काठमाडौं महानगरपालिका क्षेत्रभित्रका विद्यालय तत्काल नखुल्ने

 १ पुष २०७७, बुधबार १७:५८   | न्यूज अफ टोखा

काठमाडौँ । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरु क्रमश खुल्ने क्रम बढिरहेको बेला महानगरले तत्काल नखोल्ने निर्णय गरेको हो ।

महानगरपालिका शिक्षा विभागले बुधबार जिल्ला विपद् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका सुरक्षा निकाय प्रमुखहरुसँग गरेको छलफलपछि महानगरपालिका यस्तो निष्कर्षमा पुगेको हो ।

छलफलमा सहभागी महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले विदेशका धेरै सहरमा पनि कोभिडका कारण विद्यालय बन्द रहेको स्मरण गराउँदै अहिले काठमाडौंमा कोभिड नियन्त्रणमा आएको अवस्था नरहेको भन्दै हतार गर्नु नहुनेमा जोड दिए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले पनि अहिले जाडोको मौसम समेत रहेको भन्दै यस्तो बेलामा अनलाइन कक्षाहरुलाई प्रभावकारी बनाएर केही समयपछि मात्रै खोल्दा राम्रो हुने बताए । ‘अहिले जाडो मौसम छ, यो समयमा बिदा पनि हुन्छ,’ उनले भने, ‘स्वास्थ्य मन्त्रालयले उपत्यकामा मात्रै पुस महिना भित्रमा ५० हजारको ‘एन्टीजेन टेस्ट’ गर्ने भनेको छ । योबीचको अवधिमा अनलाइन कक्षालाई प्रभावकारी बनाउनु ।’

बालबालिकाले स्वास्थ्य मापदण्ड आफै पालना गर्न समस्या हुने भन्दै एउटै मापदण्ड बनाउने र खोलेका विद्यालयको पनि अनुगमन गर्ने, स्वास्थ्य मापदण्ड पुरा नभएको भए बन्द गर्नेसम्मको तयारीमा जानुपर्नेमा उनले जोड दिए ।

स्वास्थ्य मन्त्रालयका महानिर्देशक महेन्द्रमान श्रेष्ठले स्वास्थ्य मन्त्रालयले पुस महिनामै करीब ५० हजारको एन्टिजेन टेस्ट गर्ने तयारी गरेको भन्दै त्यसको अवस्था हेरेर मात्रै अघि बढ्न सुझाव दिए ।

काठमाडौं शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख नन्दलाल पौडेलले काठमाडौंका ११ मध्ये ९ वडा स्थानीय तहले विद्यालय सञ्चालन गरेको भन्दै विद्यालय सञ्चालन गरेकैले कोभिड फैलिएको देखिए पनि सरोकारवालसँग छलफल गरेर मात्रै अघि बढ्दा राम्रो हुने बताए ।

काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख नमराज ढकालले सबै सरोकारवाल निकायसाग छलफल गरिरहेको भन्दै समन्वय गरेर मात्रै निर्णयमा पुग्ने बताए । ‘सम्बन्धित निकायसाग भएको छलफलले पनि तत्काल जोखिम नघटेकाले विद्यालय सञ्चालन गर्न हतार गर्नु नहुने सुझाव दिएको छ,’ उनले भने, ‘यो विचमा हामी निरन्तर छलफलमा रहन्छौं । तयारी पनि अघि बढाइ रहन्छौा । त्यसपछि अवस्था हेरेर मात्रै विद्यालय खुला गर्छौ । अहिले तत्कालचाहिँ खुल्ने अवस्था रहेन ।’

Facebook Comments

अन्तिम अपडेट: १ पुष २०७७, बुधबार १७:५८

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया