प्रचण्ड–नेपाल समूहको प्रदर्शनका कारण चक्रपथ भित्र ट्राफिक व्यवस्थापन अस्तव्यस्त : चारपाङ्ग्रे गाडीलाई प्रवेश निषेध

 २८ माघ २०७७, बुधबार ११:१५   | न्यूज अफ टोखा

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहको विरोध प्रदर्शनका कारण चक्रपथ भित्र ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । बिहानैदेखि चक्रपथ भित्र चारपाङ्ग्रे गाडीलाई प्रवेश निषेध गरिएको छ ।

पुतली सडक, पद्माेदयमोड, डिल्लीबजार, कालिकास्थान, कालिमाटी, कृष्ण पाउरोटी, लोत्सेचोक लगायत ठाउँबाट गाडी डाइभर्सन गरिएको छ । यी चोकहरुमा मुख्य गरी ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बिहान साढे ८ बजेदेखि सार्बजनिक र निजी चार पाङ्ग्रे गाडीलाई चक्रपथ भित्र प्रवेशमा रोक लगाइएको छ ।

यस्तै, घण्टाघरबाट पनि गाडी प्रवेशमा रोक लगाइएको छ । काठमाण्डौको भृकुटीमण्डपमा दिउँसो १२ बजे हुने विरोध सभा अघि ठाउँ ठाउँबाट जुलुस र र्‍याली निस्कन थालेकाले जाम बढेको ट्राफिक प्रहरीले जनाएको छ ।  पुल्चोक, त्रिपुरेश्वर, सुन्धारा, थापाथली, माइतीघर मण्डला, केशरमहल, जमल, असन , इन्द्रचोक, पुतलीसडक लगायतका क्षेत्रबाट जुलुस निकाल्ने तयारी भइरहेको प्रचण्ड– नेपाल समूहले जनाएको छ ।

प्रचण्ड नेपाल समूहले यसअघि गएको ९ गते पनि काठमाण्डौमा  प्रदर्शन गरेको थियो भने २२ गते आमहड्ताल गरेको थियो । यस्तै गएको २३ गते प्रधानमन्त्री केपी शर्मा ओली समूहले शक्ति प्रदर्शन गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भंग गर्दै वैशाख १७ र २७ गते चुनावको घोषणा गरे पछि नेकपा दुई समूहमा विभाजित भएको छ । तर, निर्वाचन आयोगले भने यसलाई मान्यता दिएको छैन । दुई समूहको  विवाद र यस पछि भईरहेको प्रदर्शनले नागरिक भने मर्कामा परेका छन् । 

Facebook Comments

अन्तिम अपडेट: २८ माघ २०७७, बुधबार ११:१५

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया