्यस्तो कुनै आग्रह छैन । यसले सिंगो नेपाल राष्ट्रको पहिचानलाई स्थापित गर्न खोजेको छ । त्यस अर्थमा यो व्यापक र विषद् छ, अन्य संवत्भन्दा भिन्न र मौलिक छ । यो नै नेपाल संवत्को विशेषता रह्यो । 

शंखधर साख्वा काठमाडौं, इलाछेँ टोलमा बसोवास गर्ने एक सामान्य व्यापारी थिए । भनिन्छ, उनी नेपाल संवत् प्रचलनमा आएको दश वर्षसम्म जीवित थिए । भीमसेनस्थान इलाछेँ, आफ्नो घरको कौसिमाथिबाट देखिनेगरी विष्णुमती खोलाको किनारमा उनले ठूलो चैत्य बनाउन लगाए, जुन अद्यापि खडा छ । पशुपति मन्दिरको दक्षिणतिर उनको शिलामूर्ति छ । उनले आफ्नो व्यापार–व्यवसायबाट राम्ररी नै सम्पत्ति आर्जन गरे । अनि आफ्नो निजी सम्पत्ति लोककल्याणका लागि समर्पित गरे । त्यसबखत ऋणमा डुबेका जनसमुदायलाई ऋण मोचन गर्ने काममा लागे ।

शंखधर र नेपाल संवत्सँग जोडिएका कथन हुन् यी । सुन्दा, पढ्दा सामान्य लाग्न सक्छ, यी कथन । तर, धन–सम्पत्तिका लागि ब्यक्तिगत मोह, तृष्णा र स्वार्थमा लिप्त हुने मानिसमाझ शंखधरले रोजेको त्यागको मार्ग कम स्तुत्य थिएन । लोक कल्याणका लागि उनले गरेका उद्धारका कर्म वास्तवमा त्यसवेलाको नेपालमण्डलभित्र जरो गाढेको बोधिचित्त भाव र दान पारमिताका व्यावहारिक स्वरूप थिए । एक अर्थमा नेपाली समाजमा विद्यमान एक प्रवृत्ति थियो, त्यो । जबकि यता पाश्चात्य जगत्मा रेडक्रस, जेसिज, रोटरीको आवरणमा लोक कल्याणकारी भावको सुरुवात भएको इतिहास दुई शताब्दीभन्दा पुरानो भएको छैन । त्यस अर्थमा शंखधर साख्वाः लोक कल्याणकारी अभियन्ताका अग्रज नै थिए भन्न सकिन्छ । र, नेपालीजन यसमा गौरव गर्न सक्छन् । 

चीनका मिंग वंशीय बादशाह तामिमिउले बनेपाका महासामन्त शक्ति सिंह भारोको नाममा लेखेको पत्रमा नेपाल संवत् ५३५ उल्लेख छ । भारत कुच बिहारका शासक प्राणनारायणले जारी गरेको स्वर्ण मुद्रामा पनि नेपाल संवत् ७५३ अंकित गरेको भेटिएको छ । यसले नेपाल संवत्ले सीमापारिसम्म पाएको लोकप्रियतालाई पुष्टि गर्छ । 

फेरि पनि नेपाल संवत्का उल्लेखित विशेषताप्रति उपेक्षा गर्दै यस सम्बन्धमा तिखा आलोचना गर्नेहरू कम छैनन्– ‘…संवत् व्यावहारिक छैन, दैनिक जीवनमा प्रयोग गर्न सकिन्न । यो संवत् नेवार समुदायको मात्र संवत् हो, तसर्थ यो नेवारी संवत् हो । यसको राष्ट्रिय मान्यताको औचित्य छैन । शंखधर मिथक मात्र हुन्, ऐतिहासिक पात्र होइन…।’ आदि, आदि । तर, नेपाल संवत् एक आन्दोलनका रूपमा अगाडि आएदेखिको चार दशकभित्र यी सबै पक्ष केवल भ्रम र आग्रह मात्र हुन् भन्ने कुरा पुष्टि भइसके । 

विशेषतः शंखधर साख्वाले अकस्मात् धन आर्जन गरेको सम्बन्धमा समाजमा प्रचलित जुन आख्यान छन्, त्यस आधारमा विमति प्रकट गर्ने भने अझै कम भएका छैनन् । आख्यानमा जसरी खोलाको वालुवा रातारात सुनमा परिणत भएको प्रसंग छ, त्यसमा प्रतिप्रश्न गर्छन् मानिसहरू । र, त्यसैमा टेकेर समग्र रूपमा नेपाल संवत् प्रवद्र्धनका कुरालाई नै नकार्ने आधार बनाउन खोज्छन् । 

 नेपाल संवत्कै रूपमा उल्लेख गरिएको पुरानो ग्रन्थ कोलकाताका विद्वान् एस.के. सरस्वतीको संकलनमा रहेको ‘अष्टसाहस्रिका प्रज्ञापारमिता’ हो । नेपाल संवत् १४८ मा लेखिएको यस ग्रन्थमा स्पष्टसँग ‘नेपालवत्सर’ वाक्य लेखिएको छ  ।

अवश्य पनि मिथ र आख्यानले इतिहास बन्दैन । वास्तवमा आख्यानमा वर्णन गरिएअनुसार, खोलाको बालुवा रातारात सुनमा परिणत पनि हुँदैन । यसमा कुनै वैज्ञानिकता छैन । यसमा दुई मत छैन । यति हुँदाहुँदै पनि सत्य के हो भने खोलाको बालुवामा सुन भेटिन्छ । नेपालकै कालीगण्डकीलगायत कतिपय नदीको बालुवामा सुनका कण भेटिन्छन् ।

मानिसहरू अहिले पनि नदीमा सुनका कण केलाउने काम गरेर जीविकोपार्जन गर्छन् । तिब्बतको ल्हासा नदीमा पनि त्यहाँका रैथाने समुदायले सुक्खा समयमा बालुवा केलाएर सुनका कण निकाल्छन् । संयुक्त राज्य अमेरिकाको डेनभरतिर रेड इन्डियनहरू त त्यस कामका लागि पोख्त मानिन्छ । ल्याटिन अमेरिकाका आदिवासीहरू आफ्ना ऐतिहासिक थातथलोका नदीहरूमा आजसम्म सुन केलाउन व्यस्त हुन्छन् । खोलाको बालुवामा सुनका कण भेटिनुलाई विज्ञानले नकार्दैन । 

शंखधरले जुन खोलाको बालुवाबाट सुन भेट्टाएका थिए, त्यो काठमाडौंको लखु तीर्थ अर्थात् रुद्रमती खोला थियो । लुँखुमा शंखधरको सुन (लुँखुसी शंखधरया लुँ) विषयमा केही विवाद पनि छन् । रुद्रमती खोलाको स्रोत नागार्जुन र हलचोकका जंगल थिए । स्वयम्भू डाँडोलाई बीचमा पारेर खोला उत्तर र दक्षिण धार गरी दुईतिर बग्छ । दक्षिणतिरबाट बग्ने लखु तीर्थ (रुद्रमती) अनि उत्तरी धारबाट बग्ने भचाखुसी (भद्रमती)– ती दुवै धारमध्ये भद्रमती हाल शोभाभगवती मन्दिरछेउ विष्णुमतीको मूलधारमा मिसिन पुग्छ ।

रुद्रमती अलि दक्षिणतिर पुगेर हाल कंकेश्वरी मन्दिरपारि पुगेपछि विष्णुमतीको पानीमा झर्छ । यो दोभानको नाम नै भइदिएको छ, लखु तीर्थ । लखु वास्तवमा लुँखुको अपभ्रंश हो । नेपालभाषामा लुँको अर्थ सुन र खुको अर्थ खोला वा नदी हो । यसको पानीमा सुनका कण बगाएर ल्याउने भएकाले नै यसको नाम यसरी लुँखु वा लखु बनेको हो भन्ने सहज अनुमान गर्न सकिन्छ ।  

स्मरणीय होस्, नेपाल सरकार खानी विभागले दशकौँअगाडि गराएको भौगोर्भिक सर्वेक्षणबाट स्वयम्भू डाँडामा सुनखानी भएको पत्ता लगाएको थियो । एक समय खानी विभागले आफ्नै भवन काठमाडौं लैनचौरमा आयोजित भौगर्भिक सर्वेक्षणसम्बन्धी प्रदर्शनीमा त्यो काँचो सुन पनि सार्वजनिक गरेको थियो । सम्भवतः त्यो स्वयम्भू डाँडोमा भेटिएका काँचो सुनका नमुना अझै खानी विभागको संकलनमा सुरक्षित होला । तसर्थ, सुन खानी भएको स्वयम्भू डाँडाको फेदी भएर बग्ने खोलाको धारसँगै सुनका कण पनि बगाएर लैजानु असम्भव होइन ।

आजभन्दा एघार सय वर्षअगाडिको काठमाडौंको भौगोलिक बनोट अनि त्यहाँबाट बग्ने पहाडी खोलाको पानीको धार कस्तो थियो होला, अहिले अनुमान मात्र लगाउन सकिन्छ । ती खोलाको धारले डाँडाको फेद भएर आफूसँगै सुनका कण बोकेर लैजान सक्थे ।शंखधरको पेसा नै व्यापार हो, उनले श्रमिक लगाएर लखुतीर्थको पानीबाट बालुवा झिकेर त्यसमा सुनका कण खोजी गर्ने उद्यम चलाएको हुन सक्छ । लामो समयपश्चात् त्यसबाट उनले यथेष्ट सम्पत्ति आर्जन गरे होलान् ।

स्वाभाविक रूपमा उनको त्यो लगनशीलता र श्रीसम्पत्ति आर्जनका प्रसंग कालान्तरमा मानिसका लागि एउटा आख्यानजस्तै बन्न पुग्यो । यसरी शंखधरले बालुवाबाट सुन भेट्टाएको कुरा वैज्ञानिक दृष्टिकोणबाट पनि निराधार साबित हुन्न । हो, शंखधरले कसरी र कुन तरिकाबाट धन आर्जन गरे भन्ने कुरा पनि चासोको विषय हो । तर, त्योभन्दा पनि महत्वपूर्ण त उनको निजी स्वामित्वमा रहेको त्यो अकुत सम्पत्ति आफ्नो व्यक्तिगत अहं तुष्टिका लागि प्रयोग गरेर रित्याए वा बहुजन हितका लागि निःस्वार्थ समर्पण गरे भन्ने हो ।

वास्तवमा शंखधरका चरित्र विशेष र उनले प्रवद्र्धन गरेको नेपाल संवत्मा अन्तरनिहित कुरा भनेको व्यक्ति, घटना तथा प्रसंग होइन लोक कल्याणकारी भावना र राष्ट्रिय स्वाभिमानका कुरा मुख्य हुन् । हाम्रो माटोमा शंखधरजस्ता पे्ररणादायी व्यक्तित्व पाउनु गर्वको कुरा हो ।  आशा छ, यसपटकको नेपाल संवत् नयाँ वर्षले सम्भवतः यो चेतना सबैमा प्रवाहित गर्नेछ । न्हूदँया भिंतुना ! ।

यो लेख नयाँ पत्रिकाको २०७६ कार्तिक ९ शनिबार अंकमा छापिएको छ ।

Facebook Comments

अन्तिम अपडेट: १ मंसिर २०७७, सोमबार ००:२१

तपाईको प्रतिक्रिया