ओलीलाई हटाएर माधव नेपाललाई अध्यक्ष बनाउने प्रचण्ड–नेपाल बैठकको निर्णय

 ७ पुष २०७७, मंगलवार १९:३३   | न्यूज अफ टोखा

काठमाडौं – नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको अध्यक्षबाट हटाउने र माधवकुमार नेपाललाई नयाँ अध्यक्ष बनाउने निर्णय गरेको छ ।

काठमाण्डौको बबरमहलमा बसेको प्रचण्ड–नेपाल पक्षीय केन्द्रीय कमिटीको बैठकले ओलीले पार्टी आचरण र संविधान विपरित काम गरेकाले अध्यक्षबाट हटाउने निर्णय गरेको एक केन्द्रीय सदस्यले उज्यालोलाई जानकारी दिएका छन् । बैठकले ओलीको ठाउँमा माधवकुमार नेपाललाई अध्यक्ष बनाएको  छ । पार्टीमा दुई जना अध्यक्ष रहने नेकपाको विधानअनुसार नेपाललाई अध्यक्ष बनाइएको एक केन्द्रीय सदस्यले बताएका छन् ।

बिहान बसेको प्रचण्ड–नेपाल पक्षीय स्थायी कमिटीको बैठकले ओलीलाई हटाएर नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । यो निर्णयलाई केन्द्रीय कमिटीले पारित गरेको छ । केन्द्रीय कमिटीका चार सय ४७ सदस्यमध्ये तीन सय १० जनाले प्रचण्ड–नेपाल समूहको बैठकमा हस्ताक्षर गरेका छन् । आफूहरुको समूहमा दुई  तिहाइ केन्द्रीय सदस्य रहेकाले ओलीले गरेका कुनै पनि निर्णयको वैधता नरहेको प्रचण्ड–नेपाल पक्षको दाबी छ ।

तर  बिहान बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय कमिटीको बैठकले ११ सय ९९ सय सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरिसकेको छ । यसको पत्र ओली पक्षले निर्वाचन आयोगलाई पनि पठाइसकेको छ ।

पार्टीका अध्यक्ष, महासचिव र माइन्युट आफूहरुसँगै रहेकाले प्रचण्ड–नेपाल समूहका कुनै पनि निर्णय नेकपाले नचिन्ने ओली पक्षका नेता प्रदीप ज्ञवालीले बताइ सक्नुभएको छ ।

बिहान भएको आफू पक्षीय केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अहिले संसद् मात्रै विघटन भएको तर नेकपा विघटन नभएको र आफूले गरेको निर्णय नै मान्य हुने जिकिर गर्नुभएको थियो ।  

Facebook Comments

अन्तिम अपडेट: ७ पुष २०७७, मंगलवार १९:३३

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया