विदेशमा पनि लोकप्रिय टोखाको चाकु

 १३ पुष २०७७, सोमबार १२:२८   | न्यूज अफ टोखा

काठमाडौँ । यतिबेला टोखा नगरपालिकाका परम्परागत बस्तीमा बनाइएका तातो चाकुको मिठो बास्नाले धेरैलाई आकर्षित गर्ने गरेको पाइएको छ । माघे सङ्क्रान्तिको तयारीसँगै जाडोमा शरीर तताउनसमेत निकै उपयोगी मानिएको चाकुले यतिबेला सबैलाई लोभ्याउने गरेको छ ।


देशभित्र मात्र होइन, टोखाको मौलिक उत्पादन चाकुले देश बाहिरसमेत मौलिक पहिचान दिँदै छ । पोषिलो चाकुलगायतका मिठाइ बनाएर अन्नसँग साट्ने परम्परादेखि नै त्यस स्थानमा चाकु बनाउने चलन पुर्खाले चलाएको स्थानीय ७५ वर्षीय चाकु व्यवसायी काशीलाल श्रेष्ठ बताउनुहुन्छ ।


टोखाको पहिचान चाकुको परिकार बनाउने उहाँको पुख्र्यौली व्यवसाय पुस्तान्तरण हुँदै पाँचाँै पुस्तासम्म आउँदा यसको चर्चा र खपतको दायरा उत्तिकै फराकिलो भएको छ । टोखावासीले लामो समयदेखि चाकुको व्यवसायलाई निरन्तरता दिएका छन् । यहाँको मौलिक परिकार चाकुले शरीरलाई भित्रैदेखि न्यानो राख्न मद्दत पु¥याउँछ । चाकुले परिकारको महìव दिन प्रतिदिन बढेको चाकु व्यवसायीको भनाइ छ । जाडो मौसममा शरीरलाई तापको आवश्यकता पर्छ ।


हिटर, एसी, आगो, बाक्लो कपडाको माध्यमबाट शरीरलाई बाहिरी रूपमा तताउन सम्भव छ तर शरीरलाई भित्रैदेखि तातो राख्न र रोग प्रतिरोधात्मक शक्ति बढाउन परम्परागत चाकुलगायतका परिकारको प्रयोग हुँदै आएको छ । विशेषगरी माघे सङ्क्रान्तिको दिन उसिनेको सखरखण्ड, पिँडालु, घिउ, चाकु खाने परम्परा नेपालीको हरेक घरमा छ । हाल चाकुको विभिन्न परिकार अन्तर्राष्ट्रिय बजारसम्म निर्यात हुन्छ ।

हरायो उखु खेती
नेपाल भाषामा ‘तु’को अर्थ उखु र ‘ख्य’ भन्नाले बारी हुन्छ । उखु धेरै रोपिने भएकाले तुख्य हुँदै त्यस स्थानको नाम टोखा भएको चाकु व्यवसायी एवं टोखा परम्परागत चाकु संरक्षण समाजका उपाध्यक्ष बुद्ध श्रेष्ठको भनाइ छ । त्यतिबेला उखु रोप्ने, रस निकाल्ने, सख्खर र त्यसबाट चाकु बनाउने काम
टोखामै गरिन्थ्यो ।


हाल सहरीकरणका कारण टोखामा उखु खेती हराएको छ । पहिलेको तुलनामा चाकुको बजार विस्तार भएकाले कच्चा पदार्थ धेरै लाग्छ । हाल नेपालको बोर्डर साइड कृष्णनगर, नेपालगञ्ज, रानीनगर, कपिलवस्तु र भारतबाट समेत सख्खर आयात भइरहेको छ ।

अन्तर्राष्ट्रिय ब्रान्ड पनि
टोखाका स्थानीयले पहिले चाकु बनाएर पातमै पोको पारेर बेच्थे । स्थानीय काशीलाल श्रेष्ठका अनुसार त्यसबेला चाकु अहिलेजस्तो विदेशसम्म पठाउने चलन थिएन । टोखादेखि नजिक नुवाकोट, साँखु, भक्तपुर, असन बजार, कमलाछीतिर बेचिन्थ्यो । नजिकका बजारमा जाँदा खर्पनमा र अलि टाढा जाँदा डोकोमा समेत बोकेर जान्थ्यौँ, प्लास्टिकको चलन त करिब ३५ वर्ष जत्ति मात्र भएको उहाँको भनाइ छ ।


टोखाका चाकु उत्पादकहरू त्यहाँको मौलिक प्रसिद्ध परिकार चाकुको गुणस्तरमा एकरूपता ल्याउन र यस व्यवसायलाई फैलाउन टोखा परम्परागत चाकु संरक्षण समाजमार्फत सङ्गठित हुनुभएको छ । समितिले चाकुलाई अन्तर्राष्ट्रिय ब्रान्ड बनाउन समितिले चाकु निर्यातका लागि अङ्ग्रेजीमा टोखा ट्रेडिसनल चाकु कन्जर्भेसन सोसाइटी नाम ब्रान्ड निर्धारण गरेकोे समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।


अस्ट्रेलिया, अमेरिका, जापान, कोरिया, डेनमार्क, क्यानडालगायत नेपाली पुगेका सबै मुलुकमा चाकु र त्यससँग सम्बन्धित परिकार निर्यात हुने श्रेष्ठले जानकारी दिनुभयो । चाकुका परिकार लामो समयसम्म राखेर खान सकिने, पोषिलो, बालबालिका, सुत्केरीदेखि ज्येष्ठ नागरिकले समेत खान मिल्ने भएकाले यसको माग बढेको उहाँको भनाइ छ ।


विशेषगरी दशैँ–तिहारपछि जाडो सिजनमा चम्कने यस व्यवसायमा महिलाको सहभागिता बढेको व्यवसायीहरू बताउँछन् । अन्य स्थानका परम्परागत नेवार बस्तीमा चाकु बनाए पनि टोखाको चाकु चर्चित छ । चाकु व्यवसायीले सादा चाकु, मसला चाकु, खुवा चाकु, स्पेसल चाकु, तिलको कालो र सेतो लड्डु बनाउँछन् ।


चाकु उत्पादक बुद्धकुमार श्रेष्ठका अनुसार पछिल्लो समय मसलादार र स्पेसल चाकुको माग बढेको छ । मसलादार चाकुमा नरिवल मिसाइएको हुन्छ । विशेष चाकुमा नरिवल, खुवा, बदाम, काजु र गरम मसला मिसाइन्छ । मसला मिसाइएका विशेष चाकुको मूल्य अन्यभन्दा महँगो हुने श्रेष्ठले जानकारी दिनुभयो ।

बनाउने विधि यस्तो
व्यवसायी श्रेष्ठका अनुसार ठूलो तामाको भाँडामा सक्खर–पानीलाई १२० देखि १३० डिग्री सेल्सियस तापक्रममा उमाल्ने र बाक्लो भएपछि त्यसलाई केही बेर चिसो बनाउन अर्को भाँडोमा खन्याउने गरिन्छ । त्यसपछि एउटा खम्बामा झुन्ड्याइएको किलामा अड्याएर चाकुको सुनौलो पहेँलो रङ आउन्जेल सरसर तानिन्छ । त्यसपछि प्याकिङ गरिन्छ । पकाएको सख्खर ज्यादै तातो हुने भएकाले चाकु बनाउन निपूर्ण कालीगढले मात्र खम्बामा तान्ने काम गर्न सक्छन् ।

स्वास्थ्य र चाकु
संस्कृतिविद् चुन्दा वज्राचार्यका अनुसार चिसो मौसममा चाकु खाँदा शरीरमा रोगसँग लड्ने क्षमता वृद्धि हुन्छ । उहाँले माघे सङ्क्रान्तिमा काँचो घ्यू र चाकु खाँदा शरीरलाई तापसँगै शक्ति प्राप्त हुने जानकारी दिँदै भन्नुभयो, “अहिलेजस्तो लुगाको सहज अवस्था त्यतिबेला थिएन । जाडो मौसममा मानिस चाकु प्रयोग गरेरै शरीर तातो बनाउँथे । ”


पोषणविद् डा. अरुणा उप्रेतीले चाकु खाँदा शरीरमा धेरै फाइदा हुनुका साथै रोगसँग लड्न सक्ने क्षमता विकास हुने जानकारी दिनुभयो । उहाँ बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई जाडो महिनामा चाकु खुवाउनुपर्ने सुझाव दिनुहुन्छ । बालबालिकालाई चिनीको साटो चाकु वा सक्खर दिन सके धेरै राम्रो हुने उहाँ बताउनुहुन्छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमको यो अवस्थामा रोग प्रतिरोधात्मक क्षमता बढाउन चाकु प्रयोग सबै उमेर समूहका मानिसका लागि उपयोगी हुने उहाँको
सुझाव छ ।

Facebook Comments

अन्तिम अपडेट: १३ पुष २०७७, सोमबार १२:२८

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया